नेविसंघको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेविसंघको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म



काठमाडौं। नेपाल विद्यार्थी संघको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।

नेविसंघले मंगलबार पत्रकार सम्मेलन गरी १२ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसंघलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताए ।

कार्यतालिकाअनुसार मंसिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने नेविसंघले जनाएको छ ।

तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेविसङ्घले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिए ।

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारीले सशक्त नेविसंघ भए मात्र कांग्रेस बलियो हुने भन्दै काङ्ग्रेस बलियो बनाउनका लागि नेविसंघको महाधिवेशन आवश्यक रहेको उल्लेख गरे । “महाधिवेशन गरे मात्र नेविसंघ सशक्त रुपमा अगाडि बढ्न सक्छ,” उनले भने । व्यवस्थित अधिवेशन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यक रहेको उनको भनाई थियो ।

नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठी सङ्गठनलाई चुस्तदुरुस्त बनाउनका लागि महाधिवेशनले सहयोग पुग्ने बताउनुहुन्छ । यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोके पनि विधान र उमेरहद विवादका कारण नेविसंघको महाधिवेशन हुन सकेको थिएन । -रासस