अहिलेसम्म कसैले बोलाएर केही दिएको छैन, जे पाएको छु सबै लडेर पाएको छु- गगन थापा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अहिलेसम्म कसैले बोलाएर केही दिएको छैन, जे पाएको छु सबै लडेर पाएको छु- गगन थापा



बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न आग्रह नगरेको बताएका छन् । शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा उनले भने, “केही साथी भ्रममा परेजस्तो छ । मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु । साथीहरूको माया र शुभेच्छाले अगाडि बढेको छु ।”

उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई अझ मजबुत बनाउनु रहेको उनले बताए । उनले आठ लाख पार्टी सदस्य भएको र तीन सयवटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताए ।

महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले गठबन्धनको संस्कृति निर्माण गर्न उन्नत व्यवहार आवश्यक रहेको बताए । उनले नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेको भए पनि नेकपाले पाँचवर्ष खेर फालेको बताए ।

पाँच वर्षसम्म स्थिर सरकार दिन्छौं भनेर निर्वाचनभन्दा अघि गठबन्धन र तालमेल गरिएको तर पुस १० गते सम्हालिन नसकेको उनले बताए । उनले पुस १० गते भएको गल्तीलाई फागुन १०–१२ गतेतिर सच्याइएको स्पष्ट पारे ।

महामन्त्री थापाले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए । उनले कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको बताए । पार्टीको बैठकभन्दा तीन गुणा गठबन्धनको बैठकमा बस्नुपरेको टिप्पणी गरे । उनले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्ने बताए । नेता थापाले भने, “कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन । जनतालाई सरकारले राहतको महसुस गराउनुपर्छ । एक महिनापछि ठिक भयो भन्ने सन्देश दिनुपर्छ ।”