” क्यानभासमा कोरिएको अधुरो प्रेम “ « Himal Post | Online News Revolution
Logo

” क्यानभासमा कोरिएको अधुरो प्रेम “



– नबिन पन्त

सिम सिम पानी अनि माउन्ट लफ्टीको बोटानिकल गार्डेन। शरद ऋतुको मौसममा यस गार्डेन सुन्दरी भएर बसेकी हुन्छिन । रंगीचंगी फूल, मन्द चिसो बतास बढो आकर्षक देखिन्छ यो ठाउँ त्यसैले त जल देउता पनि बेला बेला सिमसिम गर्दै चुम्न आउछन। तिनै सुन्दरीको वरीपरी हेर्दै हामी उकालो चढ्दै थियौ।केहि प्रेमीहरु हातमा हात राख्दै प्रेममा डुब्दै थिए । केहि ओठहरु चुम्दै थिए । स्वतन्त्र रुपमा कसैको डरै नमानी सबैलाई लोभाउने गरि। जब जोडीहरु अनुरागमा डुबी रहेका थिए मैले पनि उसलाई सम्झिए । पानीले निथ्रुक्क भिजेको शरीर अनि प्रेममा डुबेको हाम्रो ढुकुरको जोडी , कल्पना गर्दै थिए “उसलाई पनि एक दिन यहाँ घुमाउन लिएर आउनेछु”। रंगिन सपनाहरुमा डुबी रहेको मलाई छेवैमा रहेका आदर्श दाईको मोबाईलमा आएको रिङ्ग टोनले झस्काई दियो।

आदर्श दाईकै आग्रहमा म यहाँ आएको थिए बिहानै तातो खटिया छोडेर। उनले अघिल्लो रात भनेका थिए ” भाई ! चिया सिया उतै खाउला है छिट्टै गरेर आउनु होला ।प्राय: दुवैको बिदा मिल्यो भने हामी भुडी घटाउने अभियान सहित यो उकालो चढ्न आउने गर्थियौ । उमेरले दाई भए पनि हाम्रो सम्बन्ध साथी भाईको जस्तै थियो । हाम्रो मित्रता देखेर कहिले कहिँ भाउजुले ठट्यौली पारामा भन्नु हुन्थियो “प्रेमी जोडीहरु कता हो , शंका लाग्न लाग्यो है ।

” फोनमाको संग के कुरा गर्दै थिए , सके पछि भने ” जाम माथि भोक पनि लाग्यो। बोटानिकल गार्डेन भन्दा माथि भ्यु टावर जस्तो छ , जहाँ बाट साउथ अस्ट्रेलियाको धेरै भूभागहरु देखिने गर्छ त्यहि नजिकैको ” द समिट क्याफेमा पुग्यौ “।

बाहिर बसेर चिसो बताससंगै तातो कफी पिउदै थियौ। बिहानको भोकले बटौली बजारको जेरी पुरी र तरकारीको झल्झली सम्झनाले सताएको थियो तर मुख रसाउनु बाहेक विकल्प थिएन । मेनुमा खासै रुचि गएन कफी मै चित्त बुझाउनु पर्यो । कफीको लामो सुरुप तान्दै आदर्श दाईले भने ” भाई यस्ता डाडा काडा त हाम्रो देशमा गाऊ पिच्छे छन् , तिनिको यसरी नै बिकाश गर्न पाए ।” मैले पनि हो मा हो थपिदिए।

**********
“एस क्युज मि ! विल यु हेल्प मि टु टेक फोटो ” मुसुक्क हास्दै छेवैमा रहेकी सुन्दर युवतीले फोटो खिचिदिन आग्रह गरिन। मैले हुन्छ भनिदिए । उनीले एउटा युबक तिर ईशारा गर्दै खै कुन भाषामा बोलाउदै थिईन । मख्ख पर्दै फोटो हेर्दै गए।

आदर्श दाईले भने ” कुनै दिन उसले पनि हिलपार्कमा यसरी नै फोटो खिचाएकी थिई ” । मैले तुरुन्तै जवाफ फर्काइ हाले ” को उसले दाई?”। भाबुक हुदै भने ” छ एउटा फरक मेरो जिबनको कथाकी पात्र” । मैले झर्किदै भने ” यो घुमाएर बोलेको बुझिन सिधा सिधा भन बुढा कुरा के हो? ” ।

जिबनको यो यात्रामा धेरै पात्रहरुसंग भेट हुदो रहेछ , धेरै त यो स्मृति बाट पनि हराए तर ऊ अहिले पनि मनमा छे । कुनै दिन भनौला भाई समय भएको बेला ।” जवाफ खासै चित्त बुझ्दो आएन तर मनमा उत्सुकता बढ्दो थियो । ” ह्या दाई ! भन्नुस न , यो आधिकिल्टो कुरा गरेर नछोडनुस न !” उनि पनि उत्साहित हुदै भने ” सुन्ने हो त पक्का ? दिन जाला नि यतै ?” फरक पर्दैन मैले जवाफ दिए ।
………..
खल्ती बाट चुरोटको बट्टा निकाले र धुवा आकाश तिर फाल्दै भने ” तिमीलाई थाहा छ , यो चुरोटलाई जब म ओठमा च्यापेर सर्को तान्छु, मृत्युले पनि मलाई च्यापीरहेको हुन्छ।” हो यस्तै छ उसको र मेरो कथा , यस्तै चुरोट बनेर मैले उसको जिबन बर्बाद गरको छु । मेरो अगाडी यसरी लामो लामो चुरोट उनले कहिले तानेका थिएनन् , अनुहार पनि फरक देखिएको थियो प्रस्ट पीडाबोधले भरिएको ।

मैले चुपचाप सुनीरहे , उनले आफ्नो जिबनको कथा भन्दै गए। बुटवलको बहुमुखी क्याम्पसमा मास्टर्स गर्दै थिए । मेरा लागि यी माया पिरती सबै बकवास हुन् जस्तै लग्थियो । मैले रमाईलोको लागि मात्र यस्ता रिलेशन शिप गास्थिए । कुनै त हप्तादिन पनि टिक्दैन थिए। म भन्दा पनि मेरो करिज्मा बाईक देखेर पछाडी बस्ने केटिहरु धेरै नै थिए। नलुकाई भन्नु पर्दा प्रेमको साचो अर्थ नै थाहा थिएन मलाई ।

एक दिन कलेजको पिकनिक कार्यक्रम थियो त्यसमा हाम्रो ब्याचको अरु कक्षाका साथीहरु पनि आएका थिए। सिद्धार्थ राज मार्ग हुदै पाल्पाको श्रीनगरको लागि हुइकिएको बस जोरधारामा रोकियो । सबै साथीहरुले चिया खाए हामी भने बिहानै चिसो छयांग खायौ र मात्दै बसको लास्ट सिटमा बसेर जिस्कदै जादै थियौ । यति कैमा साथीहरु ट्रुथ कि डेयर भन्ने गेम खेल्दै थिए मेरो पालो आयो मैले डेयर भन्दिए ।

साथीहरुले अगाडीको पहिलो सीटमा रहेको केटिलाई गएर “आई लभ यू ” भन भन्दिए । छयांगको जोश तातो नै थियो मैले अगाडीको सिटमा गएर पुषको जाडो छोड्न बाक्लो गल्बन्धि भिरेकी उनिलाई बोलाए । गीत सुनेर बसेकी रहिछन ईयरफोन निकाल्दै मधुरो स्वरमा भनि ” हजुर के भयो भन्नुस “? “। मैले सिधै ” आई लभ यू भने ” पछाडी बाट साथीहरु गलल हासे। उनि जुरुक्क उठिन र जंगिदै भनिन ” मित्र , सोम रस निकै चढे जस्तो छ , रक्सिको नाशा र तिम्रो बाईक वाला प्रेम धेरै नै चर्चा छ कलेज भरी तर म तिमीले सोचे जस्तो केटि होइन “। उसले जोसिलो पाराले खाउला जसरी मलाई हप्काउदा मेरा साथीहरुले पछाडी तानेर लगे। उसको क्रोधितपनले मेरो छ्यांगको नशा पनि उत्रिएको थियो।

गाडी पाल्पा तानसेन तिर चिसो सिरेठो खादै हुईकदै थियो मलाई भने मन भित्र पोलीरहेको थियो । ” म तिमीले सोचे जस्तो केटी होइन” यो वाक्य मनमा नमिठो गरि पसेको थियो। सबैले पिकनिक स्थलमा पुगेर रमाईलो गरिरहेका थिए तर म साथीहरुसंग एउटा कुनामा बसीरहेको थिए। मलाई अगि हप्काउने केटी मैले कहिले पनि देखेको थिएन। हुन त म कलेज गए पनि गेट भित्र बिरलै पस्थे त्यसैले पनि होला । ” त्यो केटी को होलि ? के हो त्यसको नाम “? यस्तै प्रश्नहरु मनमा खेलीरहेका थिए । साईडमा रहेको राघवलाई त्यो केटी तिर देखाउदै सोधे ” ओए ! त्यो केटीलाई चिनछस? “, “हा हा ! तलाई थर्काउने केटी , कसले चिन्दैन त्यसलाई कलेजमा ? ” उसले थप्दै गयो ” हाम्रो कलेज कि नेता हो , क्रान्ति ” । नाम नै कफी रहिछ , मैले पनि हास्दै कुरा टारदिए।
………
अर्को कफी खानी ? बीच मै कथा रोकेर आदर्शदाईले मलाई सोधे “हुन्छ दाई ! खाईदिऊ “। त्यति कैमा आदर्श दाईको फोनमा घन्टी बज्यो ” छोरु म बाहिर छु छिटै आउछु है ममीलाई दुख नदिनु है ” सानी छोरीको फोन रहेछ भनेर ठमम्याउन मलाई गार्हो भएन। छोरीले दुख दिई भने प्राय भाउजुले आदर्श दाई लाई फोन गर्ने गर्नु हुन्छ , छोरी पनि बाबु कि आज्ञाकारी छ । फोन राखेर हास्दै भने ” यो सन्तानको माया पनि अजिबको हुदो रहेछ, यसरी नै यसको प्रिय बनिरहन सकु “। “यो शनिबार त छोरीले जन्म दिन होइन ? भाउजुले मलाई बिदा मिलाउन भन्नु भएको छ ! ” मेरो यो कुरा सुन्दा आदर्श दाईले अर्को लामो सर्को तान्दै भने ” यो पनि यस्तो दिनमा जन्मेकि छ कि मलाई त्यहि क्रान्तिको सम्झना गराउछे “। “दाईलाई आएको फोनले पनि चलचित्र हेर्दाहेर्दै बिज्ञापन आए जस्तो भएको थियो ल अब अरु कथा सुनु न त ” मैले उत्साहित हुदै भने । “क्रान्तिको मृत्यु भएको दिन र छोरीको जन्म भएको दिन एउटै हो त्यसैले पनि मलाई उसको हरेक जन्म दिन खुसि र पिडा दुवैले पछाई रहेको हुन्छ। दाईले बीच मै कथा धेरै अगाडी पुराई सकेका थिए , कलेज बाट भागेर सिनेमा हेर्न जादा आधा छुटे जस्तो , मैले रोक्दै बीचमा भने ” दाई पाल्पा पछि के भयो ? ”

हरेकको जिबनमा विभन्न घटनाले भोरिएका हुन्छन तर केहि मात्र घटनाहरु सधै मनमा आउने गर्छन। पिकनि बाट फर्किए पछि मलाई क्रान्तिको कुराले सार्है चित्त दुखेको थियो। एउटा मैले उसलाई रक्सिको मातमा सबैमाझ  त्यसो भन्न नहुने अर्को उसले मलाई बाईक वाला प्रेम भनेर भनेकी थिई। मलाई जिबनमा मन भित्र बाट यसरी आत्मगलानी अहिले सम्म भएको थिएन ।जब मैले आफ्नो अनुहार एनामा हेर्थिए आफैले आफैलाई गिजाईरहेको जस्तो भान हुन्थियो।

त्यसै रात राघवलाई फोन गरेर सोधे ” क्रान्तिको नम्बर छ त् संग” उसले आफुसंग नभएको बतायो र मलाई उल्टै सम्झाउदै भन्यो ” हेर केटा केहि लफडा नगर है , त्यो अरु जस्तो केटी होइन , खतरा नेता हो अहिलेको , केहि गरिस भने फस्लास नि !” , मैले उसलाई सबै कुरा सुनाए – मैले माफी माग्न नम्बर खोजेको।” उसले पनि खुसि हुदै ” ठिक गरिस , त्यसो भए म कहिँ बाट पत्ता लगाएर तलाई म्यासेज गर्दिन्छु ” भन्दै आश्वासन दियो । केहि मिनेटमै उसले क्रान्तिको नम्बर पठायो ।

मैले छिटो छिटो संदेश लेखे ‘ म आदर्श , आज बसमा जे गरे त्यसको लागि माफी चहानछु अन्यथा नलिनु होला मैले आज देखि कोहि केटीलाई जिस्काउने छैन ” । घडी हेर्दा १२:१२ भएको रहेछ मनमा डर लाग्न लगायो ” कस्तो अशुभ समयमा पठाए छु फेरी राति म्यासेज पठाएर गालि खाने हो कि ?

केहि समय मै मोबाईलले बत्ति बाल्दै टिंग टिंग घण्टी बजायो  म्यासेजमा लेखिएको थियो ” मलाई थाहा छैन आदर्श जी तपाईले मन बाट लेख्नु भएको छ वा दिमाग बाट तर तपाई जस्ता धेरै युवाहरुले यसरी नै आफ्नो जिबनको बाटो हराई रहेका छन् आशा छ तपाई जहाँ हराउनु भएको थियो अब बाटो पनि भेट्नु हुदैछ” कुनै दार्शनिकले लेखे जस्तो कुरा मैले खासै बुझिन भन्न के खोजेको हो भनेर। अर्को म्यासेज मैले पनि लेखे ” मलाई त यति राति म्यासेज पठाउन डर लागेको थियो सुत्नु भएको होला भनेर ” धेरै केहि लेखिन उता बाट पनि रिप्लाई आई हाल्यो ” एलेक्सजेन्डरको द फेड्रलिस्ट पेपर पढ्दै थिए अब सकिन लाग्यो अब सुत्ने हो ” ।

************************
बिहानै उठेर कलेज पुगे, खै त्यो दिन म अरु दिन भन्दा फरक अनुभिती गरेको थिए। साच्ची भन्नु पर्दा मलाई क्रान्तिसंग फेरी भेट्नु थियो । मनलाई सोधे ” किन भेट्ने क्रान्तिलाई?” कुनै उतर थिएन तर एक्लै मुस्कुराएको थिए । यसै गर्दै बिरलै कलेज जाने मान्छे नियमति रुपमा म कलेजमा उपस्थिति हुन लागे। उसले दिने हरेक भासण , उसको शैली बाट म दिन प्रति दिन नजिक भईरहेको थिए। क्रान्ति पनि मेरो एउटा असल साथी भएकी थिई । तर मैले उसलाई असल साथी भन्दा माथि नै सोची सकेको थिए । हरेक दिन भेटघाट, म्यासेज, कुराकानी बाक्लिदै जादा ऊ पनि नजिक हुदै थिई। मैले फोन , म्यासेज गरिन भने फोन गर्थी र भन्थी ” हेल्लो ! हिरो कता हरायौ आज ? ” सम्झिदा पनि सम्झिएनौ । लग्थियो , बिस्तारै म पनि उसको हरेक दिनको आदत बन्दै थिए ।

एक दिन यस्तै चिसो थियो बटौली बजारको मौसम। क्रान्ति कार्यक्रममा गएर ढिला फर्किन्छु भन्दै थिई। मैले उसको म्यासेज पर्खेर बसीरहेको थिए । रतिको ११ बजे तिर म्यासेज आयो ” हेल्लो हिरो ! आई यम सरि , कार्यक्रम ढिलासम्म भयो ” उसको ब्यस्त दैनिकीसंग म परिचिति थिए । हामी दिन भरिका कुराहरु आदान प्रदान गर्दै थियौ। खै कुन सुर आयो मैले सोधे ” तिम्रो प्रेमी छैन ?” छ त उता बाट हासोको इमोसंगै म्यासेज आयो । मेरो मुटुको धड्कन बढ्दै थियो , जसलाई म आफु भन्दा प्रेम गर्न थालेको थिए उसको प्रेमी छ भन्ने खबरले मेरो मन उथलपुथल भएको थियो। तै पनि केहि नभए जस्तै गरि उसलाई भने ” अहिले सम्म हामीलाई चिनजान गराएनौ त ?

साथीका केहि कुरा त तिमीले पनि खोज्नु पर्यो नि होइन र ? उता बाट उल्टै प्रश्न आयो । उत्तर केहि थिएन तै पनि सोधे ” हामी पनि चिनौ न त त्यो भाग्यमानी मान्छे ” । के भाग्यमानी हुनु बिचार अभागी छ , कलेजमा हिटलर दिदीको परिचय पाएकी मलाई समाल्नु उसलाई के सहज होला र । उसको जवाफहरुले मलाई झन् झन् सशंकित गराउदै थियो। मैले कर गर्दै भने ” ह्या ! बहाना नगराई भन न को हो ?” उता बाट जवाफ आयो ” तिमी , होइन र ? ” ऊ जिस्किरहेकी थिई । उसको कुरा फुत्काउन गार्हो पर्यो मलाई मैले पनि जिस्किदै लेखे ” तिमीलाई उसो भए बुढी भन्छु है त ?”
“सिन्दुर हाल अनि बुढी भनौला नि आट छ हिरो ? ”
“कहिले गर्ने बिहे भन न म त तयार छु”- मैले भने ।उसो भए भोलि पण्डित जीकोमा साहित् जुराउन जाउला अहिलेलाई म सुत्छु भोलि बिहानै कलेजको सरस्वती पुजाको तयारी गर्नु छ तिमी नि आऊ उतै भेटौला । उसले मलाई जिस्काएको भए पनि मन फुरुङ्ग भएको थियो ।

उसले फेरी म्यासेज पठाई ” ओए हेरो , मलाई भोलि लिफ्ट दिन सक्छौ ? बिहानै माइक्रो बस चल्दैन ” । मैले हुन्छ भने ” ल ल अल्छि भोलि छिट्टै उठ्ने भयो सुत अब ” । भोलि पल्ट बिहानै “उसलाई मेरो बाईक पछाडी राखेर कलेज तिर जादै गर्दा उसले भनि ‘ ओए हेरो ! सिन्दूर हाल्ने होइन त ?’  के मजाक गरेको तिमी पनि मैले जवाफ फर्काई हाले। बरु भन तिम्रो प्रेमी को हो ?उसले फेरी हास्दै भनि ” तिमी । सेतो कुर्ता सुरवालमा सजिएर चिटिक्क परेर आएकी उसलाई फेरी सोधे ” सच्चि हो त ?” मुस्कुराउदै जवाफ फर्काइ” किन बिश्वास लाग्दैन कि तिम्रो अर्कै प्रेमिका छ बाईक वाली ?”
उसले मलाई भरिएको मनलाई पोख्न सहज बातावरण गराई दिएकी थिई। क्रान्ति , म लामो समय देखि तिमीसंग प्रेममा छु तर भन्न सकेको थिएन। “कस्तो लजाएर प्रपोज गरेको , एक दुई वटा फ्लिम डाईलग पनि मिसाएर भन न् “- ऊ हरेक कुरामा मलाई जिस्काई रहेकी थिई।

म केहि नबोले पछि उसले नै थप्दै गई ” मलाई थाहा छ हिरो तिमी मलाई माया गर्छौ र म पनि तिमीलाई माया गर्छु ।त्यस दिन देखि हामी अफिसयिली प्रेमी जोडी भएका थियौ । उसको बिधार्थी राजनीति पनि देशै भरि चर्चित हुदै थियो । ऊ नेता र प्रेमिकामा धेरै फरक थिई । समयसंगै हाम्रा तन मन सबै एक अर्का प्रति समर्पित गरेका थियौ  । उसले नै मलाई एउटा अल्लारे केटा बाट असल व्यक्ति गराई।

***********

नेपालमा गृह युद्धले तातेको थियो। नेपालीहरुले नेपालीलाई मारिरहेका थिए । देख्दा बिरक्त लगारे आउथियो। जति नै आवारा भए पनि बन्दुकको नाल बाट क्रान्ति हुन्छ भन्ने पक्षमा थिएन । मेरा कयौ साथीहरु जंगल पसी सकेका थिए। घरमा तत्कालिन बिद्रोही बाट लाखौको चन्दाको लागि चिठ्ठी आउने क्रम जारी थियो त्यसैले पनि बुवा आमले राजधानी बसाई सार्नु भएको थियो । म पनि बुवा आमसंगै बुटवल बाट काठमाडौँ सरे । उता क्रान्ति बुटवल मै थिई । भेटघाट हुन सम्भव थिएन फोन पनि पातलिदै गएको थियो। उसले भने मलाई दिन प्रति दिन धेरै माया गर्दै गहिरही । मैले अस्ट्रेलियाको आउनको लागि प्रक्रिया अगाडी बढाएको थिए । क्रान्ति यो कुराको अनविज्ञ थिई । एक्कासी अस्ट्रेलियाको भिसा लाग्यो र म यता आए । घरमा बाहेक कसैले पत्तो पाएन्न म यता आएको । अस्ट्रेलिया आए पछि क्रान्तिसंगको सम्पर्क पूर्ण रुपमा टुटीसकेको थियो। म आफ्नै दुनियामा रमाई रहेको थिए।

***************

करिब ८ वर्ष पछि म नेपाल फर्किए। गृह युद्ध सकिएको थियो। जंगल बाट क्रान्ति गर्नेहरु संसदमा आईसकेका थिए । जति नै क्रान्ति भने पनि देशको अवस्था र व्यवस्था उस्तै थियो । कुनै आशाको संचार थिएन आम जनतामा । तै पनि आशाको त्यान्द्रो लिएर बाचीरहेको थियो मेरो देश । काठमाडौँमा पारिवारिक भेटघाट गरेर म बुटवल तिर लागे। हाम्रो ब्याचको धेरै साथीहरु म जस्तै विदेश पलायन भएछन् । केहि साथीहरु व्यवसाय गर्दै थिए भने कोहि जग्गाको कारोबार गरेर रात रात पैसा कमाउदै थिए। अस्ट्रेलिया गए पछि क्रान्तिसंग सम्पर्क टुटेको थियो तै पनि उसको यादले बेला बेला सताउने गर्थियो। मैले उसलाई सम्पर्क गर्न पनि खासै कोशिस गरिन समयले मलाई छोडेर धेरै अगाडी गएको थियो। तै पनि नेपाल आउने बित्तिकै उसलाई फोन गरे उसको फोन स्विच अफ थियो। राघव नेपालमै थियो उसलाई भेट्न उसको घर गए मस्तले घरजम गरेर बसेको रैछ ।

उसको घर पुग्ने बित्तिकै उसले भन्यो ” ओहो! म सपनामा कि बिपनामा ? धेरै कुरा परिवर्तन भए पनि उसको मजाक गर्ने बानि भने छुटेको रहेनछ । बिवाह गरेर घरजम गरेर बसेको रहेछ भाउजुसंग परिचय गरायो । केहि मिठा गफहरु हुदै गर्दा बीचमा भन्यो ” बिहे गर्छस मेरो साली नि छ “। मैले पनि मुखै फोरेर भनिदिए ” कान्छी श्रीमती बन्न तयारी छिन् त ?” तैले बिहे गरि सकिस खै त हामीलाई निम्तो ? हास्दै भने ” गरेको छैन गर्दै छु , यहि असोज २२ गते गर्दै छु निम्तो दिन आएको ” ।

पुराना साथीभाईको कुराकानी हुदै थियो उसले नै जोड्यो ” त सार्है छुपारुस्तम रहेछस हामीलाई सबैकुरा लुकाएको रहेछस । तलाई पनि केहि कुरा लुकाएको छु त यार मैले ? जवाफ दिए । सबै थाहा पायौ ” क्रान्ति र तेरो प्रेम कथा , उसको मृत्यु भएरै त येत्रो वर्ष नेपाल फर्कन सकेनस होइन ” । क्रान्तिको मृत्यु के भनछस ? चिटचिट पसिना पुस्दै मैले भने ? साच्ची थाहा छैन तलाई उसको मृत्यु ? उसको मृत्युको खबरले मेरो दिमाग नै भारि भएर आएको थियो। तत्कालिन बिद्रोहीहरुले सुराकी गरेको आरोपमा उसलाई मारेका रहेछन – राघवले मलाई बतायो । क्रान्तिको राजनीतिक जिबनले गर्दा पनि हामीले हाम्रो प्रेम लुकाएका थियौ। क्रान्तिको मृत्यु पछि मात्र नजिकका साथीहरुले थाहा पाएका रहेछन ।

……
क्रान्तिको घर पुगे । घरको अगाडी बुढा बुवाले झार गोड्दै हुनुहुन्थियो। बुवा नमस्कार , नजिकै पुगेर मैले सम्बोधन गरे। “नमस्कार , बाबुलाई चिन्न सकिन नि? ” म तिर नजिकै आउदै उहाले भन्नु भयो। बुवा म क्रान्तिको साथी ! क्रान्तिको नाम सुन्ने बितिक्कै बुवाको आखा रसाएर आए , मनिलो अनुहार गराउदै भन्नु भयो ” के कति कामले पाल्नु भयो कुन्नि ?”। बुवा चिया खान आउनु , घरको माथिल्लो ताला बाट आवाज आयो। माथि हेरे क्रान्ति जस्तै आकृति भएकी उसकी बहिनि बुवालाई बोलाउदै थिई । काम त खासै थिएन बुवा तपाईहरुलाई भेटौ भनेर आएको।” जाउ बाबु माथि नै गएर कुरा गरौला “, बुवाले आग्रह गर्नु भयो । माथि पुग्ने बितिकै क्रान्ति कि बहिनि ललिताले भनि ” तपाई आदर्श दाई होइन ? हो , तिमी त ठुली भैछौ । एक दुई चोटी क्रान्तिलाई छोड्न जादा ललितालाई भेटेको थिए तर पनि उसले ठमाइ हाली । बुवासंग क्रान्ति कै कुरा भए । उसको मृत्यु पछि आम पनि उसकै पिरलोले बित्नु भएछ । घरमा ललित र बुवा मात्र ।” सबै कि प्यारी थिई , राम्रा मान्छे लाई दैबले कहाँ राख्दो रहेछ र बाबु ।” केहि बेरको गफगाफ पछि बुवाले “टोल सुधार समितिको बैठक छ बाबु खान खाएर जानु पर्छ बस्दै गर्नुस म आउछु ” भन्दै मिटिंग तिर लाग्नु भयो ।

मलाई त्यहाँ बस्न गार्हो लागेको थियो तै पनि ललिताको करले बसे । बुवा गए पछि ललिताले भनि ” तपाईलाई दिदिले हरेक दिन सम्झंथी “। मलाई केहि थाहा नभए जस्तो गरि मैले उसलाई भने ” कसरी”? दिदि र म एउटै कोठामा सुत्थियौ । तपाईहरु काठमाडौँ सरे पछि उसले हरेक दिन डायरी लेख्थी । त्यस पछि तपाई बीचमा गायब हुनु भयो तपाईलाई सम्झेर रुन्थी , उसले लेखेका धेरै डायरीहरु छन्। त्यस पछि उसले लेखेका हरेक डायरीहरु पढे । एक दिन सके भने किताब लेख्ने छु ।
…..
दाई, अझै पनि सम्झना आउछ उसको ? टिलपिल टिलपिल आँसु पार्दै थिए , बीचमै कहानीमा ब्रेक थपिदिए मैले । उनले थप्दै भने ” क्रान्तिको डायरीको एउटा लाईन जसले मलाई झस्काई रहन्छ ” जिबनको अन्तिम समय आएछ भने पनि म दौडिदै तिमी भए माझ आउने छु र तिमीलाई अंगालेर लामो समय बिताउने छु “। उसले मलाई उसको जिबनको क्यानभासमा सझाएर राखेकी थिई, जहाँ मैले रंग भर्न सकिन , उसले कोरेका ति रेखाहरुले मलाई तर्साइ रहन्छ। अपुरो एउटा क्यानभासको चित्र छोडेर गएकी छ।न त पुरा नै गर्न सके न त रंग भर्न नै ।