प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको एमालेको ठहर - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको एमालेको ठहर



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा विवाद सट्टापट्टाबाट समाधान गर्न सकिने भनी दिएको अभिव्यक्तिको आलोचना गरेको छ । उसले यो अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ ।

बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितमा कुनै विषय उठान गर्न नसकेको बताए । उनले प्रधानमन्त्रीले भारतभ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरु किन उठाउन नसकेको भन्ने प्रश्न गर्ने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच आएको पनि बताए ।

प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको पनि बताए । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको उल्लेख गरे । उनले नागरिकता विधेयक प्रमाणिकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रीपरिषद्ले बाध्य पारेको भन्दै राष्ट्रपतिले ख्याल नगरी संसद छलेर नागरिकता विधेयक ल्याएकोप्रति बिरोध गर्ने बताए ।