राजेन्द्र महतोले गरे सरकारसँग सहकार्य गर्ने सङ्केत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजेन्द्र महतोले गरे सरकारसँग सहकार्य गर्ने सङ्केत



काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर सङ्घीय सरकारमा आफूहरूको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ र राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच संवाद जारी राख्ने स्पष्ट पारेको बताए।

उनले भने, ‘हामी दुई पार्टीबीच भएको २ बुँदे सहमतिलाई लिएर अहिले विभिन्न अड्कलबाजी भैरहेका छन। तर, ती अड्कलबाजीमा कुनै सत्यता छैन। जे हल्ला फैलाईएको छ, त्यो निराधार, गलत र असत्य हो।’ उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात संवादहीनताको अवस्थाको भने अन्त्य गरेको स्पष्ट पारे।

उनले नेकपासँग २ बुँदे सहमति गर्नुको कारण पनि खुलाए। उनले राष्ट्रियसभाको निर्वाचनको लागि नेकपासँग २ बुँदे सहमति गर्नुअघि यसअघिको राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसबीचको गठबन्धनलाई नै अघि बढाउने उद्देश्यले आफूले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको सुनाए।

उनले भने, ‘मैले उपेन्द्रजीसँग कुरा गरेको थिएँ, तर उहाँले कांग्रेससँग सम्झौता नगर्ने भनेपछि हामीले नेकपासँग कुरा गरेर सहमति गरेका हौं। अहिले हामीबीच भएको २ बुँदे सहमतिले रिक्त सिट जोगाउन बहुमत पुग्छ। हाम्रो सम्झौता निर्वाचन प्रयोजनको लागि हो। यसले हाम्रो पनि २ सिट सुरक्षित हुन्छ।’

उनले उक्त सहमतिले सङ्घीय सरकारमा राजपा सहभागी हुने भनेर कहीँकतैपनि नबोलेको स्पष्ट पारे। उनले भने, ‘सम्झौता त आफैं बोलिरहेको छ नि, हामीबीच भएको सहमतिले २ नम्बर प्रदेशको सरकारलाई पनि कुनै असर गर्दैन। सम्झौताले सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धमा केही पनि बोलेको छैन।’

दुई पार्टीबीचको सहमतिलाई लिएर शंकाको भरमा लंका नजलाउन पनि उनले आग्रह गरेका छन्। तर, दुई बुँदे सहमतिले सत्तारुढ नेकपासँग वार्ताको ढोका भने खोलेको उनको स्पष्टोक्ति थियो। उनले भने,‘हाम्रो मागप्रति सरकारको रवैया के हुन्छ? हामीले उठाएका संविधान संशोधनको माग, हाम्रा नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झुठा मुद्दा फिर्ताको माग, रेशम चौधरीको रिहाइलगायतका माग छन्, यसमा सरकारको रवैया सकारात्मक भए हाम्रो व्यवहारपनि सकारात्मक हुन्छ।’

उनले सरकारसँग राजपा नेपालको सहकार्य हुनसक्ने सम्भावना औंल्याए। उनले थपे, ‘सरकारसँगको सहकार्यको सम्बन्धमा सरकारको व्यवहार र क्रियाकलाप र हाम्रो गतिविधिले निर्भर गर्छ। नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन, राजपाको माग र मुद्दा सम्बोधन हुने हो भने सरकारसँग सहकार्य हुनसक्छ।’

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीचको एकताको ढोका खुल्लै रहेको पनि स्पष्ट पारे। उनले भने, ‘एकीकरण त हाम्रो पार्टीको कार्यनीति नै हो। अहिले जनताले बलियो वैकल्पिक शक्ति खोजिरहेका छन् ।

नेकपा र कांग्रेसजस्ता ठूला पार्टीले जनताको समस्या सम्बोधन गर्न सकेको छैनन् र सक्दैनन् पनि। अहिले जनताले वैकल्पिक राजनीतिक शक्ति खोजिरहेका छन् । हामी पनि वैकल्पिक शक्ति निर्माणमा केन्द्रित छौं ।’ सोहीअनुसार समाजवादी पार्टीसँग सहकार्य र एकीकरणको लागि आफूहरूले कार्यनीति बनाएको पनि उनले सुनाए ।

महतोले संघीय संसदको प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया पुष ११ गतेबाट सुरु हुने बताउँदै सभामुखमा नेकपाको दाबी रहँदा उपसभामुख प्रतिपक्षलाई जाने स्पष्ट पारे। उनले भने, ‘उससभामुख प्रतिपक्षलाई जाने हुँदा हामीलाई पनि आउन सक्छ, राजपा नेपाललाई पनि दिन सकिन्छ, अब कहाँ समझदारी हुन्छ, त्यही अनुसार हुन्छ।’

उनले प्रदेश नम्बर २ को सरकारले विभिन्न कठीनाइका बावजुदपनि आफ्नो काम गरिरहेको स्पष्ट पारे। उनले भने, ‘प्रदेश सरकारले सङ्घबाट पर्याप्त सहयोग पाईरहेको छैन। सहयोग गर्नुपर्छ।’

महतोले नेपाल–भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट हल गरिनुपर्नेमा जोड दिए। उनले भने, ‘भारतसँगको सीमा विवाद जो छ, कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद, यो समस्या आजको होइन। ५०, ६० वर्षदेखि समस्या रहँदै आएको छ।

हाम्रा सरकार यतिका वर्षसम्म कुम्भकर्णको निन्द्रामा सुत्न मिल्छ? आँखामा पट्टी र कानमा तेल हालेर सरकार सुत्न मिल्छ?’

उनले सीमा विवादको समाधान कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कुरा दोहोर्याउँदे सडकमा नारा लगाएर समस्याको समाधान नहुनेपनि जिकिर गरे।

उनले भने, ‘दूताबासमा पुत्ला दहन गरेर समस्याको समाधान हुन्छ त? यो समस्या समाधान गर्ने दायित्व सरकारभित्र पर्छ।’