फोटो र रवाफ: जसले विद्याको भविष्य झल्काउँछ - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

फोटो र रवाफ: जसले विद्याको भविष्य झल्काउँछ



काठमाडौं- १४ मङ्सिरमा हुने उपनिर्वाचनको लागि रिक्त ठाउँमा बिहीबार उम्मेदवारी दर्ता गरिएका छन् । उम्मेदवारी दर्तासँगै चुनावी अभियानले पनि रौनकता बढेको छ ।

उम्मेदवारी दर्ता गर्ने दिन नै कतिपय उम्मेदवार चर्चा र विवादको विषय बनेका छन् । कतै बागी उठेकाहरूको चर्चा छ भने कतै उम्मेदवारी दिनेले समर्थक र प्रस्तावक नपाएर फर्केका विषयले मिडियामा स्थान जमाएका छन् ।

तर देशभरकै चासोको विषय बनेको कास्की २ मा भने अल्लि फरक विषय च्क्र्चा र विवादमा छ । रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि हुन लागेको कास्की २ को उपनिर्वाचनमा उनकै पत्नी विद्या भट्टराई उम्मेदवार छिन । उनले उम्मेदवारी दर्ता गरेलगत्तै चुनावी अभियान सुरु गरेकी छन् ।

पहिलो गाँसमै ढुङ्गा भनेझैँ उनी सुरुवातमै सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनले आफ्ना सहयोगीलाई झोला बोकाएको तस्बिर शेयर गर्दै उनको विरोध गरेका छन् ।

मन्त्री बनेलगत्तै रबिन्द्र अधिकारीले नेपाली सेनालाई छाता ओढाउन लगाएको प्रसङ्ग जोड्दै उनको तस्बिरलाई भाइरल बनाइएको छ।

कतिपयले भने नेता बनेलगत्तै हैसियतमा आएको टिप्पणी समेत गरेका छन् । कतिपयले भने उनीबाट आशा गरिएको अर्कै भएको तर उनले आफ्नो हैसियत सुरुवातमै देखाएको भन्दै विरोध गरेका छन् ।

के छ तस्बिरमा ?

चुनावी अभियान सुरुवात गरेलगत्तै खिचिएको उक्त तस्बिरमा मुस्कुराउँदै उनले २ हात जोडेकी छन्, उनको अगाडी पछाडि केही सहयोगीहरू छन् । चुनावी माहौल झल्किने उक्त तस्बिरमा विद्या भट्टराईले फुलको माला लगाएकी छन् भने उनको पछाडि एक सहयोगीले उनको झोला बोकेका छन् । झोला बोक्दा उनी अल्लि असहज जस्तो देखिन्छन् ।

चौतर्फी आलोचना

उनले चुनावी अभियानको पहिलो दिन नै देखाएको यस्तो रवाफले राम्रो सङ्केत नगरेको भन्दै सार्वजनिक रूपमा उनको आलोचना भएको छ । सार्वजनिक भएको त्यो तस्बिरमा उनी शासक जस्तो देखिएकोले पनि उनको आलोचना भएको हो ।

विद्या भट्टराई कास्कीबाट आशा गरिएकी नेतृ हुन् र उनीप्रति जनताको एक प्रकारको सहानुभूति पनि छ । उनले जानेर वा नजानेर पहिलो दिन नै देखाएको यो रवाफले उनको उचाइ निकै कम गरेको छ ।

फोटोमा देखिएको उनको रवाफले उम्मेदवार मात्रै बन्दा त उनको यस्तो छ । झनै उनी मन्त्री नै बनिन भने उनको रवाफ कस्तो होला जनतालाई सोंच्न बाध्य पारेको छ ।