एमालेभित्र पोखरेल अलोकप्रिय, पौडेल झन शक्तिशाली - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

एमालेभित्र पोखरेल अलोकप्रिय, पौडेल झन शक्तिशाली



काठमाडौं- २०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकतापश्चात् गठित एकीकृत पार्टीको महासचिवमा एमालेले एकाएक विष्णु पौडेललाई अगाडि ल्याएपछि धेरैले अचम्म माने । नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेललाई आउट गरी उपमहासचिव पौडेल शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिवका रुपमा उदाएपछि अचम्म लाग्नु स्वाभाविकै थियो ।

झन्डै दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेको शक्तिशाली पार्टीको महासचिवका रुपमा पौडेलले पुग नपुग दुई वर्ष पार्टीमा मज्जैले स्थान लिए । तर अदालतको निर्णयपछि २०७५ जेठ २ मा पुगेको एमालेमा पनि अप्रत्यक्ष रुपमा पौडेल नै महासचिवका रुपमा सक्रिय देखिन्छन । यद्यपि अरु सबैका पद खोसिँदा पनि ईश्वर पोखरेलको पद भने कायमै छ ।

महासचिवको आधिकारिक जिम्मेवारी पोखरेलसँगै भए पनि व्यवहारिक रुपले सो भूमिकामा पौडेल सक्रिय देखिँदै आएका छन्। अन्तरसंघर्ष व्यवस्थापनको नाममा होस् अथवा अन्य आन्तरिक छलफलमा महासचिव पोखरेलमाथि पौडेल हाबी बनेको आँकलन गर्न थालिएको छ ।

सतहमा विभिन्न पात्रका नाम चर्चामा आएपनि अघिल्लो साता मेरियट होटलमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच झन्डै डेढ महिने संवादहीनता तोड्न पौडेलकै भूमिका निर्णायक रहेको चर्चा छ । दुई नेताबीच भेटघाटको चाँजोपाँजो मिलाउनेदेखि ठाउँ व्यवस्थापनसम्म पौडेलले रोल खेलेको दाबी गरिन्छ । त्यसो त, ओली र नेपालले भेट गरेकै होटलमा त्यति नै बेला पौडेल झुल्किएका थिए ।

जनआस्थाको समाचार अनुसार- नेताहरूबीच वार्ता भइरहँदा पौडेल होटलबाट निस्कँदै गर्दा पौडेललाई सोधिएको थियो ‘उहाँहरूलाई मात्र छाडेर किन निस्कनुभयो ?’ तर आफू उक्त वार्तामा नभई अर्कै सन्दर्भमा होटलमा रहेको जानकारी दिए । शीर्ष नेतृत्ववीच वार्ताको सन्दर्भमा पौडेल होटलभित्रै रहेपनि उनले आफू उक्त वार्तामा संलग्न नरहेको दाबी गरेका थिए ।

एमालेको अहिलेको अन्तरसंघर्षमा पोखरेल र पौडेल ओलीकै साथमा छन् । एमालेको नवौँ महाधिवेशनमा दुबैले ओली प्यानलबाट जितेको भएपनि पौडेललाई अध्यक्ष ओलीको आशिर्वाद धेरै मिलेको प्रष्ट छ । ओलीलाई खुशी बनाउन पोखरेलले जति पापड बेलेपनि उनी आफ्नै कारणले सफल बन्न नसकेको एमाले वृत्तमा चर्चा छ ।

बालुवाटार निकट एक नेता भन्छन्, ‘एमालेमा अहिले डिफ्याक्टो र डिजुरे दुई जना महासचिव जस्तो देखिएको छ । ईश्वर कमरेड नाममात्रको महासचिव जस्तै भूमिकाविहीन देखिएका छन् । यसमा अरुको भन्दा पनि उनकै कार्यशैली जिम्मेवार देखिन्छ ।’

अर्थमन्त्रीसमेत रहेका पौडेलले पार्टीमा लगातार हस्तक्षेप बढाउँदै आफूलाई अहिले पनि महासचिवकै रुपमा सक्रिय बनाउँदा पोखरेल भने राजकीय भूमिकामा सीमित देखिएका छन् । पोखरेलले केही दिनअघि सरकारका सचिवहरूलाई सिंहदरबारमा बोलाएर ‘सरकारी कर्मचारीको काममा कहिल्यै परिवर्तन नआएको र सँधै झिँगा टाँस्ने काम गरेको’ भनेर थर्काएको प्रसंग कोट्याउँदै तिनै नेता भन्छन्, ‘रुखो बोली, ठाडो स्वभाव र फाइदाका निम्ति पिपलपाते बानीका कारण उनलाई पार्टीमा धेरैले रुचाउन छाडेका छन् । त्यसैले उनले आफूलाई सच्याउनुपर्ने देख्छु म त !’

पौडेल भने पोखरेलको ठीक विपरित स्वभावका छन् । यहि शैलीका कारण उनी पार्टीमा हावी हुँदै जाँदा कडा बोल्ने र अरुलाई चिढ्याउने तथा आरिसे स्वभावका कारण पोखरेल पछि परेको बताइन्छ । माओवादीसँगको एकता प्रक्रियामा उदासीन बनेपछि पोखरेललाई महासचिवबाट फालेर पार्टी एकता गराउन भूमिका खेलेवापत पौडेल महासचिव बनेको उतिबेलै चर्चा थियो ।

अहिले एमाले र माओवादी दुई फ्याक भइसक्दा पनि पौडेल प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अझै प्रचण्डलगायत पूर्व माओवादीका नेताहरूसँग सम्पर्कमै रहेको बताइन्छ । कुटिल शैली, समन्वयकारी भूमिका र शालीन व्यक्तित्वका कारण पौडेलले पार्टीमा भूमिका बढाउँदा रुखो र सानो घेरामा रहन रुचाउने स्वभावका कारण पोखरेल कमजोर बन्दै गएको विश्लेषण एमालेहरू नै गर्ने गर्छन् ।