कोरोना संक्रमण : गम्भीर प्रकृतिका बिरामी ह्वात्तै बढे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोना संक्रमण : गम्भीर प्रकृतिका बिरामी ह्वात्तै बढे



काठमाडौं- सरकारले कोरोना परीक्षणको दायरा घटाएपछि संक्रमित देखिने क्रम पनि घटेको छ।

८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमित पनि घटेका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै परीक्षण ५ देखि ११ असारसम्मको एक साताको अवधिमा भएको थियो । त्यो साता ४४ हजार तीन सय १९ नमुना परीक्षण भएका थिए, जसमा तीन हजार दुई सय सात संक्रमित देखिए।

त्यसको अर्को साता १२ देखि १८ असारसम्म ३८ हजार २० नमुना परीक्षण गर्दा तीन हजार तीन सय ५७ संक्रमित देखिएका थिए । ८ जेठदेखि १५ साउनसम्मको अवधिमा धेरै संक्रमित देखिएको त्यही साता हो।

१२ असारयता सरकारले परीक्षणको दायरा घटाउँदै ल्याएको छ । २ देखि ८ साउनसम्मको सातामा पुग्दा २७ हजार दुई सय १७ नमुना मात्रै परीक्षण गरिए, जसमा आठ सय ९७ संक्रमित देखिए । ९ देखि १५ साउनसम्मको पछिल्लो सातामा परीक्षणको दायरा बढाएर ३३ हजार एक सय २६ पुर्‍याउँदा संक्रमित देखिने क्रम पनि बढेको छ । यो साता एक हजार तीन सय ६ संक्रमित देखिएका छन् ।

पछिल्लो समय संक्रमणबाट दैनिकजसो मृत्यु हुन थालेको छ । सघन उपचार कक्ष आइसियूमा भर्ना हुने गम्भीर संक्रमितको संख्या पनि बढेको छ । बिहीबारसम्म देशभर संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको छ । ५२ जनाको मृत्यु भएको छ । २६ संक्रमित आइसियूमा उपचाररत छन् । संक्रमितहरू यति धेरै संख्यामा आइसियूमा भर्ना भएको यो पहिलोपटक हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नौजना, नारायणी अस्पताल वीरगन्जमा पाँच, लुम्बिनी प्रादेशिक अस्पतालमा तीन, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपालगन्ज मेडिकल कलेजमा दुई–दुई तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक–एक संक्रमित आइसियूमा उपचाररत छन्।

यसमध्ये लुम्बिनीमा एकजना भेन्टिलेटरमा राखिएका छन् । टेकु अस्पतालमा पनि एकजनालाई अक्सिजन (सिप्याप) दिएर राखिएको निर्देशक डा.सागर राजभण्डारीले बताए ।

आइसियूमा भर्ना भएका अधिकांश संक्रमित दीर्घरोगी छन् । यस्ता बिरामीमा चाँडै श्वास–प्रश्वासको समस्या देखिने हुँदा आइसियूमा जाने संक्रमितको दर बढ्न थालेको मन्त्रालयले जनाएको छ । चिकित्सकहरूले लकडाउन खुलेपछि संक्रमण समुदायस्तरमा पुग्दा दीर्घरोगीहरू प्रभावित भएको बताएका छन् ।