भुसाल प्रकरणले एमालेमा उथलपुथल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भुसाल प्रकरणले एमालेमा उथलपुथल



नेता घनश्याम भुसालमाथि कारबाही गर्ने अन्तिम तयारी गरेपछि नेकपा एमालेभित्र अहिले खैलाबैला मच्चिएको छ । पूर्वाग्रह साँधेर उनीमाथि कारबाही गर्न लागिएको भन्दै एमालेका नेताहरू यो कारबाही रोक्न लागिपरेका छन् ।

पार्टी विभाजन हुँदा ओलीलाई साथ दिएर माधव नेपालको कित्ता छोडेका नेताहरूले कारबाहीको चर्को विरोध गर्दै गर्दा ओली समूहकै केही नेताहरू पनि कारबाही रोक्नुपर्ने लाईनमा उभिएका छन् । निर्वाचनको मुखैमा यस्ता आत्मघाती निर्णय नगर्न भन्दै नेताहरूले ओलीसमक्ष कुरा राखेका छन् ।

एमालेका रहेका उपाध्यक्षद्वय सुवास नेम्वाङ, विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि यो कारबाहीको विपक्षमा देखिएका छन् । दस बुँदे पक्षधरका सबैजसो नेताहरू पहिले देखि नै कारबाहीको विपक्षमा उभिएका थिए । निर्वाचनको तयारी गर्नुपर्ने, सकिएको स्थानीय निर्वाचनको समिक्षा गर्नुपर्ने बेलामा पार्टीलाई दिर्घकालिन असर गर्ने खालका यस्ता गतिविधिले पार्टीलाई थप क्षती पुग्ने उनीहरूले बताउँदै आएका छन् ।

ओली इतर मानिएका र ओलीसँग विमति राख्ने सबै नेताहरूलाई बिस्तारै पाखा लगाउने रणनीतिका साथ कारबाहीको तयारी गरिएको भन्दै नेताहरूले घनश्यामको कारबाहीविरुद्ध पार्टीको बैठकमै कुरा उठाउने तयारी समेत गरेका छन् ।

तर पार्टीमा पकड राख्ने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेल भने कारबाहीको पक्षमा देखिएका छन् । घनश्यामलाई कारबाही गर्ने मुख्य एजेण्डा बनाएर एमालेले सचिवालय बैठक बोलाईसकेको छ । सचिवालय बैठकमा कारबाहीको पक्षमा रहेका नेताहरूको बहुमत छ । यसै सचिवालयको बैठकले उनलाई कारबाही सिफारिस गरेर केन्द्रीय कमिटीमा पठाउने तयारी गरेको छ ।

पार्टीका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथिको कारबाही पार्टीका लागि प्रत्युत्पादक हुने बताइसकेका छन् । नेता भीम रावल र योगेश भट्टराईलगायतका नेताहरूले सार्वजनिक रूपमै कारबाहीको विरोध गरिरहेका छन् ।

एमालेको अनुशासन आयोगले नेता भुसाललाई पार्टी र नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ । आयोगले गरेको सिफारिस अध्यक्ष केपी ओलीले सचिवालकौ बैठकमा पेस गरेर निर्णय लिनेछन् ।

स्थानीय चुनावमा पार्टीले हार ब्यहोरेर पार्टी पंक्ति नै निराश भइरहेका बेलामा नेताहरूलाई कारबाही गर्दै हिँड्नु गलत हुने नेताहरूको तर्क छ । अहिले बोलेकै भरका नेतालाई कारबाही गर्न नमिल्ने, त्यसमाथि अहिलेको अवस्थामा कारबाही गर्दा आउने संघीय चुनावमा झन् नकारात्मक असर पर्ने नेताहरूको तर्क छ ।

भुसाललाई कारबाही गर्दा एमालेभित्रको १० बुँदे पक्षधर भनिएका नेताहरूसमेत प्रभावित हुनेछन् । यसले पार्टीको ठूलो पंक्ति असन्तुष्ट बन्ने एमालेका नेताहरूले बताएका छन् ।

पार्टीको यस्तो निर्णयले स्थानीय तहमा टिकट नपाएका र पार्टीमा जिम्मेवारी पनि नपाएका नेताहरू भुसालमाथिको कारबाहीले पार्टी छोड्ने सम्भावना बढ्ने एमालेमा चर्चा छ । यतिमात्र होइन पार्टीमा पेलिंदै आएको ठूलो तप्का यही निर्णयका कारण बाहिरिन सक्ने देखिएको छ ।

तसरी गरिएका निर्णयले पार्टी फेरि विभाजन तर्फ जान सक्ने केही नेताहरूको आंकलन छ । यस्तै खालका निर्णयले गर्दा यसअघि एमाले विभाजन थियो ।