किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने



काठमाडौँ- ‘भ्वाइस अफ नेपाल सिजन-३’का विजेता किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने भएका छन् । सोमबार नेपाल आएका उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो ।

उनी भिसा वर्ष, २०२१ को डिसेम्बरसम्म नेपाल आउन नपाउने भएका छन् । उनको यो वर्षको पर्यटक भिसाको म्याद सकिएको अध्यागमन विभागले जनाएको छ । उनी नेपाली नभएको र विदेशीको हकमा एक वर्षमा नेपाल बस्ने समय यो वर्षलाई सकिएको बताइएको छ ।

गजमेर झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका थिए । नेपाली नभएकै कारण उनलाई नेपाल प्रवेशमा रोक लगाइयो । यो वर्ष नेपालमा बस्ने अवधि सकिएकै कारणले उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो।

‘एक भिसा वर्षमा बस्न पाउने अवधि उहाँ बसिसक्नु भएको रहेछ । हामीले इन्ट्री दिँदा थप दिन सक्नु पर्‍यो, कानुनमा त्यो व्यवस्था छैन,’ अध्यागमन कार्यलयका प्रवक्ता झंकनाथ ढकालले भने, ‘उहाँ त नेपाली पनि हुनुहुँदो रहेनछ । कोभिडका कारण २ सय २० दिन उहाँ बसिसक्नु भएको रहेछ । भिसा वर्ष २०२१ मा पर्यटक भिसामा बस्न पाउने अवधि उहाँ बसिसक्नु भयो । भिसा वर्ष २०२१, डिसेम्बरसम्म उहाँ नेपाल आउन सक्नुहुन्न ।’

अध्यागमन विभागका अनुसार एक भिसा वर्षमा १ सय ५० दिनमात्र बस्न पाइन्छ । ‘हाम्रै कलाकार पनि कुनै देश जानुभयो भने त्यताको अध्यागमनले तोकेको अवधि नै बस्न पाइयो । धेरै बसियो भने जरिवाना लाग्छ,’ ढकालले थपे ।