मेरो गाउँ गुल्मीको पिपलधारा ,विगत र वर्तमान… - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेरो गाउँ गुल्मीको पिपलधारा ,विगत र वर्तमान…



-हिम शिखर ।
२०५० साल तिर अर्घाखाँची देखि हाम्रो गाउँमा ट्रयाक्टर आउँदा बेउली जस्तै सजाएर बाजागाजाका साथ स्वागत गरेका थिए गाउँले हरुले । गाविस बासीहरुमा खुशी छाएको थियो त्यसबेला । ती ठुलाबडा भन्दा हामि केटाकेटी बढी खुशी भएका थियौ । किनकि जिन्दगीमा पहिलो पटक गाडी देख्न पाएका थियौ ।

गाडीका पछी पछि दगुर्ने र ट्रलिमा झुन्डिने त हाम्रो दैनिकी बनेको थियो । जाडोको दिन थियो तुसारोले पुरै डाँडो ढाकेको थियो । एका विहानै अर्घाखाँचीको खनदह देखि ट्र्याक्टर कराउँदै पिपलधारा तर्फ आउदै थियो त्यो कराएको सुनेर म ओछ्यानबाट जराक जुरुक्क उठेर भिरै भिर मोटर बाटो तिर कुदें, ओरालो र तुषारोको प्रवाह नगरी दगुरें ।

जनतन गाडीलाई पछ्याउन पाए । म पछि पछि दगुरें गाडी आफ्नै गतिमा कुदिरहेको थियो ट्र्लिमा खलासी दाइ बसेको थियो म झुन्डिएर चड्ने प्रयास गर्थे तर खलासी दाइले झपार्‍यो, चड्नै दिएन । म पछी पछी गन्तव्यसम्म पुगें त्यहाँ हाम्रो आफ्नै किराना पसल थियो । बाबा पसलमा आइसक्नु भएको रहेछ तर त्यति बेला केही भन्नू भएन । “घर जा छोरा जाडो छ” भन्नू भयो ।

बाबाले गाली गर्नु हुन्छ भनेर त्यो रात म ठुलो बाबाको घरमा दाइ सँग सुत्न गए । राती बाबा त्यहिं पुग्नु भयो र गर्नु गाली गर्नु भयो र आइन्दा त्यसो गरे कुट्ने धम्कि दिनु भयो । त्यो रात म सुक्क सुक्क रुदै सुतें । बाबा गलत हुनुन्थेन छोरालाई चिसोले निमोनिया होला, गाडीबाट लड्ला वा किच्ला भनेर त्यसो नगर्न भन्नू भएको होला तर हामीलाई मर्ने सँग के-को सरोकार ! सरोकार थियो त खुशी र रहरको त्यो पनि गाडी देख्नु र चड्ने रहर ।

रहर पनि किन नहोस् आकाशमा चील आकारका हवाइ जहाज देख्नु सिवाए केही देख्न पाएका थिएनौं त्यो समय सम्म । त्यो धुलाम्या सडकमा गाडी चड्नु र हेर्न पाउनुमा के-को गर्व गर्नु पर्थ्यो र त्यहीँ पनि त्यतिबेलाको हाम्रो बालपन त्यसैमा रमाउथ्यो । ५२ साल देखि सुरु भएको ससस्त्र द्वन्द्वका बाछिटाको प्रभाव हाम्रो गाउँमा पनि पर्‍यो ।

राज्य पक्ष र विद्रोही पक्षको दबाव तथा त्रासका कारण धेरै युवाहरूलाई आफ्नो पढाइ छाडेर पलायन हुन बाध्य भए । प्रसाशनिक काम कार्यहरु सदरमुकाम केन्द्रित भएका थिए । विकास निर्माण त अबरुद्ध भएकै थियो, भएका भौतिक संरचना सुरुवाती चरणमा विद्रोहीहरु द्वारा क्षतिग्रस्त पारिए । माओवादीहरुले त्यसैताका गुल्मी अर्घाखाँची सडक खण्ड गाउँलेहरु लगाएर सित्तैमा मोटरबाटो खनाएका थिए ।

ट्याक्टर गुडेको एक दशकपछि गाउँमा बस आउन थाल्यो । वर्खे झरी बाहेक अरु दिनहरुमा निरन्तर बस चलिरहेको छ तर हरेक वर्ष सडक कै लागि बजेट आएपनि राजनीतिक दलहरु र सरोकारवालाहरुको निकम्मापनको कारण अझै त्यो सडकको मुहारमा कालोपोतो लाग्न (स्तरोन्नति) पाएन ।

बिजुली बत्तीको खुशी

एकाइसौं सताब्दीको आगमन सगैं भुमण्डलीकरण पुँजीवादी विश्व र दुनियाँमा भएको विज्ञान, सूचना र प्रविधिको तिब्रतर विकाशको बाछिटाले हाम्रो गाउँ समाजलाई पनि छोयो । बिजुली बत्ती नदेखेका गाउँलेहरुको हातमा मोबाइल फोन पुग्यो । पाठकहरुलाई अचम्म लाग्ला तर कुरो सत्य हो हाम्रो गाउँमा बिजुली भन्दा पहिला मोबाइल फोन पुगेको हो ।

मोबाइल चार्ज गर्न परे सोलार जडान गरेका घरमा जानू पर्थ्यो । देशमा गणतन्त्र आएपछि हाम्रो गाउँमा बिजुलि बत्ती पुग्यो तर आधा गाविसमा मात्र । अहिले पनि एउटा पखेरामा टिपिटिपि बिजुली बल्छ, अर्को पखेरामा धिपी धिपी टुकि बल्छ । तैपनी ढिलै भएपनी विजुली आएकोमा आंशिक खुशी छाएको छ गाउँवासीहरुमा ।

दाउरे युग

२०७२ साल असोज ३ गते देशले नयाँ संविधान पायो तर महा-विनाशकारी भुकम्पले थला परेको देश र पराकम्पनले त्रसित जनता आफन्त गुमाएको पिंडाको घाउ र आँसु सुक्न नपाउदै छिमकि मुलुकले नाकाबन्दीको उपहार दियो ।

दैनिक उपभोग गर्ने समानको अभाव र इन्धन आर्पुती रोकिएपछि शहर बजारमा बस्नेहरुलाई दाउरे युगमा फर्कन बाध्य पार्‍यो । उता हाम्रो गाउँ युगौ युग देखि दाउरे युग कायम नै छ । एकदिन पनि दाउरा भएन भने चुलो जल्न सक्दैन हाम्रो गाँउ घरमा ।

२०५६ साल तिर सरकारले सामुदायिक बनको अवधारणा ल्याएपछि त बनमा जथाभावी दाउरा काट्न पाइदैन त्यसकारण ग्यास भन्दा महँगोमा दाउरा किनेर ल्याउनु पर्छ र मात्र चुलो जल्छ । अझ त्यो दाउराको धुवाँले गाउँवासीहरुको शरीरमा पार्ने असरको कुरै नगरौं ।

खाने पानीको समस्या

होस समाले देखि सुन्दै र पढ्दै आएको हो “विश्वमा नेपाल जलस्रोतमा ब्राजिल पछिको दोस्रो धनी राष्ट्र हो भनेर, अझ चौरासी हजार मेघावाट विजुली उत्पादन गर्न सकिने कुरा पनि लोकप्रिय नै छ । अझै कति पिंडिले यो कुरा सुनेर मात्रै गर्व गर्ने हुन थाहा छैन ।

ठिक ढंगले व्यवस्थापन गर्न र सदुपयोग नसकेर र लाखौं क्युसेक पानी र हजारौं हेक्टर जमिन छिमेकी राष्ट्र भारतले सिंचाइ र अन्य प्रायोजनको लागि उपभोग गर्दै आएको छ । यता मेरो गाउँका बासिन्दा र मेरा परिबारले सदियौं देखि ३०० मिटर तल देखि पानी लिएर खानु पर्ने बाध्यता कायम छ । विहान उठेपछि दुईतीन घण्टा पानी कै लागि खर्चिनु पर्छ । साझ पुनः अर्को दिनको तैयारी ।

खाने पानीको समस्या भयो भनेर वर्षौ देखि संबंधित निकाय र विशेष गरि राजनीतिक दलहरुसँग हारगुहार गर्दै आएका छ्न गाउँवासीहरु तर समस्या समाधान गर्नुको साटो उल्टै राजनीतिकरण गरेर आपसी सद्भाव भड्काउने काम मात्रै भएको छ । स्पष्ट दुरदृष्टि र इच्छाशक्ति हुने र मानविय संवेदनशीलतालाई ध्यान दिने हो भने हरेक काम कार्य सम्भव हुन्छ भन्ने कुरा छिमेकी राष्ट्र चीनलाई हेरे हुन्छ ।

३ डिसेम्बर २०१४ मा छिमेकी मुलुक चिनले करोडौं चिनियाँहरुको पानीको समस्या समाधान गर्न नदिकै पानीलाई डाइभर्ट गरेर १४०० किलोमीटर लामो मानव निर्मित नदि भनाएर जनताको माग र समस्या समाधान गरि विश्वलाई आश्चर्य चकित बनायो । हामी भने जलसम्पदाको धनीको ट्याग भिरेर घिरौला जत्रो नाक बनाएर बसेका छौं ।

स्वास्थ्य र शिक्षा

संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक हक र कर्तव्य भित्र राखेको छ् । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन विभिन्न एनहरु बनेका छ्न । सरकारले शिक्षा क्षेत्रको विकाशको लागि वर्षेनी अर्बौं रुपैया खर्च गरिरहेको छ । शिक्षा लाई गुणस्तरीय बनाउन, शिक्षकलाई अनुशिसित र मर्यादित बनाउन निर्देशिका जारी गरिरहन्छ । तर ती नीति नियम र निर्देशिका कागजमा मात्रै सिमित रह्यो ।

हाम्रो गाविसमा विद्यालय भवन प्रसस्त छ्न शिक्षकहरु प्रयाप्त मात्रामा छ्न । विद्यार्थी शिक्षक र विद्यालयका आवश्यकता पूरा गर्ने व्यवस्थापन समिती छ । त्यसका बाबजुद शिक्षाको गुणस्तर दिनहु गिर्दो छ । ग्रेडिङ सिस्ट्म सुरु हुनु भन्दा अघि प्रवेशिका परीक्षामा उतिर्ण हुनेको अनुपात दुइ प्रतिशतको हाराहारी हुने गर्द्थ्यो ।

अहिले ग्रेडिङ सिस्टमले गर्दा तुलनात्मक रूपमा उतिर्ण संख्या बढेपनि विद्यार्थीको भविष्य उज्ज्वल हुनेमा कुनै ग्यारेन्टी छैन । शिक्षकहरु राजनीतिक पार्टीको कार्याकर्ता बनेका छ्न । शिक्षक नियुक्ति प्रक्रियामा नातावाद र कृपावाद हावि छ । नियमनकारी निकायले विद्यालयमा मुख देखाउदैन । अनि गुणस्तरीय शिक्षाको के आशा गर्ने ?

नेपालमा उत्पादन हुने हरेक डक्टरहरु प्रायः शहर केन्द्रित छ्न । उनिहरु गाउँमा बसेर जनताको सेवा गर्न वा उपचार गर्न अथवा सरकारले पठाएको ग्रामीण भेगमा जान चाहदैनन् किनकि गाउँ छिर्नेहो भने मनग्ये पैसा कमाउन नसक्ने र अर्कोकुरा आफ्नो पढाईमा लागेको खर्च पनि नउठ्ने ठानेर पावर, पैरवी र पैसा खर्चेर भएपनी शहरमा नै बस्ने परिपाटी मिलाउछ्न ।

हाम्रोमा गणतन्त्रको आगमनपछि स्वास्थ्य चौकी भवन र आयुर्वेदिक भवन बनेका छ्न तर द्क्ष जनशक्ति र आवश्यक प्रविधि नभएकाले जटिल रोगको उपचार हुन सकेको छैन । घम्भिर रोग लागेमा सदरमुकाम तम्घास या अन्य शहर जानू पर्ने बाध्यता छ । अझ गाडी नपाउदा र समयमै उपचार हुन नसके अकालमै मृत्युवरण गर्नु पर्छ ।

गाउँ वासीहरुले समय मै उपचार पाउन सकुन, कसैले गाडी नपाएर अकाल मृत्युवरण गर्न नपरोस् भनेर वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी संपर्क समिति विश्व संजाल गुल्मीले केही महिना अगाडि स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो त्यसपश्चात् गाउलेहरुमा केही राहत भएको छ ।

यस् आलेखमा समावेश गरिएका समस्या एक प्रतिनिधि समस्या हो । हाम्रो जस्ता कति गाउँ वस्तीमा हाम्रो भन्दा दयनीय अबस्था छ तर कस्ले गर्ने ती समस्याको समधान ? राजनीतिक भद्रगोल र दलका नेताको चाकडी र चाप्लुसी गर्ने कार्यकर्ता, भ्रष्ट नेता र कर्मचारीतन्त्र, विदेशीको इसारा र आदेशमा चल्ने सरकारबाट के को आश गर्ने ?

तैपनि यो लेख लेख्नुको आसय केवल अहिलेको युवा पुस्तालाई समाजको वास्तविक वस्तुस्थिति बारे बुझाउन र परिवर्तन खोज्ने समाज र विकाश खोज्ने जनताको लागि आफ्नै तवरबाट तत्परता देखाउन सकुन, विश्वले गरेको तरक्कीबाट पाठ सिकेर आफ्नै गाउँ समाजको लागि आफुसँग भएको सीप कला र क्षमताको सहि प्रयोग गरून् भन्नाका लागि हो । दुनियाँले तरक्की गरिरहदा हामी भने दाउरे युग मै सिमित रहने ?