‘मानव जातिले पृथ्वीलाई नष्ट गरे, अब अन्तरिक्षमा लगानी गर्छु’ : जेफ बेजोस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘मानव जातिले पृथ्वीलाई नष्ट गरे, अब अन्तरिक्षमा लगानी गर्छु’ : जेफ बेजोस



एजेन्सी । अमेजोनका मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् जसको कूल सम्पति १२५ अर्ब डलर रहेको छ । तर उनले आफ्नो अधिकांश सम्पत्ति अन्तरिक्ष प्रविधिको विकासमा खर्च गरिरहेका छन् । उनैको एरोस्पेस कम्पनी ‘ब्लु ओरिजिन’ मार्फत् उनले यसमा भारी लगानी गरिरहेका छन् ।

सीबीएससँगको अन्तर्वार्तामा उनले भनेका छन्, “यो हाम्रो ग्रहका लागि महत्वपूर्ण छ र मेरो विचारमा भविष्यका पीँढीका लागि पनि आवश्यक कुरा हो । यसको ख्याल राख्ने सम्बन्धी म वास्तवमै गम्भीर छु । मैले आफ्नो जीवनभर यसबारेमा सोच्दै आएको छु ।”

उनका अनुसार उनी सानो छँदादेखि नै अन्तरिक्षप्रति विशेष रुची राख्ने गर्दथे र अन्तरिक्षयात्री बज अल्ड्रिन र निल आर्मस्ट्रङ चन्द्रमामा अवतरण गरेको उनले उत्साहपूर्वक हेरेका थिए । यसबाहेक मानिसको लामो भविष्यका लागि पनि अन्तरिक्ष प्रविधिको विकास अतिआवश्यक भएको उनको भनाइ छ ।

उनले थप भनेका छन्, “हामी मानव जातिले पृथ्वीमा यसरी नै आफ्नो सम्पन्नशाली संस्कृति जारी राख्ने हो भने हामी अन्तरिक्षमा जानैपर्ने हुन्छ । किनकि हामी एउटा प्रजातिको रुपमा अत्यधिक ठूलो जनसङ्ख्यामा परिणत भइसकेका छौँ जबकि हामी बसिरहेको ग्रह तुलनात्मक रुपमा सानो छ । जलवायु परिवर्तन, प्रदुषण, भारी उद्योगलगायत हामी ग्रहलाई नष्ट गर्ने प्रक्रियामा लागिरहेका छौँ भन्ने उदाहरण हो । तर हामीले वायु मण्डलका प्रत्येक ग्रहमा रोबोटलाई जाँच गर्न पनि पठाइरहेका छौँ जुन राम्रो कुरा हो । त्यसैले हामीले आफ्नो अस्तित्व र ग्रहलाई बचाउनका लागि पनि पृथ्वी बाहिर बसेर काम गर्न सक्ने हुन जरुरी छ ।”

उनले फेरि भने, “हामी अन्तरिक्षमा थुप्रै कुराहरु पठाउछौँ तर ती सबै पृथ्वीमा बनाइएका हुन्छन् । तर अब बिस्तारै जटिल सामग्री जस्तै माइक्रोप्रोसेसर अन्तरिक्षमै सस्तो र सहज रुपमा निर्माण गर्न सकिनेछ जसपछि निर्माणका लागि पृथ्वीमा भयानक प्रदुषण गराउने ठुल्ठुला उद्योगहरु सञ्चालन गरिरहनु पर्नेछैन । यसले पृथ्वीलाई सधैँ मानिसको वासस्थानका रुपमा सुरक्षित राखिरहनेछ ।”

उनका अनुसार थुप्रै पीढी र सयौँ वर्षमा यो कुरा वास्तविकता बन्नेछ । त्यसैले आफूले ब्लु ओरिजिनमार्फत् प्राविधिक विकासमा काम गरि यसलाई सम्भव बनाउने बताए । यसअघि अन्तरिक्षयात्री जोन ग्लेनले बेजोसलाई पत्र लेख्दै उनले गरिरहेको कामले भविष्यमा अन्तरिक्ष यात्रा अहिलेको विमान यात्रा जस्तै सामान्य बनाइदिने बताएका थिए ।

यसबारेमा बेजोसले भनेका छन्, “मृत्युको केही दिन अगाडि मात्र उनले मलाई अत्यन्तै सुन्दर पत्र लेखेर पठाएका थिए जसलाई मैले अफिसमा फ्रेम गराएर राखेको छु । त्यो मेरा लागि त्यति महत्वपूर्ण छ ।”

ग्लेनले बेजोसको उपलब्धीले नै भविष्यमा अन्तरिक्ष यात्रा सहज बनाउने ठहर गरेका हुन् ।

बेजोस भन्छन्, “मेरो विचारमा त्यो एकदमै सम्भव छ । किनकि आजभन्दा सयवर्ष अगाडि तपाईँलाई कसैले टिकट काटेर विमानमा यात्रा गरी विश्व घुम्न सकिन्छ भनेको भए सबैले पागल सोच्ने थिए होला । तर त्यो सय वर्षभन्दा कम समयमै सम्भव भइसकेको छ । यस्तोमा अहिलेको आधुनिकतातर्फको यात्राको पहिलो कदम भनेको अन्तरिक्ष पर्यटन नै हुनेछ ।”

उनका अनुसार ब्लु अरिजिनले अहिले नै आफ्नो सवारी ‘न्यु सेपहर्ड’ परीक्षण गरिरहेको छ जसले मान्छेलाई छोटो यात्राका लागि अन्तरिक्षसम्म पुर्याउन सक्नेछ ।

उनले फेरि भने, “पृथ्वी बाहिर गएका जोकोहीले पनि फर्किएर आइसकेपछि आफूमा केही बदलाव पाउँछन् र हाम्रो ग्रह कति सुन्दर अनि संवेदनशील छ भन्ने उनीहरुलाई आभास हुन्छ । यही कुरा हामीले पृथ्वीमा बसेर देख्न सकिरहेका छैनौँ तर माथिबाट हेर्दा सबै स्पष्ट हुनेछ ।”