दाईहरूको संगत नगर्न कार्यकर्तालाई गगन थापाको आग्रह - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दाईहरूको संगत नगर्न कार्यकर्तालाई गगन थापाको आग्रह



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनु आवश्यक रहेको बताएका हुन् ।

उनले काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाइहरूको साथ छोड्न आग्रह गरे । उनले भने, ‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीनवटा कुराबाट ऊ आजित छ । पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ । पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ । कुशासन, बेथिति, भ्रष्टाचार छ । नेपाली काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्यो भने यो पार्टीको घर भरिन्छ । नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । काँग्रेस कमजोर हुने कुरै छैन । यो पार्टीको पुनर्निर्माण सम्भव छ । हामी बनाउने हो यसलाई ।’

उनले थपे, ‘तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्ने छ । उसले हाम्रो अनुहार देख्दै गर्दा हामीलाई हेरेर भविष्यप्रति आश्वस्त होस् न । मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा काँग्रेसमा दुईवटा गुट छ भन्ने बनाऊँ । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाइ, त्यो दाइ सबै छोडिदिनुहोस् । हिजो को दाइसँग को लाग्यो सब बिर्सौँ अब । हिजो एउटा अवस्था थियो । अब काँग्रेसभित्र काँग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाइहरू रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट । जो दाइसँग लाग्छ दाइसँगै जाने । जो आउँछ त्यो सँगसँगै जाने । गर्दै जाने, काम गर्दै जाने । यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो । पार्टी बचाउने हो ।’

महामन्त्री थापाले नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरूबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यी तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।