एमालेसँग एकता हुँदैन, ओलीलाई नेकपा एसमा स्वागत गर्न सकिन्छ: माधव नेपाल - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

एमालेसँग एकता हुँदैन, ओलीलाई नेकपा एसमा स्वागत गर्न सकिन्छ: माधव नेपाल



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको तर एकीकृत समाजवादी ओलीहरूलाई स्वागत गर्न सकिने बताएका छन् । उनले एकता चाहनेलाई नेकपा एसमा आउन आग्रह गरे ।

‘उहाँहरु एकता चाहनुहुन्छ भने हाम्रो पार्टीमा स्वागत छ, तर केपी ओलीसँग हामीले एकता गर्ने प्रश्नै छैन,’ माधव नेपालले दृष्टि साप्ताहिकसँग गरेको कुराकानीमा भनिएको छ,‘यसमा कसैले भ्रम नपाले हुन्छ ।’

एमालेमा रहेका योग्य र इमान्दार नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आएमा स्वागत गरिने नेपालको भनाई छ । उनले गठबन्धन तोड्ने पक्षमा नभएको बताए । अहिलेको कमी कमजोरीलाई सुधारेर आगामी चुनावमा गठबन्धन बनाएरै जानुपर्ने बताए ।

मुलुकमा संविधानको रक्षा, प्रगतिशील रुपान्तरणको बाधक शक्तिलाई परास्त नगरी गठबन्धनको कार्यभार पूरा नहुने नेपालको भनाई छ । उनले भने,‘हाम्रो मुख्य उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको रक्षा र मुलुकको प्रगतिशील रुपान्तरण हो ।

त्यसको बाधक शक्तिलाई परास्त नगरी यो गठबन्धनको कार्यभार पूरा हुने छैन । त्यसैले अहिले जति एकता र सहकार्य हुन्छ, त्यो पाँच दलभित्र मात्रै हुन्छ, त्यसबाहेकका कुराहरु सबै भ्रम हुनु हल्लावाजी मात्रै हुन् ।’