एभरेष्ट प्रिमियर लिग: कति पाउँछन् विजेता र उपविजेताले ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एभरेष्ट प्रिमियर लिग: कति पाउँछन् विजेता र उपविजेताले ?



काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । किनकि दुवै टिममा अन्तर्राष्ट्रिय क्रिकेटरहरु पनि सहभागी हुनेछन् । ललितपुर र काठमाडौं बीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ । ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो । यो खेल दिउँसो १२ः१५ बजेदेखि शुरु हुनेछ ।

ललितपुर टिम
ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रदै छ । नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि कुशलले जिम्मेवारी पाएका हुन् ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इङ्गल्याण्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौं टिम
काठमाडौं राष्ट्रिय टिमकै स्पीन बलर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् ।

अफ्रिदीले २ खेलमात्र खेल्नेछन् ।

तर दुखद पक्ष राष्ट्रिय टिमकै कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले भने ईपीएल खेल्ने छैनन् ।

यो प्रतियोगिताका प्रोमोटर आमिर अख्तरसँग सम्बन्ध राम्रो नभएकै कारण मल्ल र खड्काले नखेलेका हुन् ।

कस्तो छ सहभागीता
यसपालि अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु धेरै भएकाले रोमाञ्चकता देखिएको छ । चौथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् ।

यसअघि पनि ६ टिमले नै सहभागीता जनाउने छन् । यसपालि पुरस्कार राशि पनि बढेको छ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छ ।