मन्त्रिपरिषद्को निर्णयबाटै कसरी 'गायब' भए वामदेव गौतम ? - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

मन्त्रिपरिषद्को निर्णयबाटै कसरी ‘गायब’ भए वामदेव गौतम ?



काठमाडौँ- मंगलबारको मन्त्रिपरिषद् बैठकबाट वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस भएको नित्नाया नै गायब भएको छ।

गौतमलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि विभिन्न मन्त्रीहरूले मिडियालाई बताएका थिए । तर प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्णय सार्वजनिक गर्ने क्रममा त्यो मुख्य भनिएको वामदेव गौतम सिफारिसको निर्णय सुनाएनन् ।

मन्त्रिपरिषद्ले पछिल्ला २ बैठकबाट गरेका निर्णय सार्वजनिक गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त रहेको सिटमा मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको जानकारी नै दिएनन् ।

प्रवक्ताले उक्त निर्णय सार्वजनिक नगरेपछि वामदेव गौतम राष्ट्रियसभामा सिफारिस हुने नहुनेबारे फेरि अन्यौल देखिएको छ । प्रतिनिधिसभामा पराजित व्यक्ति राष्ट्रियसभामा मनोनित हुन नहुने भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेका बेला नेकपाको भदौ १८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा पठाउने फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्ने बताएका थिए ।

एक मन्त्रीले भने, ‘ प्रवक्ताले यो कुरा किन भन्नुभएन थाहा छैन । तर गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा राख्नुभएको र पारित भएको हो ।’ सरकारको सिफारिस राष्ट्रपतिकहाँ पनि गएको छैन नि भन्ने जिज्ञासापछि ती मन्त्रीले भने, ‘कानुनी पद्दती त होला नि, भोलिसम्म जाला ।’

नेकपाभित्र गुटको खेलमा कहिले प्रधानमन्त्री तथा अध्यक्ष ओलीतिर त कहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल खेमातिर लाग्ने गरेका गौतम फेरि पनि राष्ट्रियसभामा मनोनित गर्ने क्रममा बार्गेनिङका लागि बाँकी रहने हुन् कि भन्ने आशंका पनि व्यक्त गरिएको छ ।

यता, राष्ट्रपति कार्यालयले राष्ट्रियसभाको रिक्त सिटमा सिफारिस भएर कसैको नाम नआएको जानकारी दिएको छ ।