नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- 'साउथ इन्डियन फिल्म'को झल्को - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को



मलंगवा- जनताको प्रत्यक्ष शासन चल्ने संघीय गणतान्त्रिक मुलुक जहाँ मानव अधिकार, कानून र सुरक्षाको प्रत्याभूति हुन्छ । यही राज्यको कुनै कुनामा सत्ताको आडमा नागरिकले त्रासद जीवन जिउनुपर्ने अवस्था पनि छ भन्दा मजाक जस्तो लाग्छ । तर यो वास्तविकता हो ।

राजनीति, गुण्डागर्दी र नेताहरूको आडमा जनप्रतिनिधिले मानव अधिकार, कानून र सुरक्षाको प्रत्याभूति जस्ता शब्दको चिरहरण गरेपछि नागरिकको जीवन कस्तो बन्यो होला हामीले कल्पनामात्र गर्न सक्छौँ । केही अपराधिक मानसिकताका व्यक्तिहरूको सनकको कारण हालको व्यवस्थाप्रति नै जनताको मनमा वितृष्णा पलाउन थालेको छ ।

जनताको बलमा ल्याएको नयाँ व्यवस्थामा कानूनी राज्यको मजाक त त्यतिबेला हुन्छ जतिबेला यहि देशमा एउटा जनप्रतिनिधिले राणाकालकै झल्को दिने गुण्डाराजको शासन चलाउँछ । झट्ट सुन्दा पत्याउन गाह्रो भएपनि भोग्नेहरूलाई भने यी पिडा खपिनसक्नु छ । सूचना, सञ्जाल र प्रविधिको युगमा पनि जसलाई भोट दियो उसैबाट त्रास खेपेर बस्नुपर्ने, जति पिडा हुँदापनि उनीहरूकै गुणगान गएर, अन्यायलाई मनभित्र दबाएर बस्नुपर्ने अवस्था छ ।

सर्लाहीको बागमती नगरपालिकाका स्थानीयहरूले यस्तो गुण्डागर्दी र त्रासद जीवन प्रत्यक्ष भोगिरहेको बताउँछन् । अन्याय र अत्याचारबारे बोल्न समेत डर मान्नुपर्ने अवस्था छ । अन्यायविरुद्ध बोलेकै कारण कैयौँको कुटपिट भैसकेको छ । एउटा सच्चा समाजमा यस्ता घटनालाई अपराध मानिन्छ तर राजनितीक नेतृत्वको आडमै यस्ता हर्कत हुँदा स्थानीय पीडा लुकाएर बस्न बाध्य छन् ।

यहाँका स्थानीयले सुनाएका कतिपय घटना सुन्दा ‘साउथ इन्डियन फिल्म’को झल्को आउँछ । कहानी बताएपछि उनीहरू आफ्नो नाम भने सार्वजनिक नगर्न आग्रह गर्छन । धेरैजसो त बोल्नै मान्दैनन् । एक स्थानीयले हालकै घटना स्मरण गर्दै हामीलाई सुनाएको घटना अचम्मको थियो, उनले सुनाएको घटना अनुसार सुकुम्बासी बस्तीका स्थानीयहरूले काठमाडौंबाट आएका पत्रकारहरूलाई आफ्ना समस्या बताएकै कारण हप्कीदप्की खानुपरेको थियो ।

नगरप्रमुखको निर्देशनमा केहि गुण्डाहरूले उनीहरूलाई गाउँमै पुगेर धम्क्याएको स्थानीयको दाबी छ । त्यतिमात्रै होइन ति स्थानीयहरूलाई गुण्डाहरूले पत्रकारलाई सुनाएको गुनासोको ठिक उल्टो बयान दिन बाध्य पारेका थिए ।

नेकपा माओवादी केन्द्रका नेता तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उनका भाई रामकुमार थापाको शासनमा ‘कानून कुन चराको नाम’ भनेजस्तै छ । स्थानीयले उनीहरूविरुद्ध बोलेको खण्डमा कोही पिटिन्छन् त कोहीले अश्लिल गाली खान्छन् । स्थानीय एक पत्रकारका अनुसार अघिल्लो वर्षको एउटा घटना सुनाउँदा हामीलाई समेत अचम्म लाग्यो ।

घटना स्थानीय पत्रकारको हो, ती पत्रकारले मेयर थापाको विपक्षमा समाचार लेखेकै कारण कुटिनु परेको थियो, त्यो पनि मेयर थापाकै हातबाट । कुटिएको केहीदिनमा समाजका अगुवाको सहयोगमा मेयरलाई कारबाहीको माग गर्दै उजुरी दिइएको थियो । तर उजुरी दिएको अर्को दिन नै ती पत्रकारलाई उजुरी फिर्ता लिन बाध्य पारिएको थियो । कसरी बाध्य पारियो त्यो रहस्य अहिलेसम्म गुपचुप छ । हामीलाई घटनाबारे सुनाउने पत्रकारले पैसाकै लेनदेनमा उजुरी फिर्ता लिन लगाएको आशंका गर्छन् ।

यो घटनापछि स्थानीय पत्रकारहरू मेयर थापा र उनका भाईविरुद्ध समाचार लेख्न डराउने गरेको उनी सुनाउँछन् । उनका अनुसार पत्रकार कुटिएको यो मात्र घटना भने होइन अन्य कतिपय पत्रकारले पनि उनीहरूको कुटाई भेटेका छन् ।

पत्रकार र स्थानीयमात्रै होइन मेयर थापा र उनका भाईको गुण्डाराजमा नेताहरू पनि कुटिने गरेका छन् । एक व्यवसायीका अनुसार गत निर्वाचनमा नेकपा एमालेका नेता रेवती पन्तको परिवारमा समेत मेयर थापाकै अगुवाईमा आक्रमण प्रयास भएको थियो । यो घटनामा प्रहरीले पन्तको परिवारलाई बचाएको समेत बताइन्छ ।

उसो त मेयर थापा र उनका भाई रामकुमारका विरुद्धमा उजुरी नपरेका पनि होइनन्, तर परेका उजुरी पनि गुपचुप हुन्छन्, कतिपय उजुरीको सुनुवाई नै हुँदैनन्, स्थानीय प्रशासन समेत उनीहरूको उजुरीबारे बोल्ने हिम्मत नगरेको स्थानीयको आरोप छ ।

यता मेयर थापाको अनियमितता र अख्तियारमा परेको उजुरीबारे समाचार लेखेकै कारण हिमालपोस्टका सम्पादकलाई समेत मेयर थापाकै निर्देशनमा उनका भाई रामकुमारले ज्यान लिने भन्दै धम्क्याएका थिए । अख्तियारमा परेको उजुरी मिलाउन थापा काठमाडौं पुगेर नेताहरूलाई हारगुहार गरिरहेको सुचनाका आधारमा लेखिएको समाचारपछि मेयर थापाले भाई रामकुमारलाई रातारात काठमाडौँ पठाएर पत्रकारलाई धम्क्याएका थिए । रामकुमारले पोखरीमा डुबाएर मार्ने भन्दै दिएको धम्कीको अडियो नै सार्वजनिक भैसकेको छ ।

त्यतिमात्रै होइन रामकुमारले केही आसेपासेलाई लगाएर फोटो बनाएर सम्पादकको चरित्रहत्या गर्नेगरी सामाजिक सञ्जाल रंग्याएका छन् । समाचार लेखेको भन्दै माओवादी केन्द्र निकट मानिने पत्रकारको संगठन प्रेस सेन्टर सर्लाहीले धम्कीपूर्ण विज्ञप्ति निकालेको छ ।

यी तप्रतिनिधि घटनामात्र हुन्, यस्ता कैयौँ घटना बाहिर आउन बाँकी छन् । हिमालपोस्टमा समाचार आएपछि स्थानीय र नगरपालिकाका कर्मचारीलाई मुख खोले ठिक नहुने भन्दै मेयरले धम्क्याएको समेत खुलेको छ ।

मेयर थापा र उनका भाईलाई नेकपा माओवादी केन्द्रकै केही नेताहरूले संरक्षण गर्दै आएको पाइएको छ । माओवादी केन्द्रकै नेताहरूको आडमा उनीहरूको गुण्डाराज फस्टाएको बताइन्छ । सामान्य परिवारका थापा माओवादीको राजनीति गर्न थालेपछि फलिफाप बनेको विभिन्न घटनाक्रमले पुष्टि गर्छ ।

भर्खरै मात्र माओवादीको वरिष्ठ उपाध्यक्ष बनेका नेता नारायणकाजी श्रेष्ठले समेत उनीहरूलाई संरक्षण गरिरहेको स्रोत बताउँछ । मेयर थापा र उनका भाई स्वयंले पनि आफूहरूले जे गरेपनि नारायणकाजीले बचाउने बताउने गरेको पाइएको छ ।

हिमालपोस्टमा आएको समाचारपछि नारायणकाजीले उनीहरूलाई सम्पर्क गरेर नआत्तिन भन्दै ढाडस दिएको समेत खुलेको छ । कुनैपनि समस्या आएपछि मेयर थापा सर्लाहीबाट सिधै नारायणकाजीलाई भेट्न उनकै निवास हात्तिबन पुग्ने गरेका छन् ।

यस विषयमा थप बुझ्न हिमालपोस्टको टोली सर्लाही पुगिसकेको छ । थप रिपोर्टिङ गर्दै गर्नेछौँ ।

यससँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को