कथा : ‘म लाटो र उनी’ « Himal Post | Online News Revolution
Logo

कथा : ‘म लाटो र उनी’



म साहित्यमा धेरथोर रुचि राख्ने मान्छे।सदरमुकामतिर हुने साहित्यिक कार्यक्रमहरू प्राय छुटाउदिन म।केहिदिन अगाडि मात्र पाल्पाली साहित्य समाजले तीन दिने साहित्यिक कार्यक्रम आयोजना गर्‍यो।पहिलो दिन,जसमा बिशेषगरी अपाङ्गता भएका युवायुवातीहरु बढी सहभागी भए।जसमा मैले पनि सहभागिता जनाए।पन्ध्र वर्ष देखी छब्बिस वर्ष उमेर सम्मका करिब पचास जना युवायुवतीहरु थिए त्यहाँ।एक्कसी मेरा यी एकजोडी आखाहरु अनायासै त्यही हलभित्रकै अर्को एकजोडी आखामा गएर बसे थपक्क।हरियो रङ्गको कुर्तामा सजिएकी एक जना युवातीमा गएर मेरो मन टक्क अडियो।उसले आफ्नो केश शिरमै बाटेकी थिई देखिन्थ्यो उसले भर्खर फक्रीन लाएको फुल लगाएकी छे शिरमा।गोरो अनि लम्ब आकारको उसको मुहार हेर्न मैले खासै मिहेनत गर्नुपरेन अर्थात् उ मेरो समिप मै बसेकी थिई थोरै पर मात्र।

उसलाई देखेपछी मेरो मनमा प्रेमको घन्टी बज्न थालेछ।मेरो मनले यस्तो अनुभूति गर्दै थियो जस्तो त्यो भन्दा पहिले मैले सपनामा समेत त्यस्तो आभास गरेको थिइन।मेरा उदास उदास यी मनमा अनौठो प्रेमिल धुनहरु बजिरह्यो।मानौ उनी सङ्ग मेरो बर्षौ देखिको सम्बन्ध छ।म उनी सङ्ग बर्षौ देखी परिचित छु।

उसलाई म एकटकले हेरिरहे मात्र।उसले म तिर पुलुक्क हेरिन।मैले मेरो पहिलो मुस्कान उनी तर्फ फ्यत्त फ्याकिदिए।तर उसले जवाफ दिइनन मेरो मुसकानको।मैले हिम्मत भने हारिन।अझै उसलाई हेरिरहे अँखा नथाकुन्जेल,अनि मुस्कान पठाई नै रहे।केही समयपछि उसले पुलुक्क म तिर हेरिन र मुसुक्क मन्द मुस्कानमा मुस्काई दिई।यस्तो लाग्यो सुनमा सुगन्ध हुँदैन तर उनी सुन हुन सुगन्ध सहितको।जब म उसलाई मुस्कान पठाउथे तब उसले पनि मलाई मुस्कानले नै जवाफ दिन्थिन।केही बेर हामी बिच मुस्कानको दोहोरो प्रतियोगिता चलिरह्यो।हाम्रो मुस्कानको अदानप्रदान देख्दा लाग्थ्यो हामी दुइजना कसले धेरै मुस्कान पठाउन सक्छ उसैले प्रतियोगिता जित्छ भन्ने भ्याउन्नमा छौ।

अब मलाई मुस्कुराएर समय खेर फाल्नु थिएन।म उसलाई बोलाउन चाहन्थे।मेरो मनमा गुम्सिरहेका सबै कुराहरू उनी सामु भनेर हलुको कपास हुन चाहन्थे।तर दुर्भाग्य म कहिल्यै बोल्न सक्दिनथे।म लाटो मान्छे हु।अनि सोचे “के उनी र म बिच प्रेम हुन सक्ला?म अपाङ्गता भएको मान्छेलाई उसले स्विकार्ला ?”।फेरि मनमनै उ प्रति पलाएको मेरो मायाको भ्रुणहत्या गरिदिए।

म अरू जसरी बोल्न सक्दिन।मेरो ओठबाट आवाज निस्किदैन।म लाटो मान्छे अर्थात् आपाङ्गताको दर्जामा सुचिकृत हुन सफल मान्छे म।बाबुआमाले सत्यवती बज्यैसङ्ग केही मागेका थिए रे त्यो म नै थिए।वैवाहिक जीवनको धेरै समय पछि मैले एक्लो सन्तानको रूपमा जन्म लिदा मेरा आमाबाबु यति खुसी हुनुभयो रे मानौ ओलम्पिकमा युगल जोडी तर्फ स्वर्ण पदक हात पर्न सफल भएका थिए मेरा आमाबाबुले।तर दुइतीन वर्षमा अरू साथीहरूले आफ्ना आमाबाबुलाई “बाबा” “आमा” भनिरहदा मैले केवल आफ्नो हत्केलाले मेरा आमाबाबुलाई देखाइरहे।मेरो रुद्रघण्टीलाई ठुलो पहाडले थिचिरहेको छ सायद।अरूले जस्तै मैले “आमा” “बाबा” भन्न सकिन।आफ्नो एक्लो सन्तानको यस्तो पिडादयी अवस्था देखेर मेरा आमाबाबुको खुसी बोक्ने जहाजको पक्कै पनि टाइटनिक जहाजको जस्तै दु:खद अन्त्य हुँदो हो।मेरो आमाबाबुको लागि पक्कै पनि म “नखाउ त दिनभरिको सिकार,खाउ त कान्छा बाबुको अनुहार जस्तै हुँदो हो”
फेरिपनी मेरा आमाबाबुले दोस्रो सन्तानको आस कहिल्यै गर्नुभएन।हमेसा मेरै खुसी सोच्नुभयो अनि मेरै खुसीको लागि गर्नुभयो।उहाँहरूको असीमित माया पाउँदा सोच्ने गर्छु म लाटो होइन,मैले मात्र मेरो जिबनकथामा लाटोको भूमिका निर्वाह गरिरहेको छु।
सायद मैले कहिल्यै बोल्न नसक्ने भएर होला बदलामा मैले मेरा परिवारबाट सातौ जुनीसम्मलाई पुग्ने प्यार,माया अनि हौसला पाइरहेको छु।हरेक मान्छेमा गुण अवगुण दुवै हुन्छ,म बोल्न सक्दिन यसलाई मेरो अवगुण पनि भन्न मिल्दैन।तर सोच्छु म मा धेरै गुणहरू छ्न जसले मलाई आफ्नै जीवनसङ्ग गुनासो गर्न बाध्य पारेको छैन।मैले एसएलसी प्रथम श्रेणीमा पास गरेको छु।त्यसपछि हरेक क्षेत्रमा धेरै अवसर हरू पाउदै आएको छु मैले।मेरा आमाबाबुबाट मैले अरू सन्तानले जसरी नै माया पाइरहेको छु।मैले हिजोका दिनसम्म कहिल्यै पनि आफ्नो भाग्यप्रति गुनासो गर्नुपरेको थिइन।

अरू मान्छेहरू मुखले बोल्छन तर म मनले बोल्छु,मेरो आत्मीयताको नजरले बोल्छु।म सङ्ग पनि मन छ अरूको जस्तै।मेरा पनि भावनाहरू छन् अरूका जस्तै।हो मैले मुखले बोल्न सक्दिन।अरूले मुखले बोलेका भन्दा प्रिय अनि शक्तिशाली शब्दहरू म मनबाटै बोल्ने गर्छु।”के मैले प्रेम गर्न नपाउनु?के मैले आफ्नो मनको अभिव्यक्ति प्रस्तुत गर्न नपाउनु?” मनमा यस्तै कुराहरू खेलिरह्यो।मानौ यो मेरो मन होइन एउटा सधैको व्यस्त रङ्गशाला हो।

मलाई पहिलोपटक आफू बोल्न नसक्ने भएकोमा गुनासो भयो।आफूलाई संसारकै अभागी ठाने।तर यो मेरो गल्ती थिएन न मेरो आमाबाबुको नै थियो।न त कसैलाई दोष दिएर मेरो मेरो मुखबाट बोली नै फुट्थ्यो।

म निउरि रहे केहिबेर।उनी तर्फ फर्कीने आट नै गर्न सकिन।मेरा उनी प्रतिका प्रेमभावहरु एक्कसी सगरमाथाको चुचुरोबाट तराईका समथर भागमा ओर्लिए।मेरो मनले अटेरी गरिरह्यो।माष्तिष्कले उसलाई भुल भन्दै थियो तर मनले माष्तिष्कको अलिकति पनि सुनेन।फेरि उसको मुस्कान पाउने आसमा उसलाई हेरिरहे।यस पटक अलि भावुक हुँदै हेरिन।मैल अघिको जस्तो मुस्कान पाइन उसको ओठमा।सोचे उसङ्ग केही पिडाहरु छन् जुन पिडा म सामु सुनाउन उसको ओठ अतुर छ।

म अझै उसलाई हेरिरहे आँखा झिमिक्क नगरी।यति बेला उसले पनि मलाई केहिबेर हेरिरही।हामी बिच हेराहेर भयो।अब त लाग्यो उसले पनि मलाई पक्कै मन पराउछे सायद। तर उनी सामु मैले मन पराउछु भनेर भन्न म सक्दिनथे।म चाहन्थे उसले आफ्नो मनको कुरा भनोस म सङ्ग।उसले नै माया गर्छु तिमीलाई भनोस।म त केवल सुन्न सम्म न सक्थे।मेरो मनमा प्रेमको मुना पलाईसकेको थियो।कतै मेरो अपाङ्ग्ताको कारण मेरो प्रेमको मुना भाचेर फाल्ने त होइनन।फेरि मनमा शङ्काको ढ्याङ्ग्रो बज्न थाल्यो।

केही बेरपछी हलबाट बाहिरियौ।हलबाट बाहिरिदा ढोकामा उनी म सङ्ग ठोकिइन।म पनि लाजले रातो पिरो भए।उनी पनि पानी पानी भैइन।म चाहन्थे उसले यो मौका छोपेर केही बोलोस।म सुन्न अतुर थिए।उसको मुखबाट म केही न केही सुन्न चाहन्थे।उसको बोलीको आभास गर्न चाहन्थे।तर उनी केही बोलिनन।उनी आफ्नै सुरमा अगाडि बढिरहिन।न मैले बोलाउन सके न त उसले फर्केर नै हेरिन मलाई।फेरि केहिसमय अघि चम्किलो मेरो मुहार कालो बादल लागेको आकाश जस्तै भयो।

दोस्रो दिन पनि उनी आईन कार्यक्रममा।म पनि गए।आज अलि भिन्दै देखिन्थी।आज निलो रंङ्गको कुर्ता लगाएकीले होली,आज झन् हिजो भन्दा राम्री देखिएकी थिई उनी।मान्छेहरू झुट बोल्दा रहेछन् आफू नमरी स्वर्ग देखिदैन भनेर तर मैले मेरै अगाडि नमरीकन स्वर्गकी अप्सरा भेटेको थिए।अरूको नजरमा जस्ती भए पनि मेरो लागि अप्सरा नै थिइन उनी।आज पनि हिजोको जस्तै मुस्कानको जुहारी भैरह्यो हामी बिच।तर मनको कुरा न उसले भन्न सकी न मैले नै भन्न सके।उनी निकै नै आत्मीय भैसकेकी थिइन मेरो।तर दुर्भाग्य मैले उसको नाम सम्मपनि थाहा पाउन सकिन।उसले सोच्दी हुन मैले नै प्रस्ताव राखोस तर मैले कसरी प्रस्ताव राखु।म बोल्न सक्दिनथिए।म विवश थिए आफ्नो मनको गाठो फुकाउन असमर्थ थिए।

तेस्रो दिन कार्यक्रम सकिने दिन थियो।आज त म मनको कुरा जसरी नि लेखेर दिन्छु भन्ने सोच्दै गए अलि सबेरै।सबै साथीहरू आए तर समय बितिसक्दा पनि उनी आईनन।मनमा चिसो पस्यो।मन अमिलो भएर आयो।मनमा फेरि अनेक प्रश्नहरू खेल्न थाल्यो।मेरा हड्डीहरु गायब भएजस्तै लल्याक्लुलुक भए म।केही सोच्न सकिन।यस्तो आभास भैरह्यो मानौ मेरो मुटु म सङ्ग छैन अन्तै कतै छुटेको छ।
उताबाट उसकी हिजोको साथी आई र भनी
“केशर तपाईँ नै हो?”
टाउको हल्लाउँदै मैले “उम”को सङ्केत गरे।अनि उसले एउटा पत्र मेरो हातमा थमाईदिइ
“यो मेरो साथीले दिएकी तपाईँलाई,पढ्नुस है जसरी नि” अनि सरासर आफ्नो बाटो लागिन।मैले पत्र उत्सुकताको साथ पत्र खोलेर हेरे लेखिएको थियो
“केशर जी,
आचम्म नमान्नु होला कसरी मैले तपाइको नाम पत्ता लगाए भनेर।मैले कार्यक्रमको राजिष्टर हेरेर तपाइको नाम पत्ता लगाएकी हु।मलाई आजभोलि के भैराछ म आफैलाई थाहा छैन।तपाईँलाई भेटेको दुइदिन मात्र भएको छ तर पनि तपाईँ मेरो शतब्दीऔ देखिको मनको मान्छे हुनुहुन्छ जस्तो लाग्छ।मैले थाहा पाएकी छु,म तपाइको मायामा फस्दै गएको छु र मलाई यो पनि थाहा छ तपाईँले नि मलाई मन पराउनुहुन्छ।म कति विवश छु,तपाईँलाई मन पराउछु भनेर भन्न सक्दिन।तर तपाईँ एकदमै भ्रममा हुनुहुन्छ,म अरू जस्ती केटी होइन जुन सोचेर तपाईँ मलाई माया गर्नुहुन्छ।म एउटी लाटी केटी हु।म तपाईँ जस्तो बोल्न सक्ने मान्छे होइन।म तपाईँको लायकको केटी होइन।अन्यथा नलिनुहोला,म जिन्दगीमा कसैको बोझ बन्न चाहन्न।जसरी हुन्छ आफ्नै तरिकाले जिउन चाहन्छु।त्यसैले तपाईँ सामु आज उपस्थित हुने आट गर्न सकिन र अब कहिल्यै भेट नहोला।सुखी अनि खुसी रहनु।उही भाग्यले ठगेको मान्छे लाटी शकुन्तला।”

पत्र पढ्दा सम्म आखाका डिलमा आशु टम्म टम्म भरिए ।अनि मेरा मोती जस्ता आशुका दाना त्यही पत्रमा खसिरहे टप्प टप्प गर्दै।त्यो भिडको कोलाहल पनि शून्य शून्य लाग्न थाल्यो।म भर्खरै मात्र गन्तव्यको लागि सवारी छुटेको यात्रु जस्तै भए।म सङ्ग मेरो शरीर मात्र थियो,आत्मा त उसैसङ्ग छुटेछ क्यारे।फेरि एकचोटि मात्र उसलाई भेट्न पाउ भनी ईश्वर सङ्ग मनमनै कति बिन्ती बिसाए तर अह आज सम्म उसलाई भेट्न सकेको छैन।अब त निराशाले नै म मा कब्जा जमाइसकेको छ।सोच्छु,बरु चन्द्रमालाई छुन सक्छुहोला,ताजमहल खरिद गर्न सक्छुहोला तर उसलाई भेट्न असम्भव नै हुनेछु।सोचे,उसको सम्झनामा आफ्नै कथा लेख्न बाहेक अरू कुनै विकल्प छैन म सङ्ग उसका यादहरू भुलाउन अनि लेखे यही कथा ‘म लाटो र उनी’ ।

केशु खण्डलुक मगर
पाल्पा