कोरोना भाइरस: प्रार्थना गर्दै, मुहार हेर्ने दिन कुर्दै आमाबुवा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोना भाइरस: प्रार्थना गर्दै, मुहार हेर्ने दिन कुर्दै आमाबुवा



काठमाडौं । ‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा.मोहन खतिवडाले ओढिरहेको सिरक फाले ।

घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो।

उनले कोरोना भाइरस (कोभिड–१९) को सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे ।

मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन् । डा. खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए ।

यसका लागि डा. खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए । ‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं।

ढुक्कजस्तै भइयो’, उनले साँझ भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ ।’

चीनको हुपै प्रान्तको वुहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी छन् । भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएका छन् ।

१४ दिनसम्म बस्ने क्वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन् । -अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ