कारागारहरू खुला ठाउँमा सारेर कैदीलाई कृषि उत्पादन लगाउने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कारागारहरू खुला ठाउँमा सारेर कैदीलाई कृषि उत्पादन लगाउने तयारी



काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले कारागारहरूलाई खुला ठाउँमा सारिने बताएका छन् । आज बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

मन्त्री खाणले धेरैजसो कारागार सहरको मध्य भागमा रहेको भन्दै ती कारागारलाई ठूलो भू–भागमा सार्ने र नयाँ कारागार बनाउने सरकारको योजना रहेको बताए । कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उनको भनाइ छ ।

उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । सहर बजारको मध्य भागमा रहेका जेलहरूलाई बाह्य भू–भागमा, अलि ठूलो भू–भागमा स्थानान्तरण गर्ने र नयाँ जेल निर्माण गर्ने योजना सरकारको छ । उपयुक्त ठाउँमा जमिन खोजेर, बजेटको व्यवस्थापन गरेर नयाँ बन्दी गृह बनाउने र त्यसलाई सुधार गृहको रूपमा परिणत गरेर बन्दीहरूलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ ।’

विधेयकको सम्बन्धमा छलफलका क्रममा बोल्दै सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरूलाई छुट दिन नहुने बताइन । उनले सुत्केरीहरूलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताइन । युवाहरूलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उनले जोड दिइन् ।