मन्त्रिमण्डल पुर्नगठन तयारी: खतिवडा 'आउट', वामदेव र विष्णु 'इन' हुनसक्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मन्त्रिमण्डल पुर्नगठन तयारी: खतिवडा ‘आउट’, वामदेव र विष्णु ‘इन’ हुनसक्ने



काठमाडौं – एमसीसी सम्झौताका कारण पार्टीभित्र रक्षात्मक बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । पछिल्लो समय कोरोना महामारीलगायतका कारणले सरकार बदनाम भएको र मन्त्रीहरूले आफ्नो स्प्रिटअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै उनले मन्त्रीमण्डल परिवर्तन गर्ने मुड बनाएको स्रोतले बताएको छ ।

सत्तारुढ दल नेकपभित्र केही महिनायता एमसीसी, कोरोना रोकथाम, बजेट लगायतका बिषयले प्रधानमन्त्री ओली र उनको गुट निकै कमजोर बन्दै गैरहेको छ । ओलीका विश्वास पात्र ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति पनि काम गर्न नसकेको, विवादमात्र खडा गरेको भन्दै केहिदिन अगाडी मात्रै खारेज गर्ने निर्णय ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई हाल निकै ठुलो तनावको बिषय भने एमसीसीनै बनेको छ । एमसीसी सम्झौता सत्तारुढ दल नेकपाभित्र अहिले एमसीसीलाई लिएर विवाद छ ।

प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल एमसीसीलाई संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एमसीसीको विरुद्धमा छन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा एमसीसीको विरुद्धमा भएपनि उनले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा सोमबार भएको भेटमा समेत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे सहमती हुन सकेन् । शितलनिवासमा भएको भेटमा नेकपाका अध्यक्ष प्रचण्डले पूर्वमाओवादीमा उर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन अनन्त बाहेक कोही पनि एमसीसीको पक्षमा नरहेकाले यसलाई अघि बढाउन नसकिने प्रष्ट जवाफ दिएका छन् । प्रचण्डको अडानपछि एमसीसी संसदबाट पारित हुने सम्भावना कम छ ।

पार्टीभित्र चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पनि एमसीसीका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको स्रोत बताउँछ । उनले एमसीसी पारित गर्न हरसम्भव कोशिस गर्ने नभएपनि त्यसैका लागी मरिहत्ते नगर्ने रणनीति बनाएका छन् ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा छन् । उनी सचिवालयका सदस्यहरु गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलबाहेक पुराना मन्त्रीहरु परिवर्तन गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री ओली पूर्वमाओवादीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई परिवर्तन गर्ने पक्षमा छन् । पुराना मन्त्रीमध्येबाट वनमन्त्री शक्ति वस्नेत र गृहमन्त्री थापालाई निरन्तरता दिनेमा प्रधानमन्त्री ओली छन् ।

उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री रामेश्वर राय यादव मन्त्री भएको धेरै नभएकाले उनीहरुलाई हटाइहाल्ने पक्षमा प्रधानमन्त्री ओली नभएको स्रोतको दावी छ । उद्योगमन्त्री भट्ट त पछिल्लो समय प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेकाले पनि उनी मन्त्रीका रुपमा रहिरहने सम्भावना छ । तर, अर्का अध्यक्ष प्रचण्ड उद्योगमन्त्री भट्ट र गृहमन्त्री थापाको विकल्प खोज्नेमा छन् ।

प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य श्रेष्ठलाई त शिक्षामन्त्रीका रुपमा सपथग्रहण गर्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले परराष्ट्रमन्त्रालयमै रुची देखाएका छन् । प्रधानमन्त्री श्रेष्ठलाई मात्र होईन उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्न आग्रह गरेका छन् ।

श्रेष्ठ र गौतम मन्त्रिपरिषद्मा प्रवेशगरेसंगै सचिवालयमा बहुमत बन्ने प्रधानमन्त्रीको हिसाब छ । यता अर्थमन्त्रीकै लागि पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे समेत दौडमा छन् ।

पुर्व एमालेबाट अर्थमन्त्री युवराज खतिवडासहित, भुमिसुधार मन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली छन् । त्यसका साथै रिक्त रहेको सञ्चार र शहरीमन्त्रालयमा समेत नयाँ मन्त्री नियुक्त गर्ने तयारी उनले गरेका छन् ।

यो सामाग्री काठमाडौंपाटीडटकमको सहयोगमा राखिएको हो