गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय कार्यशाला गोष्ठिको आयोजना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय कार्यशाला गोष्ठिको आयोजना



सिराजुद्दिन खान

नेपालगञ्ज, पुस १४ गते । गुणस्तरीय शिक्षाका लागि भएका राम्रा अभ्यासहरुको सिकाई आदान प्रदान गर्ने उदेश्यले नेपालगञ्जमा २ दिने राष्ट्रिय कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परिक्षण केन्द्रले आयोजना गरेको सो कार्यशाला गोष्ठिको बुधवार उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा शैक्षिक गुणस्तर परिक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौड्यालले मध्यपश्चिमको शैक्षिक उपलब्धी देशभरीमै सबैभन्दा कमजोर देखिएकोले अन्य क्षेत्रमा भएका सिकाईलाई समेत ध्यानमा राखेर सुधार योजना बनाउने उदेश्यले यो कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।
शैक्षिक उपलब्धी कमजोर हुनुका कारण र सुधार कसरी गर्ने भन्ने बारेमा कार्यशालामा बिशेष रुपमा छलफल हुने तथा हालसम्म भए गरिएका राम्रा अभ्यासलाई कमजोर भएका ठाउँमा कसरी लागु गर्न सकिन्छ भन्ने बिषयमा पनि कार्यशालाले एक निष्कर्श निकाल्ने उहाँले बताउनु भयो ।lekhnath paudel

गुणस्तरीय शिक्षाका लागि नेपालगञ्जमा शुरु भएको दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठिको उदघाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा शैक्षिक गुणस्तर परिक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौड्याल ।

यसैगरी सेभ द चिल्ड्रेनका शिक्षा बिशेषज्ञ डा. नारायण काफ्लेले हाल संचालनमा रहेको बिद्यालय क्षेत्र विकास कार्यक्रमले बालबालिकाको सिकाइलाई सुधारगरी गुणस्तरीय सिकाईलाई प्रवर्धन गर्न जोड दिएको बताउनु भयो ।
मध्य र सुदुर पश्चिमका क्षेत्रिय शिक्षा निर्देशक, शिक्षा मन्त्रालयका अधिकृतहरु, मध्य र सुदुरपश्चिमका ११ जिल्लाका जिल्ला शिक्षा अधिकारी, जिल्ला शिक्षा कार्यालयका योजना अधिकृतहरु, सेभ द चिल्ड्रेनका कर्मचारीहरु, शिक्षामा काम गर्ने बिभिन्न गैर सरकारी संस्थाका प्रमुखहरु तथा पत्रकारहरु गरेर ७० जना बढीको सो कार्यशालामा सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन गरिने सो कार्यशालामा शैक्षिक गुणस्तर परिक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौड्याल, शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणी खनाल, शिक्षा विभागका उपनिर्देशक बिष्णु प्रसाद अधिकारी, शैक्षिक गुणस्तर परिक्षण केन्द्रका उप निर्देशक प्रहलाद अर्याल, मध्य पश्चिमका क्षेत्रीय शिक्षा निर्देशक धर्मजीत शाह, सुदुर पश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहान, सेभ चिल्ड्रेनका एसोसियट डाइरेक्टर बिरेन्द्र ठगुन्ना लगायतले गुणस्तरीय शिक्षाका लागि बिभिन्न कार्यपत्र प्रस्तुत गर्नु हुने र ती कार्यपत्रमा बिस्तृत रुपमा छलफल हुने शिक्षा बिशेषज्ञ डा. नारायण काफ्लेले बताउनु भयो ।
मध्यपश्चिमका कर्णाली अञ्चलका हिमाली र भेरी तथा राप्ती अञ्चलका पहाडी जिल्लाहरुको शैक्षिक उपलब्धी निकै न्यून भएकाले त्यसमा सुधार ल्याउन शिक्षा मन्त्रालयले ठोस योजना बनाउन लागेकोले यो कार्यशाला निकै महत्वपूर्ण हुने शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणी खनालले बताउनु भयो ।
शैक्षिक गुणस्तर सुधारका लागि राजधानी बाहिर पहिलो पटक आयोजना गरिएको सो राष्टिय कार्यशाला गोष्ठिको आयोजनामा सेभ द चिल्ड्रेनले बिशेष सहयोग गरेको शैक्षिक गुणस्तर परिक्षण केन्द्रले जनाएको छ ।