स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत



काठमाडौं- स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले सबैभन्दा बढी मत पाएको हो।

निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत पाएको छ। यो कुल मतको ३४.२८ प्रतिशत हो।

कांग्रेसपछि एमालेले सबैभन्दा बढी वडाध्यक्षमा मत पाएको छ। आयोगको तथ्यांकअनुसार एमालेले ३८ लाख ११ हजार ६०२ मत प्राप्त गरेको छ। यो कुल मतको ३३.०३ प्रतिशत हो।

माओवादी केन्द्रले भने एमालेले प्राप्त गरेको मतभन्दा आधा मत पाउन नसकेको आयोगको तथ्यांकले देखाउँछ।

माओवादी केन्द्रले कुल मतको १३.०३ प्रतिशतसहित १५ लाख ३ हजार २४७ मत प्राप्त गरेको छ।

त्यस्तै एमालेबाट अलग भएर गठन भएको नेकपा(एकीकृत समाजवादी) भन्दा बढी मत जनता समाजवादी पार्टी(जसपा) ले प्राप्त गरेको छ।

जसपाले ५ लाख ७७ हजार ३८० मत पाउँदा एकीकृत समाजवादीले भने ४ लाख २२ हजार ७३७ मत प्राप्त गरेको छ।

आयोगको तथ्यांकअनुसार जसपाले ५ प्रतिशत मत प्राप्त गर्दा एकीकृत समाजवादीले ३.६६ प्रतिशत ल्याएको छ।

वडाध्यक्षमा कांग्रेसले सबैभन्दा बढी मत ल्याउँदा मेयर पदमा भने एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

कांग्रेसले मेयर पदमा २२ लाख ७९ हजार ३६३ मत प्राप्त गर्दा एमालेले २३ लाख ४८ हजार ७०९ मत पाएको छ।

कांग्रेसले कुल मतको ३३.५६ र एमालेले ३४.५८ प्रतिशत मत प्राप्त गरेको छ।