पुटिन, डी क्याप्रियो, थनवर्ग र ज्याक मा नेपाल आउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुटिन, डी क्याप्रियो, थनवर्ग र ज्याक मा नेपाल आउने



काठमाडौं- सुन्दा अचम्म लाग्न सक्छ नेपालमा पनि यस्ता व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ भनेर तर, यो सत्य हो कि नेपालमा पहिलोपटक आयोजना गरिएको सगरमाथा संवादमा विश्वकै चर्चित व्यक्तिहरूलाई बोलाइएको छ ।

विश्वचर्चित अभियन्ता, अभिनेता, बहुराष्ट्रिय कम्पनीका प्रमुख र सरकार तथा राष्ट्र प्रमुखलाई निम्तो दिएको पनि यो पहिलो कार्यक्रम नै हो ।

विश्वचर्चित वातावरण अभियन्ता ग्रेटा थनवर्ग, हलिवुड अभिनेता लिओनार्डो डिक्याप्रियो, चीनको बहुराष्ट्रिय कम्पनी अली बाबाका मुख्य संस्थापक ज्याक मा लगायत विश्वका प्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रण गरेको छ।

अर्को खास कुरा त के छ भने यो कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेताहरूलाई समेत आमन्त्रण गरिएको छ।

चैतको तेस्रो साता आयोजना हुने अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा सहभागीताका लागि चर्चित किशोरी थनवर्ग, चर्चित टाइटानिक फिल्मका अभिनेता डिक्याप्रियो, र अली बाबाका संस्थापक ज्याक मालाई आमन्त्रण गरिएको सगरमाथा संवाद सचिवालय स्रोतले जनाएको छ।

वातावरण संरक्षणका क्षेत्रमा विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) सँग सहकार्य गर्दै आएका डिक्याप्रियो केही वर्ष पहिले नेपाल आएका थिए भने नेपालमा बाघको संख्या वृद्धि गर्ने कार्यक्रमका लागि सहयोग पनि घोषणा गरेका थिए।

एक महिनाअघि सगरमाथा संवादको सचिवालय उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशदेखि विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुलाई बोलाउने कार्यक्रम रहेको बताएका थिए।

नेपालले पहिलो पटक चैत २० देखि २२ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्दैछ। नेकपाको करिब दुई तिहाई बहुमतका साथ केपी शर्मा ओलीले दोस्रो पटक सरकारको नेतृत्व गरेपछि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफुलाई सक्रिय देखाउन थालेको छ। यही क्रममा सिंगापुरमा हुने सांग्रिला डाइलग र दिल्लीमा हुने राइसिना डाइलग जस्तै नेपालमा सगरमाथा डाइलग आयोजना गर्न सरकार अग्रसर भएको हो। यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व बढ्ने विश्वास सरकारले लिएको छ।

आगामी साता १७ वर्ष पुग्ने ग्रेटा थनवर्ग यस वर्षको नोबेल शान्ति पुरस्कार मनोयनमा समेत परेकी थिइन्। टाइम पत्रिकाले ‘पृथ्वीप्रतिको एउटा ‘अस्पष्ट चिन्तालाई विश्वव्यापी आन्दोलनका रुपमा बदल्न सफल भएको’ भन्दै ग्रेटालाई सन् २०१९ को वर्ष व्यक्तिको उपाधि प्रदान गरेको थियो।

उनी सबैभन्दा कम उमेरमा यो उपाधी पाउने व्यक्ति हुन्। टाइमले थनवर्गलाई युवाशक्तिको प्रतीक मानेको छ। संवादमा सहभागी हुनका लागि सरकारले विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, वरिष्ठ सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, विषय विज्ञ, वैज्ञानिक, उद्योगी, व्यापारी, अभियन्ता, कलाकारहरुलाई आमन्त्रण गरेको सगरमाथा संवाद सचिवालयले जनाएको छ

गत असोज महिनामा न्यूयोर्कमा संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनको प्रभावबारे आयोजना गरेको कार्यक्रममा विश्वका शक्तिशाली नेताहरुप्रति लक्षित गर्दै उनले गरेको भाषण निकै चर्चित बनेको थियो।

नेपालले पहिलो पटक ‘जलवायु परिवर्तन, हिमाल तथा मानवीयताको भविष्य’ शीर्षकमा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आयोजना गर्न लागेको हो। त्यसअन्तर्गत जलवायु परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र शीर्षकमा छुट्टाछुट्टै सत्रहरुको आयोजना गरिएको छ।

विश्व जलवायु परिवर्तनको असर हिमालय ऋृंखलामा प्रष्टै झल्किन थालेको भन्दै पछिल्ला केही वर्षहरुमा भएका अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले त्यसबारे विश्वको ध्यानाकर्षण गर्दै आएको छ।

‘नेपालले एउटा मझौला शक्ति राष्ट्रको रुपमा यो अन्तर्राष्ट्रिय संवाद जुनस्तरमा गर्नुपर्ने हो सो अनुसार गर्नका लागि तयारीका कामहरु अघि बढाएका छौं’ प्रतिष्ठानका उपनिर्देशक रुपक सापकोटाले भने।