काठमाडौंमा निःशुल्क सिटामोल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौंमा निःशुल्क सिटामोल



देशभरका फार्मेसी पसलहरुमा सिटामोलको अभाव भएपछि औषधि व्यवसायी डा अबुल हुसेन अन्सारीले काठमाडौंमा निःशुल्क प्यारासिटामोल वितरण गरेका छन्। कोरोना संक्रमणको बेला सर्वसाधारणले ज्वरोको औषधि प्यारासिटामोल अभाव भएपछि उनले आफ्नै खर्चमा निःशुल्क प्यारासिटामोल वितरण गरेका हुन्।

बुधबार दिनभर नै काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको मूलगेट अगाडि डा अन्सारीले प्यारासिटामोल निःशुल्क वितरण गरेका थिए। डा अन्सारीले स्वयम् सेवकहरू राखेर प्यारासिटामोलका साथै मास्क पनि वितरण गरेका छन्।

यो अभियान उनले प्यारासिटामोल बजारमा सहज नहुँदासम्म वितरण गर्ने जनाएका छन्। ‘बजार जबसम्म सिटामोल सहज रुपमा पाइँदैन त्यो दिनसम्म म यहीबाट सर्वसाधारणलाई निःशुल्क वितरण गर्नेछु’, डा अन्सारीले भने। डा अन्सारीले काठमाडौं उपत्यकामा कसैलाई प्यारासिटामोल अभाव भएमा औषधि व्यवस्था विभागको मूलगेट अगाडि आएमा चिकित्सकहरूको सल्लाहअनुसार प्यारासिटामोल निःशुल्क दिने बताएका छन्।

ललितपुरको बाग्मतीपुलस्थित कुपण्डोलमा रहेको आफ्नो कार्यालय आयानमा पनि प्यारासिटामोल उपलब्ध गराउने डा अन्सारीले बताएका छन्।

‘काठमाडौं उपत्यकाभित्र कसैले प्यारासिटामोल पाउनु भएन भने औषधि व्यवस्था विभागको मूलगेट अगाडि आउनु होला प्यारासिटामोल निःशुल्क दिनेछौँ’, उनले भने। डा अन्सारीले गत वर्ष कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि बंगलादेशबाट आयात गरेर देशभरि पुर्‍याएका थिए। डा अन्सारीले त्यस बेला पनि कोरोनाका बिरामी र सरकारलाई सहयोग गरेका थिए। अहिले पनि डा अन्सारीले भारतले निर्यातमा प्रतिबन्ध लगाएको एनोक्सापैरिन र इन्ट्रा–बिनस इम्युनिोग्लोब्युलिन नामक दुई वटा औषधि आयात गर्नका लागि औषधि व्यवस्था विभागसँग अनुमति मागेका छन्।

भारतले यी दुई औषधि अपर्याप्त भएको भन्दै निकासीमा रोक लगाएका छ। सोही औषधि डा अन्सारीले बंगलादेशसहित अन्य मुलुकहरूसँग समन्वय गरेर नेपालमा आयात गर्ने तयारी गरेका छन्।