धनराजको नाम आरजुले काटिन, रामहरी पनि लिस्टमा परेनन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धनराजको नाम आरजुले काटिन, रामहरी पनि लिस्टमा परेनन्



पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नेपाली कांग्रेसका मन्त्रीहरूको नाम फाइनल भएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा मन्त्री बन्नेहरूको लाइन लागेपछि पछिल्लो समय सभापति शेरबहादुर देउवा दवावमा परेका थिए ।

कांग्रेसमा सभापति देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेक सबै मन्त्री बन्ने दौडमा छन् । तर, पछिल्लो समय महामन्त्रीद्वय शर्मा र थापाले मन्त्री नबन्ने घोषणा नै गरिसकेका छन् ।

कांग्रेस स्रोतका अनुसार कुनैपनि हालतमा मन्त्री बनाउनुपर्ने भन्दै नेताको घर धाउने ५० भन्दा बढी नेता छन् । शक्ति लगाएर दबाब बढाएका नेताहरूभन्दा सक्षम नेताहरूलाई सरकारमा पठाउनेबारे छलफल भएपनि त्यसमा देउवा असफल भएका छन् ।

स्रोतका अनुसार कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नेताहरूको नाम देउवापत्नी आरजुले फाइनल गरेकी हुन् । यो बाहेक अन्यलाई मन्त्री नबनाउनु भन्ने आदेशसहित आरजुले देउवाको खल्तीमा नाम राखिदिएको स्रोतको दाबी छ । आरजुले दिएको लिस्टमा संस्थापन पक्षबाट डा.प्रकाशशरण महत, किशोरसिंह राठौर, सीता गुरुङ, मोहन बस्नेत, एनपी सावदको नाम छ ।

यसबाट के प्रष्ट हुन्छ भने आरजुसँग सम्बन्ध राम्रो नभएका र आरजुलाई मन नपर्ने क्षमतावान नेताहरू अहिले सरकारमा जानबाट बन्चित भएका छन् । बुढानिलकण्ठ निकट स्रोतका अनुसार कांग्रेसका उपसभापति धनराज गुरुङको नाम समेत काटेर अन्यलाई मन्त्री बनाउन आरजुले निर्देशन दिएकी छन् ।

आरजुलाई मन नपर्ने केही मन्त्री हुने अन्तिम तयारीमा रहेका नेताको नाम काटिएको बताइन्छ । नेताहरू पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह र विमलेन्द्र निधिमध्ये एकको नेतृत्वमा सरकारमा जाने तयारी छ ।

सरकारमा कांग्रेसले अर्थसहित ९ मन्त्रालय पाउने र त्यसमा देउवा पक्षका ६, शेखर-गगन पक्षका ३ जना मन्त्री हुनेछन् । स्रोतकाअनुसार शेखर-गगन पक्षबाट जीवन परियार, तेजुलाल चौधरी र दीपक खड्का वा प्रदीप पौडेलमध्ये ३ जना सरकारमा सहभागी हुने बताइन्छ ।

यसैगरी प्रकाशमानसिंहले नेतृत्व गर्दा डा.शेखर कोइराला, डा.शशांक कोइरालालगायतका नेता भने मन्त्री बन्न गरिएको आग्रहबाट पछि हटेका छन् । कांग्रेस नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइरालासहित देउवा पक्षका ओखलढुङ्गाका सांसद रामहरि खतिवडा, संस्थापनका धादिङका सांसद रामनाथ अधिकारी पनि यो पटक मन्त्री नबन्ने भएका छन् ।