ब्राजिलको सबैभन्दा ठूलो शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ब्राजिलको सबैभन्दा ठूलो शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’



काठमाडौं- ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् । शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको उनले बताएका छन् ।

कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन बेडहरुको माग अधिक भएको र यहि क्रम जारी रहेमा स्वास्थ्य सेवा प्रणाली चाँडै ‘कोल्याप्स’ हुने मेयर ब्रुनो कोभासले बताएका छन् ।

अहिले शहरका अस्पतालहरु ९० प्रतिशत भन्दा बढी बेड प्रयोग भएको र यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्न नसक्ने उनले बताएका हुन् ।

कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा बढी प्रभावित भएको शहरमध्ये पर्छ साओ पाउलो, जहाँ अहिलेसम्म झण्डै तीन हजार मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ११८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ब्राजिलमा दुई लाख ४१ हजार ८० रहेको छ ।

ब्राजिलका स्वास्थ्य विज्ञहरुले भने संक्रमितको वास्तविक संख्या अहिले बाहिर आए भन्दा धेरै हुन सक्ने बताएका छन् । पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या बढी भए पनि थाहा नभएको हुन सक्ने बताइएको छ ।

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस महामारीलाई गम्भीर रुपमा लिएका छैनन् । उनले लकडाउन आवश्यक नरहेको र कोरोना भाइरस सामान्य फ्लूजस्तै रहेको बताउने गरेका छन् । सोही कारण ब्राजिल भित्रै र अन्तर्राष्ट्रिय तहमा पनि उनको आलोचना भइरहेको छ ।

आइतबार राजधारनीमा आफ्ना समर्थक र बालबालिकासँग तस्बिर खिचाउने क्रममा सामाजिक दूरी कायम गर्न भनि गरिएको आग्रह उनले अस्वीकार गरे ।

साओ पाउलोमा झण्डै एक करोड २० लाख मानिसको बसोबास छ । शहरका अधिकांश बासिन्दाले सामाजिक दूरीको नियम उल्लंघन गरेको देखिएको छ ।

मेयर कोभासले शहरमा कडा लकडाउन लागु गर्नु पर्ने माग गरेका छन् । त्यसका लागि आफूले राज्यका गभर्नरसँग कुरा गरिरहेको बताएका छन् । प्रहरीको नियन्त्रण गभर्नरको हातमा छ । लकडाउन प्रभावकारी बनाउन गभर्नरको साथ र उनका सहयोगीको समर्थन चाहिन्छ ।