पूर्वमाओवादीहरू एमालेबाट पत्तासाफ हुने संकेत - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

पूर्वमाओवादीहरू एमालेबाट पत्तासाफ हुने संकेत



काठमाडौं- नेकपा एमालेको जारी दशौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा ३ पदाधिकारी परेका छन् ।

उपाध्यक्षमा रामबहादुर थापा र सचिवमा लेखराज भट्ट र टोपबहादुर रायमाझी ओलीले प्रस्ताव गरेका नेताहरू हुन् । तर बिडम्बना के छ भने यी दुवै पदमा ओलीइतर नेताहरूले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएका छन् भने सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेद्वारी परेको हो ।

यी दुई पदमा निर्वाचन हुने पक्कापक्की छ । निर्वाचनमा जाँदा पदाधिकारीहरूले उपाध्यक्षका उम्मेदवार थापा र सचिवका उम्मेदवारद्वय भट्ट र रायमाझीलाई छोडेर एमाले नेताहरूलाई नै मत हाल्ने सम्भावना देखिन्छ ।

सोमवार बिहान करीब तीनबजे ओलीले १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत भएका छन् भने महासचिवमा शंकर पोखरेल छन् । दुवै पदमा कसैले चुनौती दिएको छैन । पोखरेलद्वयको पद सुरक्षित बनेको छ ।

वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका सुवासचन्द्र नेम्वाङ र महासचिवमा दाबी गरिरहेका विष्णु पौडेल दुवैलाई ओलीले उपाध्यक्ष प्रस्ताव गरेका छन् ।

ओलीले आफैंलाई अध्यक्ष प्रस्ताव गरेका थिए भने वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ छन् ।

त्यस्तै महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल छन् । सचिवमा टोपबहादुर रायमाझी, रघुविर महाशेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ठ, पद्मा अर्याललाई ओलीले प्रस्ताव गरेका हुन् ।

यी पदहरूमध्ये उपाध्यक्ष र सचिवमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी प्रतिस्पर्धा भए पूर्व माओवादी नेताहरूलाई बहुमत ल्याएर जित्न कठिन हुनेछ ।

पूर्व माओवादी नेताहरूलाई सेटल गर्नकै निम्ति सर्वसम्मत नेतृत्व चयन गर्ने प्रक्रियामा जाने दाबी नेताहरूले गरेका थिए । यतिबेला जहाँ पूर्व माओवादी नेताहरूको उम्मेदवारी छ, त्यहीँ अन्यले पनि उम्मेदवारी दिएका हुन् ।

निर्धारित समयभित्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता नलिए साँझसम्म निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

अध्यक्षमा भीम रावलले ओलीलाई चुनौती दिएका छन् । आफूले जिते आगामी आम निर्वाचनमा एमालेलाई बहुमत दिलाउने प्रतिबद्धतासहित रावलले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।