जुन ठाउँमा ओली जाँदा जनलहर देखियो त्यही ठाउँमा एमाले पत्तासाफ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जुन ठाउँमा ओली जाँदा जनलहर देखियो त्यही ठाउँमा एमाले पत्तासाफ



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुग्दा जनलहर देखेर हौसिए । गत चैत १७ गते ओलीले चुनावलक्षित विशाल सभालाई सम्बोधन गरे । सधैजस्तो उनले गठबन्धन र अन्य दलमाथि हमला गरे ।

निर्वाचन सकियो, मतगणना सकियो तर एमाले जिल्लाबाटै बढारियो । जुम्लाबासीको भीड देखेर ओलीले एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको बताए तर परिणाम भने शून्यमा निस्कियो ।

एमालेलेका सबैजसो केन्द्रीय नेताहरूले सामाजिक सन्जालमा भाइरल बनाएका थिए । ओलीको सभामा पुगेको भीडले भने एमालेलाई नै भोट नहालेको देखिएको छ । आठवटा स्थानीय तह रहेको जुम्लामा नेकपा एमाले शून्य भएको छ।

आठवटै स्थानीय तहको अन्तिम मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले दुई तथा स्वतन्त्र उम्मेदवारले एक पालिका जितेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी नेपाली कांग्रेसका पूर्ण सिंगे बोहोरा २७६८ मतसहित विजयी भए। गुठीचौरमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन्।

तातोपानीमा कांग्रेसका नन्द प्रसाद चौलागाईल विजयी भएका हुन्। यसैगरी हिमामा कांग्रेसकै लक्ष्मण बहादुर शाही निर्वाचित भए। कनकासुन्दरी गाउँपालिकामा अध्यक्षमा कांग्रेस दामोदर प्रसाद आचार्य विजयी भए।

तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले जिते। सिंजा गाउँपालिकामा माओवादी केन्द्रकै पूर्ण प्रसाद धिताल निर्वाचित भए।

जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन्। उनले कांग्रेसका आधिकारिक उम्मदवार पदमबहादुर शाहीलाई हराएका हुन्।

त्यस्तै उपाध्यक्षमा कांग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ।

एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ।
नेकपा एमाले भने प्रमुख र उपप्रमुखविहीन भएको छ। २०७४ सालमा तिला गाउँपालिका प्रमुख जितेको थियो भने सिंजामा उपप्रमुख जितेको थियो।