मन्त्री लेखकको निर्देशनमा उल्टियो रुट परमिट मापदण्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मन्त्री लेखकको निर्देशनमा उल्टियो रुट परमिट मापदण्ड



१४ असोज, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ ।

प्राविधिक रूपमा सो राजमार्गमा १८ सिट क्षमताभन्दा माथिको गाडी चलाउन नमिल्ने भए पनि मन्त्री लेखकको ठाडो निर्देशनमा सो मापदण्ड उल्ट्याइएको हो ।

यातायात व्यवस्था विभागले यसअघि गठन गरेको प्राविधिक समितिले सो सडकमा १८ सिट क्षमताभन्दा ठूला गाडी चलाउन नमिल्ने प्रतिवेदन विभागमा पेस गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

तर, मन्त्री लेखकको निर्देशनमा गठन गरिएको समितिले जत्रो पनि गाडी चलाउन मिल्ने प्रतिवेदन बुझाएपछि मापदण्ड उल्ट्याएर रुट परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले हालै एउटा प्राविधिक समिति बनाएर अध्ययन गरेको र सो समितिले १८ सिट क्षमताभन्दा ठूला गाडी पनि चलाउन मिल्ने प्रतिवेदन दिएकाले सोहीअनुसार रुट परमिट दिन मन्त्रालयवाट निर्देशन आएको विभाग स्रोतले जानकारी दिएको छ ।

‘विभागले गठन गरेको प्राविधिक समितिले दुर्घटना हुने कारण जनाई १८ सिट क्षमताभन्दा ठूला गाडी चलाउन मिल्दैन भनेको छ, मन्त्रालयले अहिले गठन गरेको समितिले मिल्छ भन्ने प्रतिवेदन दिएकाले सोको कार्यान्वयन गर्न मन्त्रालयबाट पत्र आएको छ, कसरी कार्यान्वयन गर्ने भन्ने अन्योल छ,’ विभागका एक अधिकारीले भने ।

विभागले गरेको प्राविधिक अध्ययनलाई मन्त्रालयले चार महिनामै खारेज गरिदिएको छ ।  विभागका प्राविधिक निर्देशक गोविन्दप्रसाद खरेलको संयोजकत्वमा गठन गरिएको पाँचसदस्यीय प्राविधिक समितिले गत ३१ वैशाखमा प्रतिवेदन पेस गर्दै १८ सिट क्षमताभन्दा ठूला गाडी चलाउन मिल्दै नमिल्ने प्रतिवेदन विभागका महानिर्देशकलाई बुझाएको थियो ।

समितिमा विभागकै प्राविधिक निर्देशक खड्गलाल श्रेष्ठ, मेकानिकल इन्जिनियर मोहनप्रसाद भट्टराई, प्रहरी नायब उपरीक्षक जुजुभाइ तण्डुकार र सडक विभागका इन्जिनियर प्रकाश पौडेल सदस्य थिए।

विभागले यसअघि १७ फागुन २०७१ मा गठन गरेको प्राविधिक समितिले पनि सो सडकमा १८ सिट क्षमताभन्दा ठूला गाडी चलाउन नमिल्ने प्रतिवेदन बुझाएको थियो। तर, मन्त्री लेखकको निर्देशनमा गत २३ साउनमा गठित समितिले ७ असोजमा प्रतिवेदन बुझाउँदै सो सडकमा १८ सिट क्षमताभन्दा ठूला गाडी पनि चलाउन मिल्ने सिफारिस गरेको छ।

मन्त्री लेखक २० साउनमा मात्रै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।  उनले मन्त्री बनेको तीन दिनपछि नै मन्त्रालयका सहसचिव विष्णुओम बादेको संयोजकत्वमा प्राविधिक समिति गठन गरेका थिए।