नमुना कोसली घर - एउटा उम्दा प्रयास - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नमुना कोसली घर – एउटा उम्दा प्रयास



– कुमुद अधिकारी

आफन्त, छरछिमेक, माइतीससुराली आदि जाँदा हामी केही कोसेली लिएर जान्छौँ। अस्पताल वा नर्सिङ होममा बिरामी भेट्न जाँदा पनि कोसेली लगिन्छ। कोसेली लिएर जानु एउटा समृद्ध नेपाली परम्परा हो। पहिले पहिले कोसेलीमा प्राय खानेकुरा लिएर जाने गरिन्थ्यो। तर अब समय परिवर्तन हुँदैछ, कोसेलीमा यावत् उपयोगी कुरा समावेश हुँदैछन्। साजसज्जाका सरसामान, हस्तकलाका सामान, खाने कुरा, लत्ताकपडा, गरगहना, पुस्तक आदि कोसेलीमा समावेश हुन थाले। र यिनले कोसेली लाने परम्परालाई अझ समृद्ध बनाइरहेका छन्।

यस्तै सम्पूर्ण नेपाली सरसामानहरूले भरिभराउ एउटा नमुना कोसेली घर नाउँको पसल छ। पेप्सीकोला टाउन प्लानिङमा। फुटबल ग्राउन्डनजिक। कतै कोसेली लान मन लाग्नेले सोझै कोसेली घर गए, नेपालका अर्ग्यानिक कृषिजन्य उत्पादनहरू, नेपालमै बनेका हस्तकलाका सामग्री, विविध विधाका नेपाली पुस्तक, नेपाली उद्योगबाट निर्मित कपडाहरू, घ्यू, मस्यौरा, चियासिड, फर्सीका बियाँ, ग्रिन टि, ब्ल्याक टि, ह्वाइट टि, रोज टि, टिम्मुर, विभिन्न किसिमका अचारहरू, विभिन्न फलफूलका जुसहरू, विभिन्न किसिमका जडीबुटीहरू…… आदित्यादि।

पछि गएर कोसेली घरको अहिले नयाँ विशेषता पनि थपिएको छ – कुल्फी। कोसेली घरको कुल्फीको क्रेज यदि धेरै छ कि कहिलेकाहीँ, दुई बज्दा नबज्दै सकिन्छ। अनि ग्राहक फर्काउने अवस्था हुन्छ। यो कुल्फी पनि उनीहरूको आफ्नै गृह-उत्पादन हो।

नयाँ कोसेली घरका सञ्चालद्वय पतिपत्‍नी मनोज र प्रतिमाको प्रेम पनि उनीहरूको पसलमा पाइने “शुद्धता” जस्तै छ, अर्थात् अर्ग्यानिक छ।  यही अर्ग्यानिक प्रेमले नै त उनीहरूलाई केही अर्ग्यानिक काम गर्ने प्रेरणा दियो। पसल त उनीहरू जेको पनि खोल्न सक्थे। योभन्दा बढी कमाइ हुने अरू थुप्रै र चलेका सामानहरूको विकल्प छँदै थियो। मोमो पसल, रक्सी पसल असाध्यै चल्छन्। “किन त अर्ग्यानिक कोसेली घर नै ?” भन्दा जोडीले एकै स्वरमा दिएको जबाफको सार सङ्क्षेप :

कोसेली लिएर जाने समृद्ध नेपाली परम्परा भएको र त्यसैलाई प्रोत्साहित गर्न आफ्नो पसलको नाम कोसेली घर राख्यौँ। हामीले जानेअनुसार कोसेली यस्तो संस्कार हो जसमा थोरैधेरै वा महङ्गो सस्तोको कुनै मूल्य हुँदैन। यो त प्रेमले लिएर जाने कुरा हो। कोसेली पाउने व्यक्तिले पनि त्यसलाई प्रेमकै एउटा रूप मान्छन्। यही समृद्ध परम्परालाई अलिकति टेवा दिन, अलिकति विविधता थप्न, अलिकति आधुनिकीकरण गर्न कोसेली घर स्थापना गर्ने जमर्को गऱ्यौँ। हाम्रो प्रमुख उद्देश्य मध्येको एक चाहिँ, कोसेलीलाई दुईचार वस्तुहरूमा मात्र सीमित नराखी यसमा विविधता थप्नु हो। जस्तै पुस्तकहरू राम्रा कोसेली हुनसक्छन् भन्ने हामीलाई लाग्यो र हामीले पुस्तक पनि राख्यौँ।

अर्को कुरा कोसेली घर गाउँ र सहरलाई जोड्ने एउटा सानो पुल पनि हो। गाउँमा किसानले उत्पादन गरेका वस्तु सहरका उपभोक्तालाई दिन पाउँदा हामीलाई खुसी लागेको छ। सुदूर गाउँका अर्ग्यानिक उत्पादन यहाँ ल्याएर हामी जस्ताको तस्तै बेच्छौँ। गाउँको घिउ ल्याएर खार्छौँ र बेच्छौँ। अब प्रकृतिले नै मिसावट गऱ्यो भने त के लाग्यो र नत्र हामीले बेच्ने वस्तुमा शुद्धताको ग्यारेन्टी छ।

अनि फेरि सहरका मिसावटयुक्त खानेकुरा खाएर ज्यान सुकाएका सहरवासीलाई थोरै अर्ग्यानिक ख्वाउने रहर पनि हो। पहिले त मानिसहरूले पत्यानन् पनि तर अहिले भने ग्राहकहरूको सङ्ख्या बढेको बढ्यै छ। इलामको घ्यू खोज्दै मान्छे आउँदा कहिले त दिनै भ्याइँदैन।

हाम्रै उत्पादनले पनि व्यापार व्यवसाय चल्न सक्छन् भन्ने उदाहरण पनि पेस गर्न मन लागेको हो। सुरुमा केही निराशा थियो तर अहिले धेरै उत्साही छौँ। महिनाको करिब एक लाख मुनाफा छ।

विभिन्न किसिमका हिंसा, उत्पीडन, बेचबिखन, आदिबाट पीडित चेलीहरूले बनाएका सामानलाई पनि  हामीले एउटा सानो कुनो प्रदान गरेका छौँ – छोरीज ह्यान्डिक्राफ्ट। उनीहरूको कामलाई यो सानो सम्मान हो।

नमुना कोसेली घर पुगेपछि लाग्छ – सोचे र गरे के सम्भव छैन। जे छ गर्नुमा छ। मनोज-प्रतिमाले गरेको यो प्रयासलाई “वाह !” त भन्न सकिन्छ नै। हैन र ?