मेयर भरत थापाको आदेशमा दुई पत्रकारमाथि आक्रमण, प्रहरी भन्छ- 'पक्राउ गर्दैछौँ' - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

मेयर भरत थापाको आदेशमा दुई पत्रकारमाथि आक्रमण, प्रहरी भन्छ- ‘पक्राउ गर्दैछौँ’



काठमाडौं- समाचार लेखेकै भरमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको आदेशमा पत्रकारमाथि आक्रमण भएको छ । समाचार संकलनका लागि सर्लाही पुगेका दुई पत्रकारमाथि थापाको आदेशमा कुटपिट भएको बताइएको छ ।

बागमती नगरपालिकामा मेयर थापाले गरेको भ्रष्टाचार र अनियमितताविरुद्ध लगातार समाचार आउन थालेपछि विभिन्न व्यक्तिलाई लगाएर पत्रकारहरूलाई धम्क्याउने र ज्यान मार्ने सम्मको धम्की दिने गरेका थिए । उनीहरूको गुण्डागर्दी र अनियमितताबारे लेखेकै भरमा बुधबार दुई जना पत्रकारमाथि सांघातिक आक्रमण भएको छ ।

रिटर्पोटिङका क्रममा त्यहाँ पुगेका अनलाईन पानाका पत्रकारद्वय नारायण प्रसाद अधिकारी र शालिक भट्टमाथि विवादित मेयर थापाको आदेशमा गुण्डा परिचालन गरेर आक्रमण भएको बताइएको छ ।

रिटर्पोटिङमा पुगेका पत्रकारका अनुसार उनीहरूलाई मेयर थापा र उनका भाई रामकुमारले थप समाचारका लागि आउनुस् भन्दै सर्लाही बोलाएका थिए । त्यहाँ पुगेपछि घेरा हालेर उनीहरूलाई आक्रमण गरिएको थियो ।

भरत थापाले यसअघि पनि समाचार लेखेकै भरमा स्थानीय पत्रकारहरूलाई कुटपिट गरेका तमाम घटना सार्वजनिक भैसकेका छन् । हिमालपोस्ट मिडियाले उनीहरूको गुण्डागर्दी र अनियमितताबारे समाचार लेखिरहेको छ ।

पत्रकारद्वय नारायण अधिकारी र शालिक भट्टले आफूमाथि कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको नेपाल प्रहरीका एसपी प्रविन पोखरेलले बताए । एसपी पोखरेलका अनुसार उजुरीका आधारमा आक्रमण गर्नेहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भैरहेको बताए । उनीहरूलाई पक्राउ गरेपछि यसमा कसको संलग्नता छ भन्नेबारे अनुसन्धान गरिने बताए ।