मैले मदन कृष्ण श्रेष्ठ सँग फोटो खिचिन « Himal Post | Online News Revolution
Logo

मैले मदन कृष्ण श्रेष्ठ सँग फोटो खिचिन



बनिता खनाल

दुई हप्ता अघि मेरो मोबाइल बज्यो, “मदन दाइ कलिङ”, देखेर उत्साहित हुँदै फोन उठाए, “बनिता, भाद्र २० गते होटेल याक यान्ड यतीमा मेरो किताबको लोकार्पण कार्यक्रम छ, तिमीलाई निम्ता दिन फोन गरेको, अब फेरी फोन गर्न बिर्सिन्छु होला, तिमी आऊ है”, दाइको कुरा सुनेर आफू धेरै नै माथि पुगेको जस्तो भान भयो, हुन त मदन दाइ सँग चिन जान भएको लगभग ६ वर्ष जति भयो, यो दोहोरानमा सधैँ मैले फोन गर्ने गरेको थिए, पहिलो पल्ट दाइ ले आँफै फोन गरेको देखेरै धेरै खुसी भएकी थिए, अझ दाइले आफ्नो जीवन को यती महत्त्वपूर्ण पलमा मलाई पनि भागीदार बनाउन खोज्नु भएको सुनेर मेरा आँखा खुसीले रसाए  माइतीमा थिए, दौडिदै भान्छामा आमाको नजिक गएर मेरो खुसी व्यक्त गरे, यती मात्र होइन तुरुन्तै श्रीमानलाई फोन गरेर बताए।

मेरो खुसीको सीमा थिएन, कुन दिन पर्दो रहेछ २० गते भनेर पात्रो हेरेको, मङ्लबार रहेछ, एक्छिन अचम्म परे, आखिर किन मङ्लबार  बिदाको दिन किन राख्नु भएनछ भनी सोचे। जे जसो भए पनि म कार्यक्रममा जाने निश्चित नै थियो। २ हप्ता को पर्खाइ पछि २० गते आयो, मलाई अघिल्लो दिन राती निन्द्रा लागेन। बिहानै देखी २ कति खेर बज्ला भनेर कुरिरहे। मेरो दुर्भाग्य २० गते का दिन म अफ भए। हिँड्न गाह्रो भइरहेको थियो। जिउ धान्न गाह्रो भइरहेको थियो । जिउ कामिरहेको थियो। दिक्क लाग्यो, आजै किन यस्तो हुनु परेको  यो पार्किन्सन्स् रोगको एउटा रूप नै हो, कहिले अन कहिले अफ । धन्न श्रीमानको छुट्टीको दिन भएको भएर मलाई याक यान्ड यती पुग्न लाई भने गाह्रो भएन ।

बाइक पार्क गरेको ठाउँ देखी कार्यक्रम हल सम्म पुग्न मलाई निकै गाह्रो पर्‍यो। हल भित्र जिउ धान्न नसकेर लड्छु कि भनेर धेरै डर लागिरहेको थियो । हलमा पुग्ने बित्तिकै मदन दाइ कि बुहारी सँग भेट भयो। उहाँले मलाई चिन्नु भयो। मेरो श्रीमान् पनि सँगै हुनुहुन्थ्यो। हामी हल भित्र गएर कुर्सीमा बस्यौ । मदन दाइ भने अगाडि पट्टी बस्नु भएको रहेछ । यसोधा भाउजू आइपुग्नु भएको रहेनछ । धेरै कलाकार, लेखक, पत्रकार, ब्यबसाइ अनि विभिन्न प्रतिष्ठित व्यक्ति हरू उपस्थित हुनुहुन्थ्यो। धेरै चोटि मदन दाइलाई भेट्न अगाडि तिर जाऊ कि भन्ने सोचे तर जिउ धान्न नसकेर लडुला भन्ने डर ले गर्दा आट आएन । पछि मदन दाइ आँफै म भएको ठाउँ तिर आउनुभयो। उहासँग भेट भयो।

कार्यक्रम भरी नै मैले दाइलाई हेरिरहे। मान्छेहरू सबै उहा सँग फोटो खिच्न आतुर थिए। नहुन पनि किन  उहालाई मन नपराउने सायदै कोही होला। मलाई पार्किन्सन् नभएको भए सायद म पनि तिनै मान्छेहरू जस्तै फोटो खिच्न आतुर हुन्थे। तर के मलाई पार्किन्सन्स् नभएको भए मदन दाइको यती नजिक हुन्थे ! के म यस्तो कार्यक्रममा बोलाइन्थे !खैर जे होस्, पार्किन्सन्ले गरेको एउटा राम्रो काम मेरो जीवनमा यही नै हो कि मदन दाइले मलाई नाम ले चिन्नुहुन्छ  ।

म आफूलाई पार्किन्सन्स् भएको कारणले मात्र फोटो खिच्न नगएकी भने पक्कै होइन। मलाई दाइ सँग फोटो खिच्ने मन नभएको पनि होइन। रहर हुँदा हुँदै पनि म गइन । किनभने मलाई मदन दाइ को स्वास्थ्य स्थिति को बारेमा राम्रो ज्ञान छ । क्यामेरा अगाडि हासेर उभिन कति गाह्रो हुन्छ पार्किन्सन् का बिरामीलाई भन्ने मलाई थाहा छ।

म किताब मा साइन गराउन पनि गाइन, रहर नभएको होइन, पार्किन्सन्को बिरामीलाई लेख्न कति गाह्रो हुन्छ मैले भोगेको छु।
त्यस कार्यक्रममा भएका अरू मान्छेलाई पनि यो ज्ञान हुँदो हो त अवश्य उनीहरूले पनि मैले जस्तै गर्थे । आखिर कसैलाई पनि दाइलाई दुस्ख दिने मन त थिएन पक्कै पनि।

यस्तै कुराहरू बुझाउन हो म निरन्तर पार्किन्सन्स्को चेतनाका लागि अग्रसर रहेको। र यती विश्वास छ आफूमा कि त्यो दिन अवश्य आउनेछ जब यस्ता कार्यक्रममा पार्किन्सन्स्का बिरामीलाई कस्ता कस्ता समस्या हुन सक्छन् र त्यस्ता समस्याबाट उनीहरूलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरा को जानकारी सबैलाई हुनेछ ।