नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बनिरहेको छ: देव गुरुङ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बनिरहेको छ: देव गुरुङ



काठमाडौँ- नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बन्ने गरेको सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । पाकिस्तानसंग सम्बन्ध बढाउन खोज्दा सधै भारत चुनौती बनेको उनको आरोप थियो ।

नेपालबाट धेरै टाढा नभए पनि पाकिस्तानसँगको सम्बन्ध तथा व्यवहारमा लागि भारत जोडिने गरेको उनको भनाइ थियो । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख सचेतक गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले भने, ‘नेपाल र पाकिस्तानको सम्बन्धमा भारत चुनौती बनेर आएको छ । नेपालमा पाकिस्तानी नागरिकको आवत जावतमा कठिनाइ पैदा हुने गरेको छ । विगतमा आतंकवादको नाममा सुरक्षा चुनौति आएका थिए । पाकिस्तान र भारतको द्वन्द्व कसरी कम हुन्छ भन्नेमा नै नेपालको पाकिस्तानसँगको सम्बन्ध निर्धारित हुने गरेको छ ।’

नेपालले पाकिस्तानसँग एक मुलुकको रूपमा सम्बन्ध राम्रो गराउँछु भनेर मात्रै नहुने गरेको गुरुङको भनाइ थियो । भारतले दक्षिण एसियामा शान्ति स्थापना गर्न र आपसी सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । भारतसँग अन्य मुलुकको सम्बन्ध जति राम्रो भयो यो क्षेत्रमा शान्ति र समृद्धि हुने र जति नराम्रो भयो अन्य क्षेत्रमा पनि प्रभाव पर्ने उनले बताए ।

भारत र पाकिस्तानको सम्बन्धमा खलल आएका कारण नै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्कृय हुनपुगेको पनि गुरुङले भने ।

पाकिस्तानका लागि आवासीय राजदूतमा प्रस्तावित तापस अधिकारीको सुनुवाइको क्रममा गुरुङले उक्त कुरा उठाएका हुन् ।

नेकपाका सांसद सुरेन्द्र पाण्डेले पनि सार्कलाई सक्रिय बनाउन भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए । भारत-पाकिस्तानबीचको तनावले सार्क निष्कृय हुनपुगेको उनको भनाइ थियो ।

पाण्डेले पाकिस्तानसँग नेपालको व्यापार घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले नेपालबाट पाकिस्तानमा सीधा उडान हुन नसक्नुले पनि यसमा भूमिका खेलेको बताए ।

प्रस्तावित राजदूत अधिकारीले सुनुवाइका क्रममा उठेका प्रश्नको जवाप दिँदै भविष्यमा आफूले यी विषयमा सकारात्मक भूमिका खेल्ने जवाफ दिए । सीधा उडानका लागि सरकारहरू तयार हुनुपर्ने र त्यसमा आफूले पहल लिने उनको भनाइ थियो । सार्क असजिलो स्थितिमा रहेको भन्दै उनले त्यसलाई क्रियाशील बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने भनाइ राखे ।

१८ औँ सार्क शिखर सम्मेलन काठमाडौंमा सन् २०१४ मा सम्पन्न भएको थियो । त्यसपछि सार्क शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको थियो । १८औँ शिखर सम्मेलनपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । जसले सार्क शिखर सम्मेलन हुन रोकिएको थियो ।

भारतले सार्क शिखर सम्मेलनमा सहभागिता नजनाउने घोषणा गरेकाले यो क्षेत्रीय संगठन निष्कृय हुन पुगेको थियो । सार्कको १९औँ शिखर सम्मेलन आयोजना गर्ने जिम्मा पाएको मुलुक पाकिस्तानका लागि प्रस्तावित राजदूतको सुनुवाइका क्रममा उक्त कुरा उठेको हो ।