यो भेंडै भेंडाहरूको देश हो ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यो भेंडै भेंडाहरूको देश हो !



डा.अच्युत शाली घिमिरे

आज भन्दा धेरै वर्ष पहिले कवि भूपी शेरचनले आफ्नो कविता मार्फत लेखेका थिए “यो हल्लै हल्लाको देश हो, खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ”। र यो कुरा आज पनि सत्य छ ।हल्ला कै भरमा हिजो भगवान् कहलिएकाहरू रातभरमा दानव बन्न सक्छन्। हल्ला कै जगमा भेडावृत्ति समेत मौलाइरहेको छ।हामीहरू केही कुराको पनि चुरो कुरो नबुझिकन अनेकौँ मनगढन्ते बहस र दृष्टिकोणहरूमा बेहिसाब ढल्किदिन्छौँ।अनेकौँ शङ्काहरू बेक्कारमा खोतलिदिन्छौँ।प्रश्नहरूमा अपरिपक्व उत्तरको पछि लाग्छौँ।धैर्यतालाई त्यागी दिन्छौँ र सहजतालाई सजिलै अँगालिदिन्छौँ।हाम्रो नजरमा योग्यता नहुन सक्छ तर हामी अन्धविश्वास र भावनात्मक भएर बराबर समाधान गर्न तम्सिन्छौँ।हामी आफूमा फुर्तिलो र रवाफी पन चाहन्छौँ,विरोधको प्रवृत्ति देखाएर रातारात अखबारका हेडलाइन बन्न चाहन्छौँ।साँच्चै यो भेडै भेडाहरूको देश हो।हामी मान्छे बन्ने तागत गुमाइरहेका छौँ।

हिजोआज शालिकराम आत्महत्या प्रकरणले समाजको ध्यान खिचेको छ।र आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रकाउ पर्ने तीन जना मध्य एक जना “सिधा कुरा जनतासँग” कार्यक्रम सञ्चालक रवि लामिछाने समेत प्रकाउ पर्नाले झन् यो विषयलाई तताएको छ।अहिले चितवनको माहौल एकदम बिग्रिएको छ।जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठी देखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रलाई निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था आएको छ।रविको रिहाइको माग गर्दै तर्कविहिन भएर मानिसहरू प्रदर्शनमा उत्रिएका छन्। शालिकरामले आत्महत्या गर्नुपूर्व एक भिडियो खिचेका थिए।जसमा मार्न बाध्य पारिएको रूपमा रविको नाम लिइएको छ।र नेपालको मुलुकी अपराध संहिता अनुसार “कोसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्नु वा गराउनु” अपराध हो भन्ने व्याख्या गरिएको छ। र सालिकरामले आत्महत्या गर्नु पूर्व खिचेको भिडियोलाई आत्महत्या दुरुत्साहनको प्रमाणका रूपमा लिएर रवि सहित तीन जनालाई पक्राउ गरेको कुरा बुझिन्छ। र यस प्रमाणलाई अदालतले समेत स्वीकार गरी अनुसन्धानका लागि प्रहरीलाई म्याद दिईसकेको अवस्था छ।कतिपय कुराहरू अनुसन्धानका क्रममा बाहिर निकाल्न नमिल्ने हुन सक्छन्।यस आधारमा बयान र अटोप्सी रिपोर्टहरूमा प्रहरी थप प्रक्रिया गर्दै होला।तर धैर्यताको सीमा नै नाघेर माहौल नै बिगार्ने हेतुले प्रदर्शनमा उत्रिनु पर्ने जरुरी चैँ किन?

नेपालीहरूले केही गरुँला र भरुँला भन्ने आनन्दका सपनाहरू देख्न थालेको धेरै भयो।तर पनि उच्च निकाय ,राष्ट्रका खातिर लडेका नेताहरूबाट, देशका व्याप्त प्रशासन र न्यायिक निकायबाट जनताले अब आफूले साँच्चै नै न्याय पाइन्छ भन्ने विश्वास गुमाउँदै गइरहेका छन्।यो एकदम डरलाग्दो पाटो हो।भ्रष्टाचार,कालोबजारी,बलात्कार जस्ता घटना परिघटनाबाट दोषीहरू सजिलै उम्किएका परिदृश्य मार्फत जनता निराशा,कुण्ठा र आक्रोश मिश्रित भावहरूबाट ग्रसित छन्।एक प्रकारले भन्नु पर्दा नेपालीहरू फ्रस्टेसनमा छन् र उनीहरूमा बौद्धिक चेतनाको अभाव छ।बढी नै भावनात्मक भइदिने र सजिलै जो कोसैलाई विश्वास गरिदिने मनोभावमा समेत नेपालीहरू ग्रसित छन्।जसका कारण सामाजिक सञ्जालबाट,मिडियाबाट मानिसहरूले अब न्याय खोज्ने दिन आएको छ।कपोकल्पित तर्कहरूमा समाज आक्रान्त भएको छ।भीडले दिशानिर्देश गर्ने भेडावृत्तिले नै दोषी पत्ता लाग्न थालेका छन्। अफवाहहरूलाई महत्त्वका साथ हेरिएको छ।अराजकता बढाएर नकारात्मक बिकाएर सत्य ढाक्न खोजिएको छ।तर हामी समयै मै सचेत हुनु पर्ने जरुरी छ,किन कि भिडबाट कहिल्यै पनि न्याय आउँदैन।

हामी नेपालीहरू यदाकदा दुनियाँको कर्मपथमा अँध्यारो गल्लीमा हिडिदिन्छौं।कुनै एक मिथ्या सँग संयोग राख्छौ र त्यसबाट क्षणिक सुख अनुभव गर्दछौँ।सुखको चक्करमा विशाल भूलभूलैयामा फसिरहन्छौँ।क्रिया प्रतिक्रिया विहीन कोसैको इसारामा नाचिदिन्छौँ।कोसैले आफ्नो निशाना चुकाउन हाम्रो काँधमा बन्दुक राखेर पड्काउँछ,तै पनि हामी काँध थापिरहन्छौँ।हामी लर्बराउँदै धर्मराउँदै जब अघि बढ्न गडबडाउँछौ तब हामी खाल्टोमा पर्छौँ।यो अरू केही नभएर हाम्रो भेडावृत्ति हो।हामी ठुला ठुला आवाज निकाल्छौँ,हृदयमा घमण्ड ज्यादा राख्छौँ,आफूलाई आकाश थाम्ने हुटिट्याउँ सम्झिन्छौँ तर हामी आफै अँधेरो कोठामा हुन्छौँ,र हाम्रो घमण्ड हाम्रै अगाडि मुर्दातुल्य हुन्छ।

आजकल,समाजमा हल्लाहरू सत्य जसरी फैलाइएको हुन्छ।कुनै पनि मानिसको चरित्र निर्धारण गर्न नेपालीहरू उसको भूत र वर्तमानको समीक्षा भन्दा पनि युट्युब र फेसबुकमा उसका सम्बन्धमा बनाइएका प्रचारका सामग्रीबाट आफ्नो धारणा बनाउन थालेका छन्। र खासमा नेपाली समाजले पचाउनै नसक्ने यस्ता सामग्रीहरू नै समाजमा बढी बिक्छन्।अझ भनौँ नेपालीहरू नकारात्मकता त्यसमाथि रहस्य र षड्यन्त्रमा आफूलाई एकत्रित गर्न थालेका छन्। यस्तै सतही बिचारहरू धेरै फैलिनेहुदा वकालत गर्ने र तर्कका आधारमा धारणा बनाउनेहरू घट्दै गइरहेका छन्। जे जस्तो भए पनि प्राय नेपालीलाई भेडा बनाउनुमा राज्यकै ठुलो भूमिका छ।राज्य स्वयं ले आफ्ना संयन्त्र माथि जनता द्वारा गरिने अथाह विश्वास र भरोसाको खडेरी निम्त्याउनु लाज मर्दो कुरा हो।यसले निम्त्याएको वैराग्यको क्षतिपूर्ति कसले दिने? जनताहरू व्यर्थैमा कोसैको पुजारी बनिरहेछन्,अन्धभक्त बनिरहेछन्,भावनात्मक बनिरहेछन्।ठुला ठुला परिवर्तन ल्याए पनि जनताको आधारभूत कुराहरूमाथि ध्यान नपुर्याउदा चेतनशील नेपालीहरू आज भेडा बनिरहेछन्।यसलाई सबैले एकचोटी आत्मसमीक्षा गर्दै सत्यको जीतको खोजीका लागि राज्यलाई विश्वास गर्ने वातावरण सिर्जना गर्न लाग्नु पर्छ।

डा.अच्युत शाली घिमिरे
चिकित्सा शास्त्र अध्ययन संस्थान(IOM)