किन भइरहेछ राजावादी प्रदर्शन ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

किन भइरहेछ राजावादी प्रदर्शन ?



काठमाडौं- प्रमुख राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ ।

कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट बनेका बेला काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन भएको हो ।

करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रुपमा शृखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पूनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् ।

विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर प्रदर्शनको नारा र उद्देश्य एउटै छ । राजावादीले सोमबार काठमाडौंमै प्रदर्शन गरे ।

उनीहरुले सोमबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शन राष्ट्रिय शक्ति नेपालको नामबाट भएको थियो ।

उक्त संस्थाका अध्यक्ष केशरबहादुर विष्ट हुन् । विष्ट शाही कालमा मन्त्री थिए । सोमबारको प्रदर्शनबाट उत्साहित भएका राजावादीहरुले आगामी मंसिर २० गते पनि काठमाडौंमा कार्यक्रम गर्ने भएका छन् ।

सो कार्यक्रम नेपालका लागि नेपाली नामबाट हुने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा हुने कार्यक्रम तथा र्‍यालीमा सक्रिय सहभागी हुन् कार्यकर्तालाई उर्दी जारी गरेको नागरिकले लेखेको छ ।

राप्रपाका नेता भुवन पाठकले हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना राप्रपाको एजेन्डा भएकाले सो पूरा गर्न पार्टीले आफ्ना कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको बताए ।

शाहीकालका मन्त्री श्रीषशमशेर राणाले अहिलेको पदर्शनको मुख्य उद्देश्य २०४७ सालको संविधान ब्युझाउनु रहेको बताए ।