देउसी ! « Himal Post | Online News Revolution
Logo

देउसी !



-रमेश पाण्डे

ओई गोले यसपालि देउसी खेल्न को-को जाने लु सल्लाह गरौँ है । पोहोर साल धेरै जना भएर पैसा थोरै फाँटमा परो यसपालि त तिन जना मात्र जानुपर्छ।चार जना गएपनि तिन जना गएपनि पैसा दिने त्यतिनै हुन तिनजना भैयो भने राम्रो हुन्छ पैसा धेरै फाँटमा पर्छ।मसिनेको कुरामा सहमति जनाउदै गोलेले भन्यो त्यसै गरौँ तिनजना मात्र जाऔ अर्को एक जना कस्लाई लाने?एक छिन सोचेर गोले ले भन्यो बिर्खेलाई लानुपर्छ त्यसले भट्याउन पनि जानेको छ,पोहोर साल बिर्खेले धेरै राम्रो भट्याको थियो ठुलाघरेकामा ५ रुपैयाँ दिएका थिए,बसन्ते लाई नलगौ भट्याउन पनि जान्दैन पैसा फाँट गर्दा धेरै ल्याङ ल्याङ गर्छ।बरु जाँउ बिर्खेकोमा सल्लाह गर्न त्यसले के भन्छ कि यसपालि हामी सँग जादैन की नजाने भनेछ भने बसन्तेलाई लानुपर्छ।

गोले र मसिने बिर्खेकामा जान्छन बिर्खेले पनि सहमति जनाउछ तिनैजनाको सल्लाह बमोजिम गोरु तिहारको दिन बिहान ७ बजे तिनकुनेको लिङ्गे पिंङमा सबै भेलाहुने कुरा हुन्छ।त्यसपछि देउसी खेल्न जादाका नियम कानुनहरू बनाउन थाल्छन।कसले भट्याउने,भट्याउनेलाई के कति बढी दिने,उठेको पैसा कसले बोक्ने,हिसाब कसले राख्ने,सिदामा आएको चामल कसले बोक्ने,झोला कसकोबाट लाने,उठेको पैसा कसरी बाढ्ने,चामल बेचेर एकमुष्ट बनाएर बाड्ने की पैसा चैँ बाडीहाल्ने या चामल भागलगाएर बाड्ने?तिनै जना कानुनविद हरूको देउसी नियम माथि छलफल सुरु हुन्छ।

बुदा नं. १ – कसले भट्याउने ? भट्याउनेलाई कति बढी दिने  ?

तिमीहरु  भन्दा म राम्रो भट्याउछु त्यसैले यो काम मेरो जिम्मा भयो बिर्खेले भन्यो ।

भट्याईस तैले २/४ घर भट्याएर हुन्छ दिनभरि भट्याउनु पर्‍यो बरु यसो गरौँ तिनै जनाले बराबरी भट्याउ कसैलाई बढी दिनु पनि पर्दैन झेलि पनि हुँदैन मसिनेले प्रस्ताव राख्यो।

गोलेले भन्यो हुन्छ त्यसै गरौँ सबैले बराबरी भट्याउ एक घर बिर्खे एक घर मसिने र एक घर म त्यसपछि फेरी बिर्खे बाट सुरु यसरी नि दिनभरि पालैपालो भट्याउने।

भोलि,ल..!बिर्खे यो घरमा चैँ तैले भट्या भन्न पाउदैनौ जसको पालो पर्छ त्यसले भट्याउने पैसा बढी नपाउने भए पछि मैले किन धेरै घर भट्याउनु ऐले कुरा फाईनल होस बिर्खेले क्लियर डिसिजन खोज्यो।हुन्छ हुन्छ सबै मिलेर भट्याउला ल अब अर्को नियम सुरु गरौँ मसिनेले पहिलो बुदा टुङ्ग्यायो।

बुदा नं. २ – पैसा कसले बोक्ने ? हर हिसाब कसले राख्ने ?

पैसा बोक्ने काम म गर्छु,पोहोर साल बिर्खेले बोक्दा दुई रुपैयाँ अपुग भएको थियो।यसपालि हिसाब चैँ बिर्खेले राखेस चामल मसिनेले बोक्छ गोले बोल्यो। तिमीहरुको  नोकर हु म चामल बोक्ने!सबैले बोक्नु पर्छ बरु पैसा चैँ म बोक्छु ३ वर्ष भयो सरासर तिमेरूले बोकेको यसपालि म बोक्छु मसिने ले पैसा बोक्ने इच्छा जाहेर गर्‍यो।सबै म बोक्ने म बोक्ने भन्छौ बरु कसैले पनि नबोकौ चामल पैसा सबै झोलामै हाल्ने पछि एकै पटक निकाल्ने बिर्खेले समाधानको बाटो देखायो।

त्यसरी हुँदैन पैसा त गोजिमै बोक्न पर्छ झोलामा हराउन सक्छ गोलेले पैसा बोक्ने चाहना नतुइयोस भनेर अन्तिम जोर लगायो।
बिर्खेले भनेको कुरा सही हो चामल पैसा सबै झोलामा हाल्ने बरु चामलको झोला मै बोकुला,अगि सम्म चामल बोक्ने तिमेरको नोकर हु भन्ने मसिने झोला आफै बोक्ने भयो।अन्तत बिर्खेको कुरामा सहमति जनाउदै झोला मै पैसाहाल्ने तर बराबरी पालै पालो बोक्ने सर्तमा यो नियम सर्व सहमतिमा पारित भयो।

बुदा नं. ३ – उठेको पैसा कसरी बाड्ने,चामल बेच्नेकी चामलै बाड्ने?

बिर्खेले भन्यो पैसा चैँ बेलुका बाडिहाल्नु पर्छ चामल चैँ भाइ टिकाको दिन एकै पटक बेचेर बाडौला हुन्न?मसिने चिच्यायो का त्यसरी हुन्छ बेलुका बेचिहाल्ने रातभरि का राख्नु घट्यो भने,मुसाले खायो भने बरु बेच्यो आनन्दै।बेलुका कतिखेर सम्म खेलिन्छ त्यतिन्जेल पसल बन्द भईसक्छ फेरी देउसी खेलेको चामल सस्तो खोज्छन बरु चामल नै बराबरी भाग लगाएर बाडौला अनि आफुआफुले बेचौला गोलेले आफ्नो कुरा राख्यो।

त्यसरी हुँदैन चामल भाग लगाउदा थोरै हुन्छ त्यति कसले किन्छ बरु एकै ठाउँमा बेच्ने राति राख्नलाई बटारे को पसलमा नापेर राख्नु पर्छ भोलि पनि खेल्ने अनि एकैपटक बेच्ने भनेर मसिने बोल्यो।मसिनेको कुरा गोले र बिर्खेलाई ठिकै लाग्यो हुन्छको सङ्केत गरे र पैसा बेलुका बराबरी बाड्ने,चामल भोलिपल्ट बेच्ने सहमतिमा यो नियम पनि सर्व सहमतिमा पारित भयो।

यति नियम बनाईसके पछि तिनै जना अगि भने बमोजिम तिनकुनेको लिंङ्गे पिंङमा भोलि बिहान भेलाहुने सहमति सहित छुट्टिन्छन।
गोले,मसिने र बिर्खे रात भरी निदाउन सक्दैनन उनीहरूको तन ओछ्यानमा भए पनि मन मस्तिष्क भोलि देउसी खेल्ने प्रत्येक घरमा पुगेको छ।फलानाले यति दियो अर्काले यति दियो पोहोर साल त भाग मा १८/१८ रुपैयाँ नगद फाँट आको थियो।चामलको ७/७ रुपैयाँ भाग लागेको थियो।यसपाला त बढी हुन्छ होला ३ जना मात्र छौ।फेरी पोहोर देउसी खेल्न पनि ढिला गरेर गईयो यसपाला त ७ बजेनै जाने तयारी छ २ वटा गाउँ बढी भ्याईन्छ ५०/५० त भागमा पर्नु पर्ने हो।तिनै जना अलग ओछ्यानमा भए पनि मस्तिष्कले एउटै सोचिरहेछन।

भोलिपल्छ बिहान तिनै जना भेला हुन्छन् एउटाले झोला बोकेको छ अर्कोले एउटा लाठी बोकेको छ स्कुलको ड्रेस लगाएका छन् हेर्दा लाग्छ स्कुल जान लाग्दैछन।ती तिनै जनाका यसपालि दसैँमा सिलाएका नयाँ लुगा थिए। गाउँमा दसैँमा स्कुल पढ्ने केटाकेटी लाई प्राय किनिने नयाँ लुगाको रङ्ग भनेको माथि आकाशे रङ्गको सर्ट र तल हरियो रङ्गको पाईन्ट हुन्थ्यो किनकि ती लुगा दसैका लागी मात्र नभएर विशेष स्कुल लाई फोकस गरेर किनिएको हुन्थ्यो।

केटाकेटी भेलाभएर पिंङ खेलिरहेका ठाउँमा हेर्दा लाग्थ्यो ऐले स्कुलको टिफिन समय हो र केटाकेटी खेल्नलाई निस्किएका छन्।दसैँमा किनिने नयाँ लुगा प्राय एउटै रङ्गको भएकोले होला ऐले जस्तो अभिभावक सँग फलानाको लुगा राम्रो छ मेरो राम्रो भएन या मलाई पनि त्यस्तै ल्याईदिनु जस्ता कुराको गुनासो प्राय शून्य हुन्थ्यो।गाउँभरीका साथी संगीका लुगाका रङ्ग एउटै हुनु हरेक दसैँमा आकाशे रङ्गको सर्ट र हरियो रङ्गको पाईन्टनै किन्नुमा अभिभावकको मजबुरी होला या समावेशी बनाएका होलान् त्यो उहाँहरूनै जानुन तर केटाकेटी खुसी हुन्थे।ती मध्ये गोले,मसिने र बिर्खे पनि पर्छन त्यसैले त दशैको नयाँ लुगा लाएर गमक्क छन्।देउसी खेल्न निस्केका छन्।

कुनै पनि काम गर्दा पहिलो काम(बोहोनी)राम्रो भयो भने दिनभरि राम्रो हुन्छ पहिलो काम खराब(लोदर)भयो भने दिनभरि नै काम बिग्रीन्छ भनेर पिता पुर्खादेखी भन्दै आएको चलन हो।गोले,मसिने र बिर्खेमा पनि यो नियम लाग्ने नै भयो त्यसै अनुरूप बोहोनी राम्रो गर्ने सुरमा पहिलो देउसी खेल्ने घर ठुलाघरे लाई नै रोजे जहाँ पोहोर साल पाँच रूपैयाको नयाँ नोट दिएका थिए र त्यो नै ऐलेसम्मको हाईएस्ट दान रकम थियो देउसी खेलिसकेर अर्को घरमा जाने ग्याप बाटोमा चारै जनाले त्यस नोटलाई राम्ररी हेरेका थिए सुमसुमाएका थिए,बिर्खे भने भाग्यमानी साबित भएकोको थियो किनकि पोहोर साल पैसा राख्ने जिम्मा बिर्खेले पाएको थियो त्यो कडकडिया नोट दिनभरि उसको खल्तिमा राख्न पाएको थियो।बिर्खेले खल्तिमा हात हाल्यो की धेर हात नहाल त्यो कडकडिया नोट कुचियो भने त कुचिन्छस मसिनेको चेतावनी थियो त्यो बिर्खेको लागी।

ए झिलिमिली झिलिमिली…….देउसुरे।टोलीको देउसी ठुलाघरेबाट सुरु भयो निकैबेर भट्याएपछी ठुलाघरे आमै एउटा टपरीमा सिदा बोकेर आईन तिन जना पनि काही देउसी खेल्न हिड्छन ? भन्दै सिदा राखी दिइन र भनिन ल राम्रो आशिष् देओ।

तिनै जनाको आँखा टपरीमा पर्छ,एउटा फुलको थुङ्गा दुई मुठ्ठी जति चामल बाहेक अरूकेहि पनि नदेख्दा भट्याउनेको स्वर मधुरीयो देउसिरे आवाज सुस्तायो टिनको छानो सुनको छानोवाला आशिसको मूल फुट्न सकेन तिनै जनाका अनुहार अधेरो भयो,भट्याउने बिर्खेले भन्यो ल सिदा उठा मसिने।फुलको थुङ्गा हातमा लिएर चामल झोलामा खन्याउनै लाग्दा चामल माथि टिलिक्क टल्कियो अगीको कालो अनुहारमा थोरै प्रकाश पर्‍यो मसिनेले त्यो टल्केको डलर पैसा उठाएर गोले र बिर्खेको अनुहारमा हेर्दै भन्यो आठाना रहेछ।

ठुलाघरेकामा देउसी खेलिसकेर तिनैजना मुरमुरीदै अर्को घर तिर लागे,गोलेले भन्यो पोहोर साल ठुलाघरे बाले ५ रुपैयाँ दिएका थिए यसपालि कन्जुस बुढीले आठानामा टारीन घर मात्र ठुलो कन्जुसहरूको बिहान बिहान बोहोनी बिग्रियो।मसिनेले थप्यो यस्ताको घरमा बेकार आईएछ बरु अन्तै गएको भए हुने थियो।बिर्खे जंगियो यत्रो लामो भट्याएर मुख मात्र दुखाईएछ।

आफ्नो गाउँमा पोहोर साल झैँ अन्तिममा खेल्ने सल्लाह गरेका थिए।त्यसै अनुरूप वरपरका गाउँमा दिनभरीमा खेलेर सिध्याउने राती आफ्नो गाउँ खेल्ने सुरकसेर दिनभरि देउसीमै रमाए चाराना देखी दुई रुपैयाँ सम्म दिने घर भेटाए अधिकांश घरमा तिनजना देउसी खेल्न हिड्छन भन्ने प्रश्न निकै सुनिए।तिनजना हिडेर पैसा कम दिएको आकलन तिनै जनाले लगाए।यतिखेर बसन्तेको याद निकै आयो बरु वसन्तलाई पनि ल्याको भए हुनेरहेछ गल्ती गरियो भनी तिनै जनाले स्विकारे।

देउसी खेल्दैजाने क्रममा एउटा घरमाको पुगे ए झिलिमिली झिलिमिली……..देउसुरे!यति भनिनसक्दै भित्रबाट घरबेटी आमै निस्किन र भनिन बाबु यहाँ खेल्नु हुँदैन सुतक परेको छ।मसिनेले भट्याउन छोड्यो र भन्यो हिड केटाहो यहाँ मान्छे मरेको रहेछ अर्को घरमा जाउँ।

घरबेटी आमैले नजिकै रहेको दाउराको हारबाट एउटा चिरपट निकालेर तेरीमा डाका हो,सुतक भनेको मान्छे जन्मेको हो मरेको भनेर अशुभ बोल्छौ भन्दै चार घर पर सम्म खेदिन बिर्खे,मसिने र गोले लाई भाग्दाको दास्ति भो।त्यही देखि थाहाँ पाए सुतक भनेको जन्मेको जुठो भनेको मरेको तर अहिले सम्मपनि बुझ्न नसकेको कुरा चैँ सुतक भनेको शुभ हो भने देउसी खेल्न चाही किन नभएको होला?

बेलुका लखतरान परेर घर आईपुगे देउसी खेलेर उठेका पैसा पोहोरको भन्दा कम देख्ता तिनजना मात्र गएर यस्तो भएको भन्ने निष्कर्ष निकाल्छन।यो सबै मसिनेले गर्दा भएको हो खुब तिन जनामा धेरै फाटपर्छ भनेर भनेको हैनस बसन्तेलाई पनि लगेको भए धेरै उठ्ने थियो गोले ले दोष जति मसिनेलाई लगायो।मसिने जंगियो तैले पनि त बसन्तेलाई नलग्ने भट्याउन जान्दैन भनेको होस नि के मलाई दोष लगाउछस।अब तिमेरू झगडा गरी बस जे भो भो सक्यो माहोल शान्त पार्दै बिर्खेले भन्यो भरे भात खाएर बिहान भेला भएकै ठाउँमा भेलाहुनु पर्छ राति १० बजे सम्म खेल्नु पर्छ बरु एक जना अरू खोजौ नत्र त्यो पुन्टेलाई लगौ ३ जना गयो भने त पैसा दिदैनन।

पंतिकार  परदेशी  भूमिमा हरेक वर्षको तिहारमा यिनै तिन पात्र मध्ये कैले गोले,कैले मसिने त कैले बिर्खे बनेर आफ्नो मन मस्तिष्कमा गाउँघर पाखा पखेरा सम्झेर देउसी खेल्दै आइरहेको छ।बचपनका तिहारहरू साच्चिकै सम्झनामात्रले पनि मनै रोमाञ्चित बनाउँछ।