"कान्छा मालिकको पतलून" - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

“कान्छा मालिकको पतलून”



दसैँ आउँदा,
बा नित्य पोको बोकेर आउँथे
अनि पोको खोलेर
अघ्घोरै खुसी हुँदै
निकाल्थे,
आफ्नो लागि, मालिकको इष्टकोट !
आमाको लागि, मालिक्नीको फरिया !
र मेरो लागि,
‘कान्छा मालिकको पतलुन’ !

बा भन्थे,
मालिकहरू,
अरूलाई भन्दा हामीलाई,
बढ़ी माया गर्थे अरे,
त्यसैले दिंन्थे होला
दसैँमा,
मक्किएको इष्टकोट
खुइलिएको फरिया
र टाँग मुनि उध्रेको
‘कान्छा मालिकको पतलुन’ !

बा को कलले थिचेका
एक एक टाँका म चिन्दथें
केही महिना अघि
बा ले सिलाएको
अनि
केही महिना पछि
कान्छा मालिकले
फटालेको पतलुनमा
कला सँग टाँका लगाई
रवाफसंग हिंड़दथें !

कैलेकाहिं
सोध्न मन लाग्थ्यो बा लाई,
एउटा पतलुन सिलाए बापत
मात्र एक माना मकै किन बा ?
मौजा मौजाका मालिकले
धुजा परेका लुगा फाटाले
चाडबाडां फकाको फकाइ किन बा ?
दया गर्नेले
नयाँ खोल किन नदिएका ?
माया देखाउनेले
पसिनाको मोल किन नदिएका ?

एक दिन गाउँमा
कमरेड हरू आए
शोषक,सामन्त
को हुन भनी चिनाए
बा का जुनी भरका
ख्वामितलाई
मेरा प्रत्येक दसैँका
लत्ता-दातालाई
एकाएक उनीहरूले
सामन्त पो बताए !

खै कस्तो चेतना त्यो
एका एक जाग्यो,
मालिकमाथि उठ्ने
बिर्खेका प्रश्नहरुमा
बा ले लगाइरहने
नित्य चड्कनले भन्दा
कमरेडका गर्जनले
मेरो धड्कन
नापे जस्तो लाग्यो !
आफूले लगाएको
कान्छा मालिकको
पतलुन हेरेँ,
बा को निधार हेरेँ,
आफ्नो छाती छामें,
पतलुन-परम्पराको
भविष्य नापें,
अनि,
कल चलाउन सिकोस
भन्ने बा को इच्छालाई लत्याएर
बन्दूक़ उठाएँ !

मैले ताकेको थिइन धरोधर्म,
बिर्खेलाई दसैँमा दान दिने
दाताको छातीमा बन्दुक !
म हिंडेको बाटोले ताकेछ ।
ठुला मालिकको छाती छेंडियो
बन्दूक़ सँगको साइनोले
‘कान्छा मालिकको पतलुन’ सँगको
मेरो साइनो चूँडियो !

फेरि,कमरेडहरु
काठमाडौँका
मालिकसंग मिले
सबै मिलेर
गलल हाँस्दै
अरूले लगाएको
पतलुन लगाउने
मलाई अयोग्य भने,
च्व: च्व: गर्दै
पासपोर्ट किन्न
पैसा थमाए !

आज म
सात समुद्र पारी
आफै पतलून किनेर
लगाउने भएको छु
उता कान्छा मालिकले
मेयर जीते भन्ने
खबर पाको छु

जितेका कान्छा मालिकलाई
हारेको मैले
एउटा पतलून
उपहार दिन मन छ
अनि भन्न मन छ,
हेर्नुस त मालिक
तपाईँको बिर्खे
नयाँ दिने मुटु बोक्न सक्छ !
तपाईँलाई के लाग्छ
सानो पिरले कोही
कसैको छातीमा
गोली ठोक्न सक्छ ?

गोली मैले चलाएको थिइन मालिक
आवश्यकताले चलाएको थियो
हजुर सधैँ नयाँमा
म सधैँ पुरानोमा
त्यही असमानताले चलाएको थियो !
त्यसो त मालिक,
गणतन्त्र जागे पनि
गणतन्त्र आगे पनि
हजुरलाई त फाइदै फाइदा
गोली चले पनि
बा को शरीर ढले पनि
हजुरलाई त काइदै काइदा !

बेफाइदा त सधैँ हामीहरुलाई,
पासपोर्ट किनेर
पसिना बेच्नेहरुलाई,
कमरेडको कुर्सी अड़्याउन
बन्दूक़को आड दिनेहरुलाई !

हो,घाटा सधैँ हामीहरुलाई,
छैंटीको दिन निधारमा
दासको ठप्पा लाग्नेहरुलाई,
दसैँ अनि तिहारमा
कान्छा मालिकको
पतलून माग्नेहरुलाई !!

© हेमन्त गिरी,टोकियो (२५ जेष्ठ २०७४)