पूर्व सांसद पुरन रानाथारुसहित नेकपा माओवादी केन्द्रका तीन प्रभावशाली नेता कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्व सांसद पुरन रानाथारुसहित नेकपा माओवादी केन्द्रका तीन प्रभावशाली नेता कांग्रेसमा प्रवेश



काठमाडौं, २७ साउन ।

पूर्व सांसद पुरन रानाथारुसहित नेकपा माओवादी केन्द्रका तीन प्रभावशाली जिल्लास्तरीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा माओवादी केन्द्रका पूर्व सांसद राना, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा २०७० को निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ मा माओवादी केन्द्रतर्फका उम्मेदवार अमीन दहित (सूर्य) र जिल्ला सचिवालय सदस्य छंगा राना रहेका छन् ।

उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटारमै स्वागत गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चपुर क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद एनपी साउँद, कांग्रेस कृष्णपुर नगरपालिकाका प्रभावशाली नेता बलराम पन्तको पहलमा माओवादी नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरु कांग्रेसमा आएसँगै केही दिनमा कार्यकर्ताहरु पनि पार्टी प्रवेशको तयारीमा रहेको बताइन्छ । उनीहरुलाई कृष्णपुरमै औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरिने कृष्णपुरका कांग्रेसी नेता बलराम पन्तले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको हातबाट टिका लगाई पार्टी गरेका तीनै जनाले नेपालमा भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सक्षम, सबल पार्टी नेपाली कांग्रेसमात्रै भएकोले आफूहरुले कांग्रेसलाई रोजेको प्रतिक्रिया दिएका छन् ।