अब जहाजभित्रै मोबाइल चलाउन पाइने, इन्टरनेट कनेक्सन हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब जहाजभित्रै मोबाइल चलाउन पाइने, इन्टरनेट कनेक्सन हुने



काठमाडौं । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािधकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिकरण बोर्डले इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।

प्राधिकरणले यो निर्णय गरेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भारतले यस्तो सेवा सञ्चालनमा ल्याइसकेका छन् । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वीकृति प्रदान गर्न सकिएको थिएन ।

प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो । १० हजार फिटभन्दा माथि उड्ने विमानमा मोबाइल सेवा र इन्टरनेट सेवा सञ्चालनका लागि विमानभित्रै पिको सेल अर्थात् फोरजीको सानो बीटीएस राख्नुपर्नेहुन्छ ।

सो बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भई विमानमा सेवा उपलब्ध हुने गर्छ । बीटीएस स्याटेलाइटमा कनेक्सन भने जुन देशको विमान हो । त्यही देशको दूरसञ्चार सेवा प्रदायकसँग हुने गर्छ ।

यसका लागि प्लेनमा पिको सेल अर्थात सानो प्रकारको बेसस्टेसन राखिएको हुन्छ । प्लेनले अन्य समयमा पनि जमिनमा रहेको टावर र सेक्युरिटी सेन्टरमा आफ्नो बारेमा स्याटेलाइट कनेक्सनमार्फत नियमित जानकारी उपलब्ध गराइरहेका हुन्छन् ।

नेपाली विमान कम्पनीमा बीटीएस राखिसकेपछि विभिन्न दूरसञ्चार प्रदायकसँग कनेक्ट हुने भएकाले नेपाली यात्रु लाभान्वित हुनेछन् । यो व्यवस्थासँगै १० हजार फिटमा उडेपछि मोबाइल अन गर्न सकिनेछ । अहिले विमानभित्र पसेदेखि नै मोबाइल स्विच अफ गराउने गरिन्छ । यद्यपि स्वीकृति लिएका कम्पनीले नेपाली आकाशमाथि अन्य देशका सेवाप्रदायकको नेटवर्कले पनि काम गर्न पाउनेछ ।

अन्तराष्ट्रिय नेटवर्क कम्पनी सीता एयरक्राफ्ट नामक सेवा प्रदायक तथा स्याटेलाइट कम्पनी थालेस र अभान्ती नामक कम्पनीले निवेदन दिएपछि प्राधिकरणले नीतिगत व्यवस्था गरेको हो । यसअघि यो विषयमा अध्ययनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिसहितको एक समिति गठन गरिएको थियो ।

सो समितिले १० हजार फिटमाथि अन्य देशको दूरसञ्चार सेवा उपलब्ध गराउन अनुमति दिँदा नेपालको दूरसञ्चारमा कुनै किसिमको असर नपर्ने निष्कर्ष निकालेपछि नीतिगत निर्णय गरिएको प्रवक्ता पौडेलले बताए ।

विमानभित्र मोबाइल र इन्टरनेट सेवा दिन चाहने कम्पनीले विदेशमा वायु सेवा प्रदान गर्ने अनुमति पाएको हुनुपर्नेछ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणबाट पनि सेवा सञ्चालनको अनुमति लिनुपर्ने राजधानीले लेखेको छ ।