लोकप्रिय कवि नबराज पराजुलीले पद्मश्री पुरस्कार कार्यक्रममा दिएको मन्तव्य « Himal Post | Online News Revolution
Logo

लोकप्रिय कवि नबराज पराजुलीले पद्मश्री पुरस्कार कार्यक्रममा दिएको मन्तव्य



खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०७३ को पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ लाई दिईएको छ ।दुई लाख राशिको पुरस्कार कोजाग्रत पूर्णिमाको दिन रसियन कल्चर सेन्टर ,काठमाडौंमा  प्रदान गरिएको हो ।

नवराज पराजुली
तपाईँहरू सबैलाई
हिमालौं लिटर
पहाडौं पाथी
र तराइयौं केजी नमस्कार ।

पद्मश्री पुरस्कार मैले पाएको हैन । मैले कविता सुनाइरहेका युट्युबका भिडियोहरुले पनि पाएका हैनन् । ‘सगरमाथाको गहिराई’ नाम गरेको कविताको पुस्तकले पाएको हो ।

उत्तिनै अंश भएता पनि,एउटा सन्तान बाबुको भन्दा बढी उसकी आमाको हो ।  ‘सगरमाथाको गहिराई’ मेरो भन्दा बढी उसकी आमाको हो ।उसकी आमालाई बधाई छ यो छोरी र उसकी आमा दुवैलाई बधाई छ ।

जन्मिदा हाम्री छोरी दुई सय तीस ग्रामकि जन्मेकी थिई । छोरीलाई पहिलोपल्ट हातमा लिएको बेला उसकी आमाका आँखाबाट हिमालौं लिटर आनन्द बगेको थियो । त्यो पल गाजलले पहिलोपल्ट थाहा पाएको थियो अरूमा डुबेर बग्नुमा कति मजा आउँछ ! त्यसैले मैले बुझेको आनन्दको रङ्ग गाजलसंग मिसिदैगरेको तर मिसीईनसकेको कलिलो आँसुको जस्तो हुन्छ ।

जन्मिदा हाम्री छोरी उसकी आमाका हत्केलामा अटाउने गरी सानी जन्मेकी थिई । छोरीलाई पहिलोपल्ट हातमा लिएको बेला उसकी आमाका ओठमा पहाडौं पाथी खुसी हाँसेको थियो । त्यो पल ओठले पहिलोपल्ट थाहा पाएको थियो प्रेमको पहिलो स्पर्शको स्वाद कस्तो हुन्छ ! उसकी आमा ओठमा कुनै रङको लिपिस्टिक लगाउँदिन,त्यसैले मैले बुझेको खुसीको रङ्ग लिपिस्टिक नलाएको त्यो ओठको जस्तो हुन्छ जसलाई प्रेमको पहिलो स्पर्शको स्वाद थाहा छ ।

जन्मिदा हाम्री छोरी छत्तिसवटा मुटु लिएर जन्मेकी थिई । छोरीलाई पहिलोपल्ट हातमा लिएको बेला उसकी आमाका दुई सयछवटा हड्डीहरुलाइ तराइयौं के जी तातोले छोएको थियो । त्यो पल हड्डीहरुले पहिलोपल्ट थाहा पाएका थिए आँफै थर्मोमीटर बनेर मायाको ज्वरो नाप्नु कस्तो हुन्छ ! त्यसैले मैले बुझेको मायाको रङ्ग चिसोले दुखेर रोइरहेका छातीका अनिदा हड्डीहरुलाई मायाको ज्वरो आएका हत्केलाहरुको तातो स्पर्शजस्तो हुन्छ ।

यसरि जन्मेकी हाम्री छोरी एउटा यात्रामा निस्की | धेरै मान्छेले उसलाई देखे,धेरै तरिकाले देखे । कसैलाई उसको कपाल हल्लिदा देखिने ढांचा मन पर्‍यो । कसैलाई उसका खुट्टाको चालमा रहेको सङ्गीत मन पर्‍यो । कसैलाई उसको पहिरनमा लुकेको डिजाइन मन पर्‍यो,त्यहाँका बुट्टाहरु मन परे । कसैलाई उ खुब बोलेको मन पर्‍यो,कसैलाई चुप बसेको । कसैलाई उ रिसाएको मन पर्‍यो,कसैलाई उ लजाएको । कुन्नि किन हो धेरैलाई उ रोएको मन पर्‍यो,सायद उनीहरू पनि उ जस्तै कुनैदिन रोएका थिए होला,उनीहरूलाई लाग्यो होला कि रुने म एक्लो हैन रहेछु,म सँगै रुने म जस्तै मेरो साथी पनि रहेछ | हामी सबैले खोजेको आँफु भेटिने अर्को एउटा साथी त हो नि ।

कसैकसैलाई उसको नाक मन परेन । हामीले त्यो स्वीकार गर्‍यौँ । तर छोरीलाई भन्यौं : “छोरी,हावा एक्लो भएछ भने पनि उभित्र भएको प्रेम सुंघिरहनु| तिमि एक्लोको साथी हुनु ।”
कसैकसैलाई उसका कान मन परेनन् । हामीले त्यो पनि स्वीकार गर्‍यौँ । तर छोरीलाई भन्यौं : “छोरी,कुनै मान्छे उजस्तो एक्लो छ भने पनि उसको गीत सुनीरहनु | तिमि एक्लोको साथी हुनु ।”
कसैकसैलाई उसका आँखा मन परेनन् | हामीले त्यो पनि स्वीकार गर्‍यौँ । तर छोरीलाई भन्यौं : “छोरी,एक्लै पर्खिरहेको छ भने पनि त्यो दृश्य हेरिरहनु । तिमि एक्लोको साथी हुनु ।”

कसैकसैलाई उसको केही पनि मन परेन । हामीले त्यो पनि स्वीकार गर्‍यौँ । तर छोरीलाई भन्यौं : “छोरी,सबैलाई तिमि मन नपर्ला । सबैले सबैलाई मन पराउन सम्भव नै छैन ,आवश्यक पनि छैन । तिमीलाई कुनै एक जनाले त पक्कै मन पराउनेछ,अझ उसले तिमीलाई त्यसरी मन पराउनेछ कि यसरि अरू कसैलाई मन पराउन सकिन्छ भन्ने कुरा पहिले कसैलाई थाहा थिएन | यसरि आँफुलाई मन पराउने एउटा मान्छे चाहिएको हो सबैलाई | त्यही एउटा मान्छे | उसले तिमीलाई त्यसरी मन पराउनेछ,जसरि तिम्रो बाआमाले एकअर्कालाई मन पराउनुभयो,र तिमीलाई उसले मन पराउनेगरी तिमि जन्मियौ।”

पद्मश्रीलाइ ‘सगरमाथाको गहिराइ’ मन परेछ ।

मैले छोरीलाई सोधेँ, “तिमीलाई यो प्रेम प्रस्ताव कस्तो लाग्यो ?”
छोरीले उसकी आमातिर हेरी । मैले पनि उसकी आमातिर हेरेँ। हामीले छोरीको बोली बुझ्यौं र सधैंझैँ हामी दुवैले एकैचोटी भन्यौं :
खेमलाल –हरिकला लामिछाने प्रतिष्ठानलाई
हिमालौं लिटर
पहाडौं पाथी
र तराइयौं केजी धन्यवाद।

हरि ॐ तद्सत