बुढा ! परदेश छाडेर घरदेश आऊ । « Himal Post | Online News Revolution
Logo

बुढा ! परदेश छाडेर घरदेश आऊ ।



अन्जना केसी

थाहा छ बिनित ! म जीवनमा सबैभन्दा धेरै खुसी कति बेला थिएँ ? गरिबीले नराम्रोसँग थिचेको हाम्रो परिवारमा जब तिम्रो दुबई जाने भिसा लाग्यो नि , हो त्यति बेला ।

तर यति भन्दै गर्दा पक्कै पनि मेरो मुटु अझै काप्न छाडदैन, किन थाहा छ ? तिमीले त भुलिसक्यो त्यो अँगालो , त्यो मीठो चुम्बन अनि त्यो आँसु खसाल्दै गरेको टाटा बाई बाई।

एउटा मुटुलाई आफै सँग छुट्टाएर खाडी पठाउदाको पीडा म कहिले भुल्न सक्दिन । तिमीले मेरो निधारमा चुम्मा गरेर छिट्टै फर्किने बाचा गरेको कहिले भुल्दिन । म रुदै बाई गरेको बेला तिम्रा आँखा रसाएको मैले आफ्नै ऑखाले देखेकी हुँ ।

खुसी यसर्थ थिए कि अब हामी भोकै बस्ने छैनौ , अब दुईचार रुप्पेको लागि कोही आफन्तसँग हात फैलाउनु पर्ने छैन । पेटमा हुर्किदै गरेको हाम्रो मायाको निशानीले राम्रो स्कुलमा पढन पाउने छ, मिठो खान पाउनेछ । अझै भन्नु पर्दा गरिबलाई हेप्ने हाम्रो समाजमा गर्वका साथ छात्ती फुलाएर हीड्न पाइने छ ।

दुखी यसर्थ थिए कि मैले मेरो खुसीलाई आफ्नै हातले टाटा बाईबाई गर्दै थिएँ, आफ्नै मुटुलाई आफैबाट टाढा पठाउदै थिएँ । पैसाको लागि यति मीठो जोडी केही समयका लागि बिछोडिनु पर्दा कति पीडा थियो होला ? त्यो तिमीले अहिले कल्पना सम्म गर्न सक्दैनौ । किनभने तिमी यति बेला बदलिएका छौ । तिमी आफै बदलियौ या तिमीलाई त्यो मरुभुमिले बदल्यो त्यो पछि समीक्षा गरौला ।

मैले सुनेकी थिए प्रेमको नियम “जति बाँध्न खोज्यो उति खुस्कन्छ, जति खुकुलो छाड्यो, उति कसिन्छ रे ” त्यसैले म चुपचाप बस्थें कसैलाई चोखो माया गर्दा त उसलाई पाउने भन्दा गुमाउने डर बढी हुन्दोरहेछ ।म तिमीलाई गुमाउने डर लाग्थ्यो , म तिमीलाई बाध्न चाहन्नथे ।

आज शुक्रवार सधैँ जसो आज पनि तिम्रो छुट्टी थियो । थाह छैन किन आज तिम्रो निक्कै याद आयो , दुई पटक फोन गरें तर तिमीले डिउटीको बहाना बनायर फोन काट्यौ । तिम्रा लागि त्यो एउटा फोन थियो जस्लाई सजिलै काट्यौ । तर मेरा लागि अस्पतालमा मृत्यु सँग लडिरहेको बिरामीका लागि दिइएको अक्सिजन थियो जो काटेपछी म धेरै बेर छटपटिन्छु । आज त्यसै गरी छटपटिरहेको छु ।

तिमी बुझ्दैनौ या वास्ता गर्दैनौ, त्यो तिमी आत्मसमिक्षा गर्नु तर म सबै भएर पनि एक्लो भएको छु । तिमीले बनाईदिएको राम्रो घर छ, तिमीले पठाईदिएको बैङ्क ब्यालेन्स छ । तिम्रो मायाको निशानी तिमी जस्तै चकचके अनि मायालु छोरी छ । तर पनि एक्लो लाग्छ । नितान्त एक्लो ।
जीवनमा मैले कहिलै सोचिन कि मेरा यस्ता दिन पनि आउने छन् भनेर, हाम्रो प्रेम देखेर दुनियॉले डाह गर्थे । भन्थे जोडी होस त यस्तो , मायॉ होस त यस्तो , वाह बिनित र विधाको जोडी !

अब त समय बद्लि सक्यो , तिमीले गर्ने माया बद्लियो, तिमीले माया गरेर बोलाउने सम्बोधन बद्लियो, बिहान गुट मोर्निग ,चिया खायौ खाना खायौ देखी गुट नाईट स्विट ड्रिम सम्मका लाखौँ म्यासेज गर्ने तिम्रो मिठो बानी बद्लियो । मिसिंग , अनि आई लभ यु को वर्षा कति हुन्थ्यो याद त छ होला नि हगि बिनित ? भिडियो च्याटमा एक अर्काको आँखामा आँखा जुधाएर धित मरुन्जेल कुरा गर्दै “बुढी तिम्रो याद एकदम धेरै आईराको छ । कहिले तिमीलाई भेटेर अँगालो ले बेरुं बेरुं भएको छ भन्दै तिमी ऑखाको डिलमा ऑशु टिलपिल पार्र्थ्यौ, तिमी तड्पियको देखेर मैले सम्झाउनु पर्थ्यो ।बढ्दै गरेको पेट देखाएर उसको लागी हामी टाढिएको दुखी नहौउ भन्दै अनि बल्ल सम्हालिन्थ्यौ। पेटमा हुर्कदै गरेको बच्चा देखेर तिमी कति खुसी हुन्थ्यौ ।

अब त मेरो लागि तिम्रो मनमा त्यो फिलिंग नै रहेन । भिडियो हेर्दा लजाउने भयौ , आई लभ यु , मिसिंग का त कुरै नगरौं । मेरो लागी तिमी सँग जुन फिल थियो अब त्यो अरूका लागी भयो । तिमी २४ घन्टामा २३ घण्टा अनलाइन हुन्छौ तर मेरो लागी २३ सेकेन्ट पनि छैन अब ।त्यसो त मैले धेरै पल्ट गुनासो नगरेकी होइन । तिमीले झर्किएर डियुटीमा मोबाइल चलाउन पाईदैन । नेपाल फर्काईदिन्छ जस्ता कुरा गरेर ईमोस्नल ब्ल्याकमेल गरिरह्यौ । त्यो किन थाह छ बिनित ? तिमी विदेशी केटी सङ्गका भेटघाट र उनीहरू सँगको रोमान्समै बिजी रह्यो ,कति पल्ट तिम्रो फोन अरू केटीले उठाउदै मैले नबुझ्ने भाषा बोलेको छ। त्यो बेला मलाई जमिन भासिए जस्तै हुन्थ्यो म काप्थे थरथरी ।मैले सुनेकी थिए प्रेमको नियम “जति बाँध्न खोज्यो उति खुस्कन्छ, जति खुकुलो छाड्यो, उति कसिन्छ रे ” त्यसैले म चुपचाप बस्थें कसैलाई चोखो माया गर्दा त उसलाई पाउने भन्दा गुमाउने डर बढी हुन्दोरहेछ ।म तिमीलाई गुमाउने डर लाग्थ्यो , म तिमीलाई बाध्न चाहन्नथे ।

छुट्टीको दिन त झन् यति बिजी हुन्छौ कि एउटा म्यासेजको रिप्लाई दिने फुर्सद सम्म कहिले भएन ।आजकल त लाग्छ ,सम्बन्ध राम्रो त तेति बेला सम्म मात्र भयो, जतिबेला सम्म म भन्दा राम्रो तिम्रो नजरले अरू कोही पनि देखेन ।

थाह छ बिनित ! फेसबुकको भित्तामा ,यूट्युवमा हाम्रो गाउघर र समाजमा नराम्रो चर्चा महिलाकै चल्ने गर्छ । महान् साहित्यकार हरुले पनि महिलाको फिलिंगको खिल्ली उडाएर कथा बनाएका छन् । पत्रकारहरु आफ्नो पत्रिकाको महिमा बढाउन यस्तै खाले तथ्यहिन समाचारलाई गलत शीर्षक राखेर प्रचार गरेका छन् ” लोग्ने विदेशमा स्वास्नी पैसा कुमलाएर भागी रे , लोग्ने विदेशमा स्वास्नीको अर्कै सँग रोमान्स रे” यस्तै यस्तै ! कसैले लेख्ने हिम्मत गरेको छ तिमी जस्तो पुरुषको बारेमा ? घरमा स्वास्नी बच्चा बच्ची हुँदा हुँदै विदेशमा अरू केटीसँग लिभिंग टुगेदरमा बसेको कुरा, हप्ता हप्तामा फरक फरक केटी सँगको रोमान्सको चर्चा कसैले गरेको छ ?  घरको जिम्मेवारी कर्तव्य पैसाले पुरा हुन्छ भन्ने जुन मानसिकता छ नि तिम्रो, त्यो गलत हो भनेर कसैले सम्झाएको छ ? छैन, अवश्य छैन । किन कि हाम्रो पितृसतात्मक मानसिकताले पुरुषले गरेका कतिपय गलत कार्यलाई पनि ढाकछोप वा सही साबित गर्न खोजेको छ । यो किन भन्दै छु थाह छ ? किन की हाम्रो समाजमा तिमी जस्ता पुरुषको चर्चा कम र १% गलत महिलाको नराम्रो प्रचार धेरै भइरहेको छ । विदेशमा तिमी जस्तो पुरुष अनि नेपालमा लोग्नेको यादमा तडपिएर, सँगै बस्ने कल्पनामा दिन बिताउने थुप्रै स्वास्नी मान्छेहरू पनि छन् ।

बिनित, तिमीले मान या नमान जीवन सङ्गिनी भनेको तिम्रो अन्तिम अवस्था सम्म पनि साथ दिने मान्छे हो । अहिले तिम्रो उमेर छ, बैँस छ, पैसा छ, तिम्रो अधि पछि मायॉ गर्छु भन्नेहरु होलान्, तिमी बिना जिउन सक्दिन पनि भन्न सक्लान तर जतिबेला तिम्रो अनुहारमा रेखा बस्ने छन्, कपाल र दारी फुल्न थाल्ने छ, तिमीले पैसा कमाउन छोड्ने छौ नि हो त्यही बेला तिमी अहिले म एक्लिए जस्तै नितान्त एक्लो हुने छौ अनि बुझ्ने छौ मेरो महत्त्व के कति छ वा थियो भनेर । अहिले बाहिरी दुनियामा लाखाैकाे खुसी खाेज्दा परिवारकाे कराैडाै मूल्यकाे खुसी गुम्न सक्छ !किनकि खुसीकाे मुहान नै परिवार हाे बिनित ।

मलाई थाह छ तिम्रो र मेरो मनको दुरी साच्ची बढेको छ । दिनमा सयौं चोटि मिठा गफमा गफिने हामी आजकल १ हप्तामा १ पल्ट पनि सन्चो बिसन्चो सोध्न छाडेका छौ, के हामी पहिले जस्तै हुन सक्दैनौ ? पहिले जस्तै माया ममताका कुरा गर्न सक्दैनौ ? मलाई अब पैसा होइन बिनित तिमी चाईएको छ । तिम्रो प्रेम चाहिएको छ, तिम्रो न्यानो काख चाहिएको छ, तिम्रो साथ चाहिएको छ ।तिमी नहुदा मैले जति सामाजिक रूपमा मानसिक पिडा भोगेकी छु नि ? अब त्यो सामर्थ्य म मा छैन, म थाकिसकें, तिमी आऊ हाम्रो प्रेमलाई जगाउ मल जल गरिदेऊ फेरी पालुवा पलाउने छ हामी खुसी हुनेछौ सुखी हुनेछौ ।

यो कथालाई हिमालपोष्टको अनुमतिबिना कुनै पनि अनलाइनमा कपि गरेको पाइएमा कडा कारबाही गरिने छ ।