कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखी सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखी सुरु



विशाल पाण्डेय/कैलाली

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता -२०७६ लम्किचुहा नगरपालिका- १ भुरुवामा सुरु भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ कैलाली जिल्ला फुटबल संघको आयोजना र पंचकोशी युवा क्लवको ब्यवस्थापनमा कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि सुरु भएको हो ।

जिल्ला फुटबल संघका अध्यक्ष मोहित कुमार शाहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा लम्किचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाइ प्रमुख अतिथी रहेका थिए भने बिशिस्ट अतिथिमा वडा नं १ अध्यक्ष जनक बहादुर बम रहेका थिए । पंचकोशि युवा क्लवका अध्यक्ष रज बहादुर थापाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन कैलाली फुटबल संघका महासचिव ओम प्याकुरेलले गरेका थिए ।

आज भएको पहिलो उद्घाटन खेलमा पंचकोशी युवा क्लव भुरुवा र हिमालय युवा क्लव लालभोजी बिच सम्पन्न भएको छ । पहिलो खेलमा हिमालय क्लबले पंचकोशि क्लब लाई शुन्यका विरुद्ध ७ गोलले पराजित गर्दै हिमालयले विजयी हासिल गरेको छ ।

त्यस्तै आज नै भएको दोस्रो खेल विहानी युथ क्लब भजनी र घोडाघोडी क्लब सुखड बिच प्रतिस्पर्धा भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा कुनै टिमले गोल गर्न नसक्दा बराबरीमा रोकिएका छन् ।

कैलाली जिल्ला लिग फुटबलमा १९ वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । १९ वटा टिम मध्य ९ वटा टिम भुरुवा स्थित रंगशालामा खेलाइने छ भने अन्य १० वटा टिम धनगढी रंगशालामा खेलाइने आयोजकले जनाएको छ । ८ दिन सम्म चल्ने प्रतियोगितामा धनगढी रंगशालाबाट छनोट भएका टिम र भुरुवा कबर्ड हल बाट छनोट भएका टिम बिच धनगढीमा फाइनल खेलको प्रतिस्पर्धा हुने कैलाली फुटबल संघका महासचिव ओम प्याकुरेलले हिमाल पोस्टलाई जानकारी दिए ।
तस्बिर : वसन्त जैशी