राजनितीमा प्रचण्ड जस्तो इमान्दार कोहि भेटिन: माधव नेपाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजनितीमा प्रचण्ड जस्तो इमान्दार कोहि भेटिन: माधव नेपाल



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नरहेको बताएका छन्।

शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले प्रचण्ड र आफुप्रति अविश्वास सिर्जना गर्ने र भ्रम छर्ने काम केपी ओली गुटले गरेको आरोप लगाए।

प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको र प्रचण्डजस्तो इमान्दार कोही नरहेको नेपालले बताए।

ओलीले गरेको संसद विघटनको चारैतिर विरोध भएपछि उनी सबैतिरबाट एक्लिँदै गएको र अब विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले दाबी गरे।

ओलीलाई जनताले साथ नदिने भन्दै मूल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावनी दिए।

पत्रकार सम्मेलनमा ओलीप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका नेता नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिने र अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र बिग्रह आएको बताए।

ओलीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको र संविधान विरोधी शक्तिको चलखेल बढेको उनले जिकिर गरे।

नेता वामदेब गौतमको नाम नलिई उनीप्रति संकेत गर्दै नेता नेपालले गौतमको एकता अभियान बालुवा पेलेर तेल निकाल्छु भनेजस्तै भएको टिप्पणी गरे। गौतमले भने जस्तै पार्टी एकता सम्भब नरहेको नेपालले औंल्याए।

नेता नेपालले ओलीले सडकमा भेटेजती सबैलाई केन्द्रीय सदस्य बनाएको भन्दै उनीप्रति व्यङ्ग्य गरे। अब ओलीलाई कसैले बचाउन नसक्ने भन्दै उनको राजनीतिक भविष्य समाप्त भइसकेको नेपालले बताए।

पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ, बर्षमान पुन र कृष्णबहादुर महराको उपस्थिति थियो।