स्वास्थ्य : उच्च रक्तचापको उच्च जोखिम « Himal Post | Online News Revolution
Logo

स्वास्थ्य : उच्च रक्तचापको उच्च जोखिम



– डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

मुटुले शरीरको शिरदेखि पैतालासम्म सम्पूर्ण भागमा शुद्ध रगत पुर्‍याउँछ। यसरी पम्प गर्दा सम्पूर्ण रक्तनलीको भित्तामा जुन दबाब पर्छ, त्यसलाई रक्तचाप भनिन्छ। जब मुटु खुम्चेर रगतलाई मुख्य रक्तनलीमार्फत शरीरतिर फ्याँक्छ, त्यसबेला रक्तचाप सबैभन्दा बढी हुन्छ र रगत बिस्तारै स-साना रक्तनली तथा कोषिकाहरूमा पुग्छ, त्यसबेला क्रमशः रक्तचाप कम हुन्छ। मुटु पम्प हुँदा रक्तनलीको भित्तामा हुने रगतको दबाबलाई ‘सिस्टोलिक ब्लडप्रेसर’ भनिन्छ। मुटु फैलिँदा मुटु रगतले भरएिको हुन्छ। उक्त समयमा धड्कनको बीचमा मुटु आराम गरेको अवस्थामा रक्तनलीमा जुन कम दबाब पर्छ, त्यसलाई ‘डाइस्टोलिक ब्लडप्रेसर’ भनिन्छ। कुनै कारणवश रक्तनली साँघुरो वा कडा भएमा रक्तनलीमा प्रचुर दबाब पर्छ। यसलाई उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन भनिन्छ।

३०-५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्षण नदेखिने भएकाले तथा पछि हृदयाघात, पक्षघात, मिर्गौला फेलरजस्ता गम्भीर असर गर्ने भएकाले यो रोगलाई ‘मौनघातक’का रूपमा लिइन्छ। सामान्यतयाः वयस्कको रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुन्छ। १२०- १३९/८०-८९ एमएमएचजीलाई उच्च रक्तचाप उन्मुख अवस्था मानिन्छ। १४०-१५९/९०-९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ भने १६०/१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ।

मुख्यतया रक्तचाप दुई प्रकारको हुन्छ। ९० प्रतिशतभन्दा बढी व्यक्तिहरूलाई यसको कारण थाहा हुँदैन, जसलाई ‘प्राइमरी हाइपरटेन्सन’ भनिन्छ। ५-१० प्रतिशत व्यक्तिहरूलाई अन्य रोगको पार्श्व प्रभावस्वरूप उच्च रक्तचाप हुन्छ, त्यसलाई ‘सेकेन्डरी हाइपरटेन्सन’ भनिन्छ। सेकेन्डरी हाइपरटेन्सनको प्रमुख कारणहरूमा मिर्गौलाको दीर्घ रोग, मिर्गौलामा रगत पुर्‍याउने रक्तनलीको रोग, लामो समय मदिरा सेवन, हार्मोनको खराबी, इन्डोक्राइन ट्युमरआदि पर्छन्। प्राइमरी हाइपरटेन्सन परिवारमा वंशाणुगत समस्याका रूपमा पनि देखा पर्छ।

उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गौला फेलरको प्रमुख कारक हो। त्यस्तै यो रोग कम उमेरमा हुने मृत्यु र अचानक हुने मृत्युको प्रमुख कारक तत्त्व हो। विश्वमा एक अर्ब अर्थात् २५ प्रतिशत जनसङ्ख्या उच्च रक्तचापले ग्रस्त छ भने उच्च रक्तचापका कारण वार्षिक ७२ लाखको मृत्यु भइरहेको छ।

उच्च रक्तचाप परीक्षणका लागि समय-समयमा रक्तचाप जँचाउनु पर्छ। रक्त परीक्षणबाट कोलेस्टेरोल, एल्बुमिन, सोडियमको मात्रा तथा थाइराइडको समस्या थाहा हुन्छ। अल्ट्रासाउन्ड, डोप्लर अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राम, टीएमटी आदि परीक्षणबाट यसको अवस्था एवम् असर पत्ता लाग्छ। त्यस्तै, छातीको एक्सरेबाट मुटु सुन्निएको तथा आँखाको जाँचबाट नेत्रगत असर पत्ता लाग्छ।

रक्तचाप वृद्धि भएमा मुटुरोग विशेषज्ञसँग नियमित जाँचपडताल गरेर औषधी सेवन गर्नुपर्छ। तनाव घटाउने, शरीरमा जम्मा भएको अनावश्यक लवण तथा तरल पदार्थ बाहिर निकाल्ने, रक्तनलीलाई फराकिलो बनाउने, मुटुको ढुकढुकी नियमित गराउने, रक्तनली तथा मुटुको मांसपेशी हल्का खुकुलो पार्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, रगतलाई पातलो बनाउने आदि औषधीहरू रोगको प्रकृति र गम्भीरता अनुसार चिकित्सकले सिफारिस गर्छन्। उपचारको प्रमुख लक्ष्य रक्तचापलाई सामान्य अवस्थामा राख्‍ने, हृदयाघात, पक्षघात, मिर्गौला फेलर आदिबाट बचाउने र आयु लम्ब्याउने हुन्छ।

उच्च रक्तचापको समयमा सही उपचार नगरेमा वा औषधी छोडेमा रक्तको चाप तथा दबाब रक्तनलीमा पर्छ अनि रक्तनली फुट्छ, जसबाट मुटु र अन्य अङ्ग नष्ट हुन्छन्। यसबाट कोरोनरी मुटुरोग, पक्षघात, मुटु फेलर, हृदयाघात, मिर्गौला रोग आदि हुन्छ। त्यस्तै रक्तनलीहरू कडा भएर एथेरोस्क्लोरोसिस्, मस्तिष्कमा रक्तसञ्चार गर्ने रक्तनली फुटेर रगतको ढिका जमी पक्षघात हुन्छ। उच्च रक्तचाप भएका व्यक्तिलाई पक्षाघात हुने जोखिम ४ देखि ६ गुणा बढी हुन्छ। त्यस्तै मिर्गौला फेलरको ९० प्रतिशत कारक तत्त्व उच्च रक्तचाप हो। त्यस्तै, रेटिनाको रक्तनली फुटेर दृष्टि नष्ट हुन्छ, मस्तिष्कमा नसा फुटेमा पक्षघात हुन्छ। रक्तचाप मधुमेहका लागि जोखिम कारक तत्त्व पनि हो। गर्भवती महिलामा प्रि-इक्लाम्प्सीया भएर ज्यान जाने खतरा हुन्छ। यौन दुर्बलता, फोक्सोमा पानी जम्ने, नाथ्री फुट्ने, छातीमा पीडा हुने, मस्तिष्काघात हुने आदि हुन्छ। त्यस्तै उच्च रक्तचापका लागि प्रयोग गर्ने औषधीको पार्श्व प्रभावस्वरूप वृद्धावस्थामा नितम्बको हाड भाँचिने, अल्सर हुने, नपुंशकता हुने, मुटुको क्रियाकलापमा असर गर्ने मात्र होइन, औषधीसेवीलाई अन्यको तुलनामा मधुमेह हुने सम्भावना ११ गुणा बढी हुन्छ।

तसर्थ, यस्तो मौन घातक उच्च रक्तचाप र यसको असरबारे जनचेतना फैलाउने, रक्तचाप परीक्षण गर्न प्रोत्साहित गर्ने, उच्च रक्तचापको औषधी आजीवन सेवन गर्नुपर्ने भएकाले यसको निःशुल्क व्यवस्था गर्ने, परीक्षणको प्रविधि विकेन्द्रित गर्ने, अशिक्षित तथा निम्न आय भएको वर्ग जोखिम समूह भएकाले उक्त वर्गप्रति लक्षित रोकथामको कार्यक्रम सञ्चालन गर्नेजस्ता आधारभूत स्वास्थ्यसेवाको विस्तार गर्नु अपरिहार्य भएको छ।

कारण तथा जोखिम तत्त्वहरू

उमेर बढ्दै जाँदा रक्तनलीको लचकता घट्ने अर्थात् रक्तनली कडा हुने भएकाले।
वंशाणुगत तथा पारिवारिक इतिहास।
मोटा व्यक्तिहरू (विशेषगरी ठूला पेट भएका)मा उच्च रक्तचापको जोखिम दुईदेखि छ गुणा बढी छ।
नुनको अत्यधिक सेवन।
दिनमा एकपटकभन्दा बढी वा अत्यधिक मदिरा सेवन।
जन्मान्तरका लागि हार्मोन औषधीको सेवन।
निष्क्रिय तथा आरामदायी जीवनशैली।
धुम्रपान, सूर्तीजन्य पदार्थको सेवन।
तनाव तथा धपेडीयुक्त जीवनशैली।
खानामा चिल्लो तथा बोसोको अत्यधिक प्रयोग।
मधुमेह, मिर्गौलाका रोग, थाइराइडसम्बन्धी समस्या।
केही औषधीहरू जस्तै- उत्तेजक औषधी, डाइट चक्की, रुघाखोकीमा प्रयोग हुने औषधी, जीवनरक्षक औषधी आदिको अत्यधिक सेवन।
क्याल्सियम, पोटासियम, म्याग्नेसियम तथा भिटामिन ‘डी’को कमी।
उच्च कोलेस्ट्रोल।
इन्सुलिनले काम गर्न छोडेका मधुमेहका बिरामीहरू।
मिर्गौलाको दीर्घ रोग, मिर्गौलामा रक्तप्रवाह गर्ने रक्तनलीको रोग, धेरै समय मदिरा सेवन, हर्मोनको खराबी तथा इन्डोक्राइन ट्युमर भएका बिरामीहरू।

लक्षणहरू

३३ प्रतिशतभन्दा बढी रक्तचापका बिरामीहरूलाई रक्तचापको लक्षण देखिँदैन। त्यसकारण उच्च रक्तचापलाई मौन घातक रोगका रूपमा लिइन्छ।
टाउको दुख्‍नु (विशेषतः पछाडीको भाग)।
वाकवाकी तथा वान्ता आउनु।
रिङ्गटा लाग्नु/हुत्तिनु।
हलुङ्गोपन महसुस गर्नु।
दृष्टिमा परिवर्तन हुनु, धमिलो देख्‍नु।
थकाइ लाग्नु, कमजोरी हुनु।
छाती दुख्‍नु तथा सास फेर्न गाह्रो हुनु।
अलिकति हिँड्दा पनि खुट्टा दुख्‍नु।
मुटुको ढुकढुकी अनियमित हुनु।
धेरै पसिना आउनु।
पिसाबमा रगत देखिनु।
नाकबाट रगत आउनु।
आँखामुनि, पेट वा खुट्टा सुन्निनु।

रोकथाम

संवेदनशील अङ्गहरूमा पुगेर पक्षघात, हृदयाघात, मिर्गौला फेलर आदि हुन नदिन समय-समयमा रक्तचापको परीक्षण, उपचार र नियन्त्रण गर्ने।
पोषिलो तथा कम चिल्लो खाना खाने।
नियमित रूपमा शारीरकि अभ्यास गर्दा उच्च रक्तचापको जोखिम २० देखि ५० प्रतिशत कम हुन्छ।

नुनको कम प्रयोग गर्ने। तयारी खाजा, बट्टाको खाना, रेस्टुराँको खाना तथा सोडियमको मात्रा भएको खाद्य पदार्थ निकै कम सेवन गर्ने।
मोटोपन घटाउने।
ठीक्क मात्रामा मद्यपान गर्ने।
धुम्रपान नगर्ने। निकोटिनले रक्तनलीलाई क्षति गर्छ तथा साँघुरो बनाउँछ।
उच्च रक्तचापको औषधी नियमित रूपमा सेवन गर्ने।
तनावलाई न्यूनीकरण गर्ने तथा मनोरञ्जनका उपायहरू अवलम्बन गर्ने।
निन्द्रा, आराम तथा हिँडडुलमा ध्यान दिने।
रातो मासु, कुखुराको छाला, चीज, केक कम खाने।
प्रशस्त मात्रामा फलफूल, तरकारी, अन्न, माछा, कुखुरा, चिल्लो कम भएको दुग्ध पदार्थ सेवन गर्ने।
भुटेको/तारेको तथा पोलेको नखाने।
म्याग्नेसियम पाइने खानाहरू (जस्तै- अन्न, हरियो सागपात, बदाम, टुसा उमारेको गेडागुडी, सुकेको केराउ, सिमी), पोटासियम पाइने खानाहरू (जस्तै- फलफूल, केरा, तरकारी, दूध, माछा), क्याल्सियम पाइने खानाहरू (जस्तै- दूध, दही) प्रशस्त खाने।
कम्तीमा हप्ताको दुईपटक माछाको सेवन गर्ने। माछामा ओमेगा-३ नामक तेल हुन्छ, जसले कोलेस्ट्रोल तथा उच्च रक्तचापलाई कम गर्छ।
नियमित रूपमा आलस, सिड ( सूर्यमुखी फूल, फर्सी आदिको बिउ), डार्क चकलेट, जैतुनको तेल, अनार, किवी, खर्बुजा, दालचिनी तथा लसुनको सेवन गर्नाले फाइदा हुन्छ ।
उच्च रक्तचाप बच्चाहरूमा पनि हुने भएकाले पोषण शिक्षा, शारीरिक अभ्यास र हृदयमैत्री जीवनशैली सिकाउने।