बुटवलका मेयर र उपमेयरले सफाइकर्मीसँगै बसेर खाना खाए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवलका मेयर र उपमेयरले सफाइकर्मीसँगै बसेर खाना खाए



गणतन्त्र दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सरसफाइकर्मीसँग सहभोज गरेका छन् । बुटवल उपमहानगरभित्रका सरसफाइकर्मीहरूका साथमा नगरप्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले सहभोज गरेको हुन् ।

सहभोज सुरु हुनुअघि आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले सरसफाइ जस्तो महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने सरसफाइकर्मीलाई निकै महत्व दिने उद्घोष गरेका छन् । उनले भने, ‘बुटवल उपमहानगरपालिकालाई सुन्दर बनाउने कार्य महत्वपूर्ण हो । यस्तो महत्वपूर्ण क्षेत्रमा काम गर्नेलाई अब हामीले निकै महत्वका साथ सम्मानजनक वातावरण सिर्जना गर्छौं ।’

उनले सरसफाइकर्मीका समस्या समाधान गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा यी विषय समावेस हुने बताए । उनले भने, ‘अहिले बुटवलमा काम गर्ने साथिहरूलाई ८ घण्टा पनि समस्या भएको सुनाउनु भयो, बजेटमा हामीले निकै ध्यान दिन्छौँ, दिनभर खटिन परे पनि काम गर्न सहज हुनेगरी व्यवस्थापन गर्छौ ।’

कार्यक्रममा बोल्दै नवनिर्वाचित उपप्रमुख अर्यालले गणतन्त्रको रक्षा गर्नुपर्ने बताइन् । उनले गणतन्त्र समूदायअनुसार फरक भएकोले सबैलाई अपनत्व हुनेगरी काम गर्ने बताइन् । उनले सबैलाई समानताको भानको अवस्था बनाउन सहभोज गरिएको उल्लेख गरिन् ।

सफाइ कर्मचारी जितबहादुर परियारले मेयर र उपमेयर नै आएर सहभोज गर्नु स्वागतयोग्य रहेको बताए । उनले सफाइ कर्मचारीहरूका समस्याको बारेमा बताएका थिए। उनले आफ्ना समस्या सम्बोधनमा अहिलेको नगर सरकारले काम गर्न आग्रह गरे। बुटवल उपमहानगरपालिकामा अहिले ४२ जना सरसफाइकर्मीहरू कार्यरत रहेका छन्।