देउवा निकट भएकैले महत फेरि मालामाल- रोजेको मन्त्रालय दिने देउवाको तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवा निकट भएकैले महत फेरि मालामाल- रोजेको मन्त्रालय दिने देउवाको तयारी



काठमाडौं- सभापति शेरबहादुर देउवा निकट भएकै कारण पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले चुनाव लड्ने हिम्मत नगरेपनि हरेक पल्ट अवसर पाउने गरेका छन् । उनलाई मात्रै अवसर दिएको भन्दै कांग्रेसभित्रै देउवाको आलोचना समेत हुने गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उनैलाई प्रार्थमिकतामा राखेपछि देउवाको फेरि आलोचना हुन थालेको छ । मन्त्रालय बाँडफाँटको तयारी हुँदै गर्दा देउवाले भने कांग्रेसबाट नेतृत्व गरेर महतलाई नै पठाउने तयारी गरेका छन् ।

यसअघि गठबन्धन भत्काउन भूमिका खेलेको, सभापति देउवालाई गलत सल्लाह दिएको भन्दै चर्को आलोचना खेपेका महतलाई नै रोजेको मन्त्रालय सहित सरकारमा पठाउन थालेपछि पार्टीभित्र आलोचना हुन थालेको हो ।

यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा थियो तर सभापति देउवाले आफू निकट महतलाई कांग्रेसको नेतृत्व गर्दै प्रचण्ड सरकारमा सहभागी गराउने तयारी थालेपछि उनको ‘च्याप्टर क्लोज’ भएको छ।

स्रोतका अनुसार देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामको सूची सार्वजनिक गर्ने तयारीमा छन् । प्रचण्ड सरकारमा पार्टीबाट पठाउने मन्त्रीहरूको नाममा विवाद आउने पक्का जस्तै भएकाले देउवाले आजै पार्टीका शीर्ष नेताहरूसँग परामर्श गर्ने तयारीमा छन्।

प्रधानमन्त्री प्रचण्डले पनि सभापति देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन्। भेटमा प्रचण्डले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन देउवालाई आग्रह गरिसकेका छन्।

बुधबार बसेको दस दलीय गठबन्धन बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। तर बैठकमा सहभागी नेताहरू मन्त्रालय बाँडफाँटको सहमति नजिक पुग्न भने नसकेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले १३ चैतभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने जानकारी गठबन्धन दलको बैठकमा गराएको कांग्रेस प्रवक्ता महतले बुधबार नै बताएका थिए।

बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा अड्को नथाप्न गठबन्धनमा आबद्ध दलका नेताहरूसँग आग्रह गरेका थिए। सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा प्रचण्डले मन्त्रालय नेतृत्वविहीन हुँदा काम गर्न असहज भएको विषय प्रवेश गराएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका थिए।

बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मन्त्रिपरिषद् विस्तारबारे छलफल सुरु भएकाले छिट्टै मन्त्रालय बाँटफाँटको टुंगो लगाएर निष्कर्षमा पुग्ने विषयमा शीर्ष नेताहरू सहमत भएको बताउँछन्।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा ११ दलबाट विश्वासको मत पाएपछि १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गरिने बताएका थिए। तर सत्तारुढ दलहरूबीचमै धेरै मन्त्रालयमा मागदाबीमा आएपछि भागबन्डाको किचलोका कारण शुक्रबार पनि मन्त्रिपरिषद् विस्तार नहुने संकेत देखिएको छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका ११ वटै दलले मन्त्रालय बाँडफाँटमा सम्मानजनक हिस्सेदारी खोजेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन्। विश्वासको मत दिने दलहरूको संख्या र सरकारमा जान चाहेका दलहरू धेरै भएका कारण मन्त्रिपरिषद् विस्तार अझ केही दिन पर धकेलिने उनको दाबी छ।