एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन



मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा हालसम्म गनिएको समानुपातिक मत अनुसार सात दलभन्दा बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना सकिएको छ।

प्रतिनिधिसभा समानुपातिकतर्फका मत गणना अन्तिम चरणमा पुग्दा ७ दल मात्र राष्ट्रिय दल बन्ने देखिएको हो। अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र राष्ट्रिय दल बन्ने पक्का भएको हो।

यसबाहेक अन्य दलले अब थ्रेसहोल्ड कटाउने सम्भावना कम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका एक अधिकारीका अनुसार अब करिव डेढ लाखजति मत गन्न बाँकी छ । शुक्रबार दिउँसो गनिएको मत अनुसार नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय दल बन्न असम्भव देखिएको छ ।

राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) मत ल्याउनुपर्छ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ।

अब खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउन ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ।

हालसम्म एकीकृत समाजवादीले प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ९४ हजार ६३ मत प्राप्त गरेको छ। तर ३ लाख पुग्न पनि उसले अझै लगभग ६ हजार मत प्राप्त गर्नुपर्ने अवस्थामा थ्रेसहोल्ड कटाउन कठिन देखिन्छ।

आयोगको ताजा तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसमम १ करोड ३ लाख ८२ हजार ८५ मत सदर भइसकेको छ।