जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन



सर्लाही- हिमालपोस्टले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र उनका भाइले चलाएको ‘गुण्डा’ साम्राज्यको बारेमा निरन्तर कलम चलाईरहेको छ । उनीहरूले शक्तिको आडमा गरेका अपराधको उत्खनन् जारी छ ।

यसअघिको भागमा हामीले बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र उनका भाइ रामकुमार थापाको गुण्डाराज, उनीहरूले गरिरहेका अत्याचारबारे लेखेका थियौँ । उनीहरूको ज्यादतीका कारण स्थानीयहरूले भोगेका समस्याबारे हामीले लेखेका थियौँ। त्यति मात्र होइन मेयर भरत थापाले माओवादीका नेताको आडमा चलाएको हिटलर शासन बारे उल्लेख गरेका थियौँ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले मेयर भरत थापा र उनका भाइले गरेका अपराध सामसुम पार्न सहयोग गरेपछि उनीहरूको गुण्डाराज थप फैलिँदै गएको समेत अघिल्लो भागमा आइसकेको छ । यो शृङ्खलामा भने मेयर थापाको विरुद्ध समाचार लेखेकै भरमा मरणासन्न हुने गरी कुटिएका सर्लाहीका एक जना पत्रकारको घटना र त्यसमा मेयर थापाको संलग्नताबारे भेटिएका तथ्यबारे चर्चा गर्नेछौँ ।

अचम्म त के छ भने, सर्लाही जिल्लामा मेयर थापा संलग्न भएका घटनाबारे कसैले मुख खोल्न मान्दैनन् । केही सोध्ने हो भने स्थानीय कुरै नगरी बाटो लाग्छन् , बताउनेहरूले पनि बिन्ती गरेर नाम सार्वजनिक नगर्न आग्रह गर्छन् । पत्रकार सोम दियाली कुटिएको घटनामा पनि यस्तै भयो । उनी आफैले पनि मुख खोल्न चाहन्नन्, हामीसँग सम्पर्क हुँदा उनले यसबारेमा नबोलौँ भन्दै फोन काटे । अनेक आग्रह गर्दा पनि उनले यसबारे बोल्न चाहेनन् । त्यसपछि उनका नजिकका साथीभाइ र आफन्त खोज्दै जाँदा एक जना बोल्न राजी भए । तर उनले पनि आफ्नो नाम भने लेख्न नपाइने सर्त राखे । हामीले सहमति जनाएपछि उनले यस घटनाबारे फेहरिस्त लगाए ।

कुटिएका पत्रकार सोम दियाली/ तस्वीर सामाजिक सञ्जालबाट

२०७५ साल माघ २९ गते बिहान चिया पिउन भन्दै एक जना चिनजानका व्यक्तिसँग उनी चिया पसलमा पुगेका थिए । चिया पसलमा बसेलगत्तै उनलाई दुई जना व्यक्तिले पछाडिबाट टाउकोमा हिर्काएको स्थानीय बताउँछन् । त्यसपछि उनी बेहोस भए । एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ अन्य स्थानीय नआएको भए उनको हत्या गर्ने नै मनसाय देखिन्छ ।

सो आक्रमणबाट पत्रकार दियालीका तीनवटा दाँत फुस्किएका थिए भने उनको टाउको पछाडि र ओठमा घाउ लागेको थियो । उनलाई अचेत अवस्थामै अस्पताल पुर्याईएको थियो । पत्रकार दियालीलाई स्थानीय स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारगरी काठमाडौं रेफर गरिएको थियो ।

चिनजानकै एक युवकले चिया पिउनका लागि बोलाएपछि उनी हरिवनबाट सुखेपोखरी पुगेका थिए । उनलाई योजनाबद्ध तरिकाले बोलाएर एकाएक आक्रमण गरिएको स्थानीय बताउँछन् । स्थानीयहरूले नदेखेको भए उनलाई मार्ने नै मनसाय देखिन्थ्यो अर्का एक थापा थरकै स्थानीयले भने । उनीमाथि भएको आक्रमणको देशव्यापी विरोध भएपनि खास न्याय भने उनले पाएनन् ।

उनको न्यायको लागि पत्रकारका विभिन्न संस्था र संगठनहरू अपील समेत गरेका थिए । घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परेपनि अनेक तिगडम गरेर उनीहरूको मुद्दा कमजोर बनाइएको स्थानीयको दाबी छ । त्यसपछि स्थानीय अन्य नेताहरूले पनि पत्रकार दियालीलाई भरतसँग पंगा नलिन भन्दै घरमै गएर मिल्न दवाव दिन थालेको बताइन्छ । नेताहरूको लगातार दवाव र प्रतिकुल परिस्थितिका कारण उनले उपचार खर्चको रूपमा करिव तीन लाख लिएर मिलापत्र गरेको बताइन्छ ।

दियालीको हत्या प्रयास असफल भएपछि त्यहाँ अनेक किसिमका परिघटना घटेको स्थानीयले सुनाए । ती तमाम परिघटनाले यो घटनामा मेयर भरतको संलग्नता रहेको पुष्टि हुन्छ । हामीलाई घटना सुनाउने उनका आफन्तले भरतकै इसारामा दियालीमाथि आक्रमण भएको सबैलाई थाहा भएपनि कोही बोल्न सक्दैनन् । सार्वजनिक स्थानमै भएको उक्त घटनामा देखेका स्थानीयहरू नभएको भए उनको हत्या हुने बताउँछन ।

तर उनीमाथि आक्रमण हुनुको राज भने अचम्मको छ । हामीले यसबारे थप बुझ्न थालेपछि मेयर थापाले गरेको अर्को अपराधको पोल खुल्यो । दियालीमाथिको आक्रमण मेयर थापाको समाचार लेखेको अर्कोदिन भएको थियो । उनले मेयरले एक युवकलाई मुक्का हानेको समाचार लेखेका थिए । त्यसपछि मेयर र दियालीबीच एक जना वाइसियलका नेताको फोनबाट कुरा भएको समेत खुलेको छ । मेयरले ति वाइसियलका नेताको फोनबाट ‘अब तिमीले सकेको गर, मैले सकेको गर्छु’ भन्दै फोन काटेको खुलेको छ । मेयर थापाले त्यसो भनेर धम्क्याएको अर्कोदिन नै उनीमाथि सांघातिक आक्रमण भएको थियो ।

त्यसपछि सर्लाहीमा भरत थापा र उनीहरूका कर्तुतका विषयमा समाचार लेख्ने पत्रकारहरूका हात बन्द भए । एक जना पुराना पत्रकारले भने- ‘यहाँ बोल्यो की साँझ घर पुगिने हो कि होइन भन्ने डर छ अनि को बोल्छ त ? म आफै त बोल्दिन ।’

उनीमाथि ज्यानमार्ने समेतको हर्कत गरेका एक व्यक्ति पक्राउ परेपनि अन्य व्यक्तिलाई भने शक्तिको आडमा प्रशासनले पक्राउ गरेन । पक्राउ परेका समिर देवानलाई पनि सम्पूर्ण संयन्त्र परिचालन गरेर, मुद्दा कमजोर बनाई साधारण तारेखमा छोड्ने काम गरिएको थियो ।

मेयर आफैले, आफ्नै कार्यकक्षमा सेवाग्राहीलाई कुटेको त्यो घटना

पत्रकार दियालीमाथि आक्रमण गर्न लगाएको २ दिन अगाडी स्थानीय एक ब्यापारी युवालाई मेयर थापाले आफ्नो कार्यकक्षमै कुटेका थिए । एक जानकारका अनुसार निर्माण व्यवसायी सुनिल बानियाँ मेयरलाई भेटेर कुरा गर्न उनको कार्यकक्षमा पुगेका थिए ।

ती युवाले बागमती नगरपालिकाको एउटा वडाको बाटोको ठेक्का लिएका थिए । उनले गिट्टी बालुवा र क्रसरका लागि मेयर थापाले उत्खनन गरेकै स्थान(बागमती नदि)मा जाँदा उनीमाथि प्रहरीले अबरोध गर्यो, त्यसपछि उनी सिधै मेयरसँग कुरा गर्न नगरपालिका पुगेका थिए ।

यो घटनासँग जानकार एक स्थानीयले बताए अनुसार सुनिल बानियाँले यहि क्षेत्रको रोद बनाउन बागमतीबाट आफूले रोडा निकाल्न अनुमति लिन आएको प्रस्ताव गरे । उक्त प्रस्ताव गरेपछि मेयरले यहाँ आफूले बाहेक कसैले नदिजन्य निर्माण सामाग्री निकाल्न नपाउने बताए । त्यसपछि बानियाँले तपाईँ यो ठाउँको राजा हो र भन्दै प्रश्न गरेको ती स्थानीय बताउँछन् ।

उनको प्रश्न सकिन बपाउँदै आफ्नो कुर्चीबाट जुरुक्क उठेर सुनिललाई हिर्काए । मेयरको कुटाईबाट सुनिलको गाला सुन्निएको थियो भने दुवै आँखाको मुनिपट्टि निलडाम थियो । त्यसपछि स्थानीय भद्र भलाद्मी र सुनीलका आफन्तले यस बारेमा मेयरलाई प्रश्न उठाएका थिए । यो घटना पनि यसैगरी गुपचुप भयो । न कुटिनेले यसविरुद्ध बोल्न सके न स्थानीय यसबारे बोलिदिन सके ।

कुटिएका व्यवसायी सुनिल बानिया/ तस्वीर सामाजिक सञ्जाल

मेयर आफैले, आफ्नै कार्यकक्षमा आएको सेवाग्राहीलाई कुटेको यो आश्चर्यजनक र पहिलो घटना नै हुनुपर्छ ।

यसबाहेक पनि मेयर थापा र उनका भाइ रामकुमारले सार्वजनिक स्थलमै अन्य व्यक्तिलाई कुटेका घटना प्रसस्त छन् । केहि घटनाको भिडियो समेत हामीलाई प्राप्त भैसकेका छन् ।

स्थानीय प्रशासन, प्रहरी र केन्द्रका नेताहरूकै आडमा मेयर थापाले यस्ता हर्कत गर्दै आएको स्थानीयको गुनासो छ । एउटा सार्वजनिक पदमा बसेको व्यक्ति जसले नगरबासीको शान्ति सुरक्षाको सुनिस्चितता गर्नुपर्ने हो उसैले आफ्नै नगरका नगरबासीमाथि यति ठूला अत्याचार गर्दा जनता भने निरिह बनेर उनका ताण्डव हेर्न बाध्य छन् ।

मेयर आफैले गरेका यतिधेरै अत्याचार देख्दा पनि जनताको शान्ति सुरक्षाको लागि खटिएका सम्बन्धित निकाय मौन बस्नु झनै आश्चर्यको विषय बनेको छ । २१औँ सताव्दीमा पनि जनताले नगरप्रमुखबाटै प्रताडित हुनु मानव अधिकारविरुद्धको अपराध पनि हो ।

सार्वजनिक स्थलमा जनता कुट्दै मेयर थापा/तस्वीर सुरक्षा स्रोतबाट उपलब्ध

यससँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया