कक्षा ८ को परीक्षा जिशिका आफैँले सञ्चालन गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कक्षा ८ को परीक्षा जिशिका आफैँले सञ्चालन गर्ने



प्रकृति अधिकारीकाठमाडौँ, माघ १ गते ।  काठमाडौँ जिल्ला शिक्षा कार्यालयले अब कक्षा ८ को परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ ।
यसअघि प्रश्नपत्र जिशिकाले उपलब्ध गराउँथ्यो भने विद्यालयले परीक्षा लिई नतिजा पनि प्रकाशित गथ्र्याे र विद्यार्थीको लब्धाङ्कपत्रमा जिशिकाले औपचारिकताका लागि छाप लगाई जारी गरिन्थ्यो ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालनको तौरतरिका प्रायः सबै जिल्लामा यस्तै नै छ ।  विद्यालयले बदमासी गर्दैनन् भन्ने विश्वासका आधारमा सञ्चालन हुँदै आएको जिल्लास्तरीय परीक्षामा प्रायः कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुँदैन, जबकि एसईई (तत्कालीन एसएलसी परीक्षा)को नतिजा लाजमर्दाे छ ।

सरकारले कक्षा ८ लाई आधारभूत तहको अन्तिम परीक्षाका रूपमा परिभाषित गरेको छ ।  त्यसैले जिशिका काठमाडौँले यस परीक्षालाई आफैँले सञ्चालन गर्न जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि नै तयार गरेको छ ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले कक्षा आठको परीक्षा शिक्षा ऐनमा नै व्यवस्था भएपछि परीक्षा व्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्ने बताउँदै भन्नुभयो, “हालसम्म प्रश्नपत्र दिने, परीक्षा चल्यो वा चलेन त्यसको अत्तोपत्तो नहुने, अन्तिममा मार्क लेजरमा अङ्क भरिदिने, त्यसलाई जिशिकामा बुझाउने र जिशिकाले छाप लगाएर प्रमाणपत्र दिने चलन छ ।  यो चलनलाई विस्थापित गर्नुपर्दछ भनेर कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्न लागेका हौँ । ”

कार्यविधि अनुरूप अब जिशिकाले तत्कालीन एसएलसी परीक्षाको जस्तै आवेदन फाराम भर्ने र त्यसमा सम्बन्धित विद्यार्थीको तस्बिरसमेत टाँस गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनेछ ।  “यस्तो व्यवस्थाबाट फलानो विद्यार्थी परीक्षामा सम्मिलित हुनबाट छुटेकाले पुनः अवसर दिनुप¥यो भन्ने सम्भावना नै रहँदैन,” उहाँले भन्नुभयो ।  विगतमा परीक्षामा सम्मिलित नभएकाले पनि उत्तीर्ण भएको प्रमाणपत्र पाउने गरेको हुनसक्ने जिशिकाको भनाइ छ ।

निजी विद्यालयले सरकारले तोकेको पाठ्यक्रमका आधारमा अध्यापन गर्ने गरेका छैनन् ।  अधिकांश विद्यालयले अनिवार्य नेपालीबाहेकका अन्य पाठ्यपुस्तक सन्दर्भ सामग्रीका रूपमा स्वीकृति प्राप्त भएकामात्र अध्यापन गर्ने गरेका छन् ।

तोकिएका पाठ्यपुस्तक नै अध्यापन नगर्ने भएपछि साँच्चिकै परीक्षामा सम्मिलित हुँदा आफ्ना विद्यार्थीलाई समस्या पर्ने भन्दै निजी विद्यालयका सञ्चालक जिशिकाको नयाँ योजनाप्रति रुष्ट बनेका छन् ।  जिशिअ आचार्यले निजी विद्यालयले पाठ्यक्रम अनुसारका विषय पढाउँदा रहेनछन् भन्दै नैतिक शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या लगायतका विषय अध्यापन नगर्ने गरेको आफूले पाएको बताउनुभयो ।
उहाँले अब उत्तरपुस्तिका पनि जिशिकाले दिने स्पष्ट गर्दै परीक्षा शुल्क प्रतिविद्यार्थी तीन सय रुपियाँ कायम गरिएको जानकारी दिनुभयो ।  विगतमा अधिकांश त्यस्ता विद्यालयले प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाउने गरेका थिए ।

जिशिकाले अब पाठ्यक्रम अन्तर्गतका सबै विषयका प्रश्नपत्र उपलब्ध गराउनेछ ।  कार्यविधिले स्रोतकेन्द्रलाई परीक्षा सञ्चालनको जिम्मा दिएको छ ।  विद्यार्थीका लागि परीक्षाकेन्द्र कायम गरिनेछ ।  सकभर विद्यालय नजिक परीक्षाकेन्द्र कायम गर्ने योजनामा जिशिका छ ।
उहाँले परीक्षा समितिको खातामा परीक्षा शुल्क जम्मा गर्नुपर्ने हुन्छ भन्दै उत्तरपुस्तिका छपाइको कार्यलाई पारदर्शी गर्न टेन्डर प्रक्रियामा लैजाने योजना बनाइएको जानकारी दिनुभयो ।

gorkhapatra